शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘शक्ति राष्ट्रहरुले कम्युनिस्ट-कम्युनिस्ट लडाइरहेका छन्’ मुलुक अझै पूर्णस्वतन्त्र भएको छैन : चित्रबहादुर केसी

सोमबार, १३ असार २०७९, १५ : १२
सोमबार, १३ असार २०७९

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक अझै पूर्णस्वतन्त्र नभएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’विषयक अन्तरक्रियामा अध्यक्ष केसीले मुलुक अझैपनि पूर्णस्वतन्त्र नभएकाले भिखमग्गा भएको टिप्पणी गरे ।

उनले बहुदलीय व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने बताए । जनताका समस्या सम्बोधन हुन समाजवाद आवस्यक रहेको भन्दै उनले रुसमा लेनिन र स्टालिनले समाजवाद प्राप्त गर्न के के गर्नुपरेको थियो रु भनेर प्रश्न गरे । ‘त्यहाँ सजिलै समाजवाद आएको थियो ? चुनावमा भोट बटुलेर रुसमा समाजवाद आएको हो ? चीनमा त्यसरी आएको थियो ?’अध्यक्ष केसीले सत्तारुढ दलका शीर्ष नेताहरुतर्फ हेर्दै भने । उनले रुसी नेता खु्रस्चेवले भनेजस्तै शान्तिपुर्ण ढंगले नै पुँजीपतिहरुको मन पगाल्न सकिने बताए । 

उनले चुनाव महंगो भएको भन्दै सर्वसाधारणले चुनाव लड्न नै नसक्ने अवस्था आएको र नेपाल बुढाबुढीको वृद्धाश्रममा परिणत भएकाले राष्ट्रको विकास हुन नसक्ने बताए । समाजवाद ल्याउन देशमा उद्योगधन्दा खोलेर, भ्रष्टाचार नियन्त्रण गरेर, राजदूत नियुक्त गर्दा घुस नखाने अवस्थाको विकास गर्यो भने बल्ल राम्रो हुने भन्दै राजनीतिक पार्टीहरुले पार्टी नै राम्रोसँग चलाउन नसकेको बताए । ‘राजनीति जव व्यवसाय हुन्छ तवसम्म देश यस्तै हुन्छ’, केसीको भनाइ छ । तर उनले बुर्जुवा गणतन्त्र जोगाउनुको विकल्प नभएको पनि बताए । 

उनले अहिलेको उपलब्धि जोगाउनु महत्वपूर्ण भएको भन्दै पाँच दलभित्र मनमुटाव र समस्या भएपनि संविधान र गणतन्त्र जोगाउनुको विकल्प नभएको बताए । उनले शक्ति राष्ट्रहरुले कम्युनिस्ट कम्युनिस्ट लडाइरहेको भन्दै यसमा सचेत हुनुपर्ने बताए । उनले वर्तमान गठबन्धन आगामी चुनावसम्म जानुपर्ने आवस्यकता रहेको बताए । 

‘कसैलाई मन परेपनि नपरेपनि प्रदेश र संघको चुनावमा एकजुट भएर जानुको विकल्प नै छैन’, अध्यक्ष केसीको भनाइ छ । तर सत्तामा बस्नेहरूले सुधारात्मक काम गर्नुपर्नेमा जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप