ad
x

चुरोट छोड्न किन असाध्यै गाह्रो हुन्छ ?

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै चुरोट पिउन थालिन् ।


आमाले असाध्यै कडा भएर चुरोट नखाउ भनेर गाली गरेको रोज सम्झिन्थिन् । तर लत लागिसकेको थियो, छोड्न गाह्रो थियो । उनले बुबाको चुरोट चोर्थिन्,  विद्यालयमा खाजाको लागि पाएको पैसा यसैमा खर्च गर्ने गर्थिन् ।



त्यसपछिका ४५ वर्षसम्म उनले हरेक दिन करिब दुई प्याकेट चुरोट खाइन् । त्यसपछि एक दिन उनको खुट्टामा समस्या देखियो । यो धुम्रपानसँग सम्बन्धित समस्या भएको र धुम्रपान नछोडे खुट्टाुसमेत काट्नुपर्ने चेतावनी डाक्टरले उनलाई दिए ।

उनले चुरोट छोडिन्  तर डाक्टरहरुले उनलाई फोक्सोको क्यान्सरसमेत भइसकेको थाहा पाए । उनले केमोथेरापी लिनुपर्ने भयो । त्यसपछि शल्यक्रिया भयो । त्यसपछि उनको मस्तिष्कमा दुईवटा ट्युमर पनि भेटियो ।

धेरै मानिसहरू आफूलाई क्यान्सर हुनै नसक्ने सोच्छन्  । क्यान्सरसँग लडिरहेकी रोजले मानिसहरुले आफूलाई हेरुन् भन्ने सल्लाह दिन्थिन् ।

त्यसपछि एक दिन रोजको मृत्यु भयो । त्यतिबेला उनी ६० वर्षकी थिइन् ।

धुम्रपान गर्नेहरूले पनि यस्ता धेरै डरलाग्दा कहानीहरु सुन्छन् । उनीहरू धुम्रपानका सबै खतराबारे पनि जानकार छन् । धुम्रपान रोक्नका लागि सरकार र संस्थाहरूले सचेतना अभियान पनि चलाउँछन् तर त्यसका बाबजुद विश्वभर करिब एक अर्ब मानिस धुम्रपान गर्छन् ।

धुम्रपानका कारण हरेक वर्ष करिब ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०३० सम्ममा धुम्रपानका कारण वार्षिक ८० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । अझै पनि मानिसहरू धुम्रपान छोड्न सकिरहेका छैनन् ।

तर किन ? आखिर किन मानिसहरू चुरोट छोड्न सक्दैनन् भन्ने प्रश्नको जवाफ पाउन बीबीसीले चारजना विज्ञहरूसँग कुराकानी गरेको छ ।

धुम्रपानको लत

स्वास्थ्य मनोवैज्ञानिक प्रोफेसर रोबर्ट वेस्ट भन्छन्, ‘म धुम्रपानको कडा विरोधी थिएँ, तर एक दिन मैले पनि धुम्रपान गर्न थालेँ ।’

प्रोफेसर रोबर्टले  ‘द स्मोक फ्री फर्मुला’ नामक पुस्तक लेखेका छन् । उनी भन्छन्, ‘मैले आफ्नी एक प्रेमिकाको आग्रहमा चुरोट छोडेँ ।’

प्रेमिकासँगको सम्बन्ध ३० वर्षपछि टुट्यो तर मानिसले आखिर किन धुम्रपान गर्छन् भन्ने उनको उत्सुकताको जवाफ खोज्न भने उनले जारी राखे ।

उनका अनुसार यसको जवाफ सुर्तीको पातमा पाइने निकोटिनमा हुन्छ । यो रसायन चुरोट सल्काउने बित्तिकै बाहिर निस्कन्छ ।

प्रोफेसर रोबर्ट भन्छन्, ‘जब तपाईले चुरोटको धुवाँलाई भित्र तान्नुहुन्छ तब निकोटिन फोक्सोको छेउमा छिट्टै अवशोषित हुन्छ र केहि सेकेन्डमा यो सीधै मस्तिष्कमा पुग्छ । त्यहाँ यसले स्नायु कोशिकाहरूसँग अन्तरक्रिया गर्दछ । यसको प्रभावले डोपामाइन नामको रसाइन बाहिर निस्कन्छ ।’

