म एक कमलरी
पिँजडाकी चरीझैँ
बिल्कुल बाँधिएकी छु म
जहाँ मेरो पीडा
म बाहेक कसैलाई थाहा छैन
सामानझैँ बेचिएकी छु
तर पनि यहाँ मेरो
कुनै मूल्य छैन
उही तिखो बोली
जुन मेरो कानमा आएर
झापड हान्छ
“चाँडै उठ्,
सित्तैमा घिच्न पाउँछेस् ?”
दुइ चार अक्षर पढ्न
मिल्छ भन्ने लालसाले
एउटा आशा बोकेर
पठाउनु भएको थियो बाबाले
मलिकको घर
मैले प्रस्ताव नराखेकी
पनि होईन
बाँडझैँ उत्तर आएको थियो
‘कमैयाको छोरी भएर पनि
पढ्ने सपना देख्छेस् ?
तेरो बाबाको ऋण कसले तिर्छ ?’
म निशब्द भएँ
मनमनै भनें–
हाम्रै सम्पत्ति हड्पेर
हामीलाई गरिब बनाए
सामन्तीहरुले गरिबीको
फाइदा उठाए,
मोर बोली सुन्ने को ?
जसलाई पशु सरह पनि
व्यवहार गरिदैन ।
बस्, अब चल्दैन
तिमीहरुको ज्यादती
आज दिन फेरिएको छ
मेरा पखेटाहरु फर्फराउन
थालेका छन्
म आजाद भएकी छु
बिल्कुल आजाद ।
भत्केपाटी, काठमाडौं