शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवाद आउनबाट धर्तीका कुनै तागतले रोक्न सक्दैन : झलनाथ खनाल

सोमबार, १३ असार २०७९, १३ : ००
सोमबार, १३ असार २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवाद आउनबाट धर्तीका कुनै तागतले रोक्न नसक्ने दावी गरेका छन् ।  सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै समाजवाद नयाँ ढंगले अघि बढीरहेको बताए । 

उनले समाजवाद भनेको मिलिटरी व्यवस्था नभएको भन्दै राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक शैली पनि भएको बताए ।  उनले समाजवाद कुनै सम्भावनाको विषय नभएर अनिवार्यता भएको दावी समेत गरे । ‘समाजवाद आउँछ, आउँछ । जसरी भोली घाम झुल्कनु अनिवार्य छ, त्यसरी समाजवाद आउन जरुरी छ’, खनालले भने, ‘समाजवादलाई कुनै धर्तीका तागतले रोक्न सक्दैन ।’

उनले मिसाइल, एटम बम केहीले पनि रोक्न नसक्ने भन्दै उनले नेपाली समाजमा ५८ वर्षदेखि सामन्तवादका विरुद्ध संघर्ष गरेको बताए । खनालले कम्युनिस्टहरु पहलकदमी नगरी नेपालमा क्रान्ति समेत नभएको बताए । उनले कम्युनिस्ट पार्टीको सरकार बन्दा पनि राष्ट्रिय उद्योगहरु बिस्तार हुन नसकेको भन्दै समाजवादका आधार भनेको आर्थिक, सामाजिक र औधोगिक, शिक्षामा स्वास्थ्यमा रुपान्तरण गर्न जरुरी रहेको बताए ।

उनले पूँजीवादपछि समाजवाद आउने भन्दै अब आउने समाजवाद डिजिटलाइज्ड हुने बताए । तर उनले चुनौती रहेको र त्यसका लागि समाजवादका पक्षधर एक ठाउँमा आउनुपर्ने बताए । ‘समाजवाद भन्ने संविधान च्यात्ने, संसद विघटन गर्ने, अनि सत्ता केन्द्रीकरण गर्ने, राजश्व गुप्तचर आफ्नै मातहतमा ल्याएर राख्ने समाजवादको यात्रा हुन्छ र ?’ खनालको एमालेतिर प्रश्न गरे ।

उनले संविधान विपरित कुनै पनि प्रधानमन्त्रीले खड्गप्रसाद ओलीको बाटो हिँड्न नसक्ने बताए । संसद पुनःस्थापना गरेपनि चल्न नसकेको भन्दै उनले ओली समेत स्थानीय तह निर्वाचनपछि चुपचाप संसद सुचारु भएको र यो वाम लोकतान्त्रिक गठबन्धनको विजय रहेको बताए । ‘यो गठबन्धन कहिलेसम्म जान्छ त ? यो प्रश्न जटिल छ’, खनालले भने, ‘नेपाली काँग्रेस पनि वाम शक्तिसँगै मिलेर जान्छौ भने ठिकै छ । होइन भने जो जो तयार छौ मिलेर जानुपर्छ ।’ उनले समाजवाद युगले मागेको भन्दै आम जनता राष्ट्रको हितको कुरा भएको बताए । 

‘गठबन्धनको सरकार बनेदेखि राष्ट्रियता झन् झन् खतरामा पो पर्यो’, खनालको भनाइ छ । उनले राजदूत नियुक्तिको प्रसंग निकाल्दै प्रधानमन्त्रीले फटाफट तीन पश्चिमा देशको राजदूत नियुक्ति गरेपनि चीनको राजदूत नियुक्ति नगरेको भन्दै कटाक्ष गरे । उनले चीन पहिलो र भारत दोस्रो शक्ति हुने दावी गरे । ‘यी दुईवटा देशसँग सन्तुलन मिलाउन सकेनौ, जानेनौ भने हामी काम लाग्दैनौ’, खनालको भनाइ छ । त्यसका लागि दुवै देशसँगको सम्बन्ध सन्तुलन मिलाउन सक्नुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप