शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा गाउँ जोगाउन मर्स्याङ्दी नदीमा तटबन्ध गरिँदै

सोमबार, १३ असार २०७९, १७ : ११
सोमबार, १३ असार २०७९

हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मर्स्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य भइरहेको हो । 

नदी कटानको उच्च जोखिममा परेको नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन ग्याबिन जाली सहितको पक्की तारजाली लगाउने काम भइरहेको छ । गतवर्ष बाढीले क्षति पुगेको बस्ती संरक्षणका लागि हिउँदमा सुरु भएर अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि सो काम वर्षा लागेपछि बल्ल सुरु भएको हो । 

वर्षायाम सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौती देखिएको छ । संघीय सरकारमार्फत भौतिक पूर्वाधार मन्त्रालयले यसवर्ष तालगाउँको संरक्षणका लागि मर्स्याङ्दी नदी कटान रोक्न ग्याबिन जाली लगाउन १९ लाख विनियोजन गरेको थियो । 

सोही बजेटबाट अहिले सो काम भइरहेको छ । समयमा नै बजेट उपलब्ध नहुँदा निर्माणको काम ढिलो गरी सुरु भएको निर्माण समितिले जनाएको छ । पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा तालगाउँको बस्ती संरक्षणका लागि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप