शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको अवरोधले फलेवासको नगरसभा बस्न सकेन

सोमबार, १३ असार २०७९, १७ : ०१
सोमबार, १३ असार २०७९

पर्वतको फलेवास नगरपालिकाले नगरसभा अझैसम्म बस्न सकेको छैन । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि नगरको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय ४ दिन घर्किसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण नगरसभा बस्न नसकेको नगरप्रमुख गंगाधर तिवारीले रातोपाटीलाई बताए ।

फलेवास नगरसभामा एमालेको बहुमत छ । नेकपा एमालेका ३५ नगरसभा सदस्य छन् भने, गठबन्धनका २२ जना नगर सभा सदस्य रहेका छन् । पर्वतका सात स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेका छन् ।

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो । नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र  एमालेका प्रतिनिधिबीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो । नगरपालिकाका मेयर गंगाधर तिवारीले कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रमका सबै विषयहरुमा सहितको प्रस्ताव पेश नगरेको आरोप एमालेका प्रतिनिधिले लगाएका छन् भने नेपाली काँग्रेसका प्रतिनिधिले कर छुट दिने र फलेवासमा नगरबस सञ्चालन गर्ने विषयमा एमालेले असहमति जनाएका कारण नगरसभा हुन नसकेको दाबी गरेका छन् ।

गत शुक्रबार भएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बुँदागत रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि एमालेका प्रतिनिधिले लिखित रुपमै सबै नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित गर्न माग गरेका थिए । एमालेका प्रतिनिधिले कार्यपालिका बैठक र सभा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विषयगत समितिको बैठक राख्ने, राजस्वका दरहरूका बारेमा निर्णय गर्नुपर्ने, नगर सभामा पेश गर्ने प्रस्तावहरू नगर कार्यपालिकाले पास गर्नुपर्नेमा मेयरले कार्यपालिका बैठकमा पेश नै नगरेको तथा नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गरी स्विकृत गर्नुपर्नेमा कार्यपालिकामा प्रस्तुत र छलफल नै नभएको आरोप लगाएका छन ।

एमालेको तर्फबाट कार्यपालिकाका सदस्य नेत्रबहादुर बिश्वकर्माले मेयरले ऐन विपरित चोरबाटोबाट नगरसभा सम्पन्न गर्न खोजेका कारण विरोध गर्नुपरेको बताए ।  ‘कार्यपालिकामा नीति तथा कार्यक्रमलाई घनिभूत रुपमा छलफल गर्नुपर्ने र सुझावसहित तयार पार्नुपर्छ ।’ उनले भने,  ‘डायरीमा लेखेर दुई चार बुँदा सुनाउने तर कार्यपालिका सदस्यलाई पढ्न समेत दिइएन।’ फलेवास नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले भने प्रमुख प्रशासकीय अधिकृतले नीति तथा कार्यक्रमका मुख्य बुँदाहरु कार्यपालिकामा प्रस्तुत गरेको बताए । उनले नीति तथा कार्यक्रममा फलेवास नगरपालिकाले नगरबस सञ्चालन गर्ने तथा कोभिडका कारण मर्कामा परेका जनतालाई २५ प्रतिशत कर छुट दिने कुरामा नै असहमति राखेर कार्यपालिकाका सदस्यहरु बाहिर गएको दाबी गरे ।  ‘एमालेबाट निर्वाचित केही कार्यपालिका सदस्यले नगरबस सञ्चालन र कर छुटको कुरालाई असहमति राखेर बाहिर जानुभएको हो।’ उनले भने,  ‘मेयरले सहमतिका लागि आउनुस् भन्दा पनि बहुमतको दम्भ देखाएर हिँड्नुभयो ।’

फलेवासमा मेयर र उपमेयर गठबन्धनले जितेको छ भने कार्यपालिका र नगरसभामा एमालेको बहुमत छ । एमालेको समर्थन बिना कार्यपालिका र नगरसभाले निर्णय गर्न सक्दैन । एमालेका तर्फबाट कार्यपालिका सदस्य बिकले मेयरले कानुन अनुसार अब सहमतिका आधारमा नगरसभा बोलाउनुपर्ने बताए । प्रवक्ता तिवारीले भने बहुमतले जहिले सहमतिका लागि आउँछन् त्यही समयमा नगरसभा हुने जानकारी दिएका छन् । नगरसभाका लागि गठबन्धनले नगरपालिकाका छ वटा समिति मध्ये ४ वटा समितिको संयोजक एमालेलाई दिइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप