बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्नु गलत हो : प्रचण्ड

सोमबार, १३ असार २०७९, ०९ : ०१
सोमबार, १३ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्ने गरी टिप्पणी गर्नु गलत भएको बताएका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद ः चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै प्रचण्डले दलहरूका केही कमी कमजोरी भएपनि ऐतिहासिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

‘अहिले पार्टीहरुले केही गरेनन् भन्नु कुरा गलत हो । पञ्चायती व्यवस्था विरुद्ध वामपन्थी र लोकतन्त्रवादी मिलेर आन्दोलन गर्यौं । एक खालको बहुदलीय व्यवस्थाको स्थापना भयो । शान्ति सम्झौता वरिपरि गरिएका संयुक्त आन्दोलनबाट धेरै परिवर्तन भए । यी सबै परिवर्तन संविधानसभा निर्वाचनपछि संविधानमार्फत स्थापित गर्ने काम भयो,’ प्रचण्डले भने, ‘तर, अहिले दलहरूको ऐतिहासिक महत्व कम हुनेगरी ब्याख्या गर्न थालियो । केही पनि भएन हामी पहिला जहाँ थियौ त्यहीँ छौ जनताले केही पाएका छैनन् । अहिले केही पनि पाएका छैनन् भन्नु जनताले गरेको त्याग, तपस्या र बलिदानको अपमान हो । जनयुद्ध र जनआन्दोलनको अपमान हुन्छ ।’  

संविधान बमोजिम थुप्रै ऐनहरू बनाउन बाँकी भएको बताउँदै प्रचण्डले सबै ऐनहरू निर्माण भएमा जनताले धेरै परिवर्तनको अनुभूति गर्न पाउने बताए । संविधान बमोजिम ऐन बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुपर्ने समेत उनले बताए ।

एमालेप्रति लक्षित गर्दै प्रचण्डले एकथरी शक्तिलाई संघीयता र समावेशी समानुपातिक प्रणाली मन नपरेको बताए । ‘एक थरीलाई संघीयता र समावेशी समानुपातिक मन परेको छैन । त्यो प्रवृत्ति कहीं न कहीं यो संविधानलाई खारेज गर्न पाए वा संघीयता नै खारेज गर्न पाए हुन्थ्यो भन्ने देखिन्छ’ प्रचण्डले भने, ‘ती शक्तिहरूलाई संविधान बमोजिम ऐनहरू निर्माण गर्ने जनतालाई यो परिवर्तनको प्रतिफल दिनेगरी काम गर्ने रुचि छैन । त्यसैको परिणाम गतवर्ष संसद विघटन भोगियो । त्यसैको प्रतिबिम्ब हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप