ad
x
समाचार

दुःख र पीडालाई शक्तिमा बदल्दै अघि बढेकी अमृता !

‘म जस्तै दुःख र पीडा भोगिरहेका महिलाको पक्षमा आवाज उठाउँछु’

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

आइतबार सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा नेपाली काँग्रेसले निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण र सम्मान दिने कार्यक्रम आयोजना गरेको थियो । पार्टी उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत जिल्लामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पालै–पालो सम्मान–पत्र वितरण गरिरहेका थिए ।


सोही कार्यक्रममा कलिलो उमेरकी एक महिला दुधे बालक काखमा च्यापेर सम्मान–पत्र लिन लाइनमा लागिन् । मलिन मुहार, बायाँ हातमा दुधे बालक लिएकी उनले दायाँ हातले सम्मान–पत्र ग्रहण गरिन् । काखमा बच्चा च्यापेको देखेर नेताहरुले बच्चालाई पनि रातो टीका लगाइदिए । सम्मान–पत्र ग्रहणपछि हँसिलो मुहार लगाएर मञ्चबाट ओर्लिएकी उनी थिइन्– बराहताल गाउँपालिका–७ नयाँवन, बैरीमाझकी ३० वर्षीय अमृता विक ।



उनी गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएकी हुन् । सानै उमेरमा विवाह गरेकी उनले परिवारको तिरस्कार सहन नसकेर माईतीघरमै बस्दै आएकी रहिछन् । आफूले जीवनको एक दशकमा भोग्नुपरेको पीडा र दुःखले नै केही गर्नुपर्छ भनेर पार्टीमा लागेको बताउने उनले ४ सयभन्दा बढी मत ल्याएर निर्वाचित भएको सुनाइन् ।

उनी भन्छिन्, ‘म २०७४ को स्थानीय तहको निर्वाचनमा पनि दलित महिला सदस्यको उम्मेदवार बनेको थिएँ । त्यो बेला म डेढ सय (१५०) मतान्तरले पराजित भएँ । तर पराजितले नै आत्मबल पनि बढाउने रहेछ । जिन्दगीलाई अघि बढाउन हार, दुःख र पीडाले प्रेरणा र आत्मबल जगाउने रहेछ ।’

त्यसैले आफूले फेरि उम्मेदवारी दिएको र अहिले विजयी भएको उनले सुनाइन् । सामान्य परिवारमा जन्मे–हुर्केकी र बिहे गरेको घरमा निकै संघर्षशील जीवन बिताएकी अमृताले ठुलो कार्यक्रमको बीचमा, ठुलो नेताको हातबाट यसरी सम्मानित भइएला, प्रमाण–पत्र पाउँला भनेर कल्पनासमेत गरेकी थिइनन् । ‘मेरा लागि त यो सौभाग्य हो,’ उनले भनिन्, ‘आफू निर्वाचित दलको एउटा ठुलो नेताको हातबाट सम्मान–पत्र पाएँ । मेरा लागि योभन्दा ठुलो कुरा अरु के नै हुन सक्छ र !’

मजस्तै महिलाको पक्षमा आवाज उठाउँछु

कक्षा १० सम्मको अध्ययन गरेकी अमृता अब आफूजस्तै दुःख, पीडा भोगिरहेका दिदीबहिनीहरुको पक्षमा आवाज उठाउने प्रण गर्छिन् । ‘जनताले निर्वाचित गराएपछि जनताको पक्षमा रहेर काम गर्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘स्पष्ट र निष्पक्ष भएर काम गर्ने र आफूजस्तै दुःख, पीडा भोगेका महिलाका समस्याका बारेमा आवाज उठाउने मन छ । राजनीति भनेको समाजसेवा हो ।’

उनले राजनीतिको नाममा कसरी पैसा कमाएर धनी बन्न सकिन्छ भन्ने मानसिकता पछिल्लो समय मानिसमा बढेको बताइन् । उनले भनिन्, ‘जनताको जिम्मेवारी लिएर आफू धनी बन्ने, जनतालाई बिर्सने हो भने त किन राजनीति गर्नु र, हैन र ?’ 

उनै अमृतासँग रातोपाटीले उनको संघर्षमय जीवनका बारेमा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनको धारणाको सम्पादित अंश–

म त सामान्य गाउँको महिला । सानै उमेरमा (२०६५) विवाह गरेँ । भावीको खेल भनुँ वा दैवको लीला, बिहे गरेको घरमा कहिल्यै म खुसीले बाँच्न सकिनँ । मेरो श्रीमानले मसँग भन्दा पहिला अर्कैसँग बिहे गर्नुभएको रहेछ । थाहै भएन । बहुविवाह नै मेरो लागि समस्याको जड बन्यो ।

छोरीको जात । घरमा बुहारी भएर कति संघर्ष गर्नुपर्छ ! अझ म त बहुविवाहमा परेकी थिएँ । घरमा मेरो कुरा कसैले सुन्दैनथे, सबैको तिरस्कारको सिकार हुनुपर्थ्यो । त्यतिकैमा छोरीको जन्म भयो । छोरीलाई पनि फाल्दिए (मारिदिए) हुन्थ्यो भन्थे । आफै भन्नुस् त ! नौ महिना खाई–नखाई कोखमा हुर्काएको बच्चालाई फालिदिनुपर्छ भन्दा एउटी अवोध आमालाई कस्तो भयो होला ? त्यसपछि पढाई पनि रोकियो । परिवारबाट धेरै टर्चर हुन्थ्यो ।

मानसिक तनावले पढाईमात्र होइन, दैनिकी कटाउन पनि निकै गाह्रो भइरहेको थियो । यसरी बाँचेर पनि मर्नुभन्दा माईतीमै गएर बस्छु, केही गर्छु, छोरीलाई राम्रो शिक्षादीक्षा दिन्छु भन्ने अठोट बोकर माईतीमै बस्न थालेँ ।

अहिले पहिलो छोरी १२ वर्षकी भइन् । बुबाआमाले पनि साथ दिनुभयो । म विभिन्न काम गर्दै गएँ । उसो त म विद्यार्थीकालदेखि नै विभिन्न गतिविधिमा सक्रिय हुने गर्दथेँ । गाउँमा सिंहदरबारहरु आए । पहिलो पटक हुने स्थानीय तहको निर्वाचनमा आफूलाई अग्रसर बनाएँ । म विद्यार्थीकालदेखि नै काँग्रेसप्रति आस्था राख्ने भएकाले मलाई पार्टीले अवसर दिएर उम्मेदवार बनायो । तर पराजित भएँ । मैले आफू पराजित हुनुलाई एउटा पाठ सम्झिएर पार्टीमा सक्रिय भएर लागेँ र पुनः पार्टीले उम्मेदवार बनाएको हो ।

आज म निकै हर्षित छु । मैले घर परिवारबाट पाएको दुःख, पीडालाई शक्तिमा बदल्ने कोसिस गरेँ । उनीहरुको सामु केही गरेर देखाउनुपर्छ भन्ने सोचेँ । त्यसैले नै मलाई यो यात्रासम्म ल्याउन मद्दत ग¥यो । मलाई अहिले कुनै पछुतो छैन ।

अहिले मेरो श्रीमान् पनि मसँगै आएर बस्न थाल्नुभएको छ । दुई वर्षदेखि हामी सँगै बस्दै आएका छौं । अहिले एक वर्षकी अर्की छोरी पनि छे । श्रीमानले बाख्रा पालन व्यवसाय गर्नुभएको छ । त्यसबाट घर खर्च चलाउन सहज भएको छ । १२ वर्षमा त खोला पनि फर्किन्छ भन्थे, हो रहेछ ! बिहे गरेको ठिक १२ वर्षपछि मेरो जिन्दगीमा नयाँ रङ थपिएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।