र यसले दिमागलाई यो संकेत दिन्छ कि केही राम्रो गरेका कारण तपाईंले ‘इनाम’ पाउँदै हुनुहुन्छ । रोबर्ट थप्छन्, ‘तपाईंलाई यसबारे थाहा नहोला तर दिमागले तपाईंलाई यस्तो काम पुनः गर्नका लागि प्रेरित गरिरहेको हुन्छ ।’

उनी भन्छन्, ‘यसलाई यसरी पनि बुझ्न सकिन्छ । तपाईंले पहिलो पटक जुन ठाउँमा चुरोट सल्काउनुभएको छ, उदाहरणका लागि अफिस बाहिर, चिया पसलमा वा कुनै बारमा । यदि तपाईं त्यहाँ पुनः जानुहुन्छ भने दिमागलाई लाग्छ कि उसले त्यहि ‘खास कुरा’ पाउँदैछ ।’

रोबर्टका अनुसार ती परिस्थितिहरू र धुम्रपानको आवश्यकता बीच एउटा सम्बन्ध जस्तै निर्माण हुन्छ र यसले तपाईंलाई तानिरहन्छ ।

निकोटिनको लतको पकड कति बलियो छ भनेर रोबर्ट जान्न चाहन्थे ।

उनले एउटा यस्तो समूहमाथि अध्ययन गरे जसलाई अत्यधिक धुम्रपानका कारण घाँटीको क्यान्सर भएको थियो । ती सबैको घाँटीको नली काटेर निकाल्नुपरेको थियो ।

रोबर्ट भन्छन्, ‘घाँटीको नलीमा जुन प्वाल पारिएका थिए, उनीहरुले त्यसमार्फत् नै सास फेर्छन् । शल्यक्रियापछि  तीमध्ये धेरैजना धुम्रपान गर्न चाहन्थे । अब उनीहरुले धुँवा भित्र लैजान पाउँदैनथे किनभने अब उनीहरुके मुख फोक्सोसँग जोडिएको छैन । यस्तोमा धेरै मानिसहरु घाँटीमा बनाइएका प्वालमार्फत् नै धुम्रपान गर्छन् । यो स्थिति खासै सुखद हुँदैन । उनीहरुलाई यसमा धेरै समस्या हुन्छ तर यसबाट के थाहा हुन्छ भने धुम्रपान गर्ने व्यक्तिहरु निकोटिनको तलतल मेटाउन कत्ति लालायित हुन्छन् ।’

रोबर्ट वेस्टका अनुसार चुरोटमा पाइने निकोटिनको लत धेरै हदसम्म हेरोइन, कोकिन वा अफिसमजस्ता कुनै अन्य ड्रग्सको लतजस्तै हुन्छ ।

उनी भन्छन्, ‘दिमागको जुन हिस्सालाई ‘एनिमल पार्ट’ भनिन्छ, त्यसैमार्फत् निकोटिनको लतमाथि नियन्त्रण पाउन सकिन्छ । चुरोटको तलमाथि नियन्त्रण पाउनु कुनै युद्ध जितेसरह हुन्छ ।’

यसबारे उनी थप जानकारी दिँदै भन्छन्, ‘ड्रग्सले एनिमल ब्रेनलाई उक्साउँछ र दिमागको यो हिस्साले ‘तलतल मेटाउ’ भनेर निर्देशन दिन्छ । दिमागको अर्को हिस्साले ‘यो मूर्खता हो, म यस्तो किन गरिरहेको छु’ भन्ने गर्छ । लतको जंजालमा परेका व्यक्ति हरेक दिन यो संघर्षसँग जुध्ने गर्छन् ।’

उनका अनुसार अमेरिकाका पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दशकौंसम्म धुम्रपान गरेका थिए । पछि उनले ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ लिए ।

यो लतको ‘तपाई कत्तिको बुद्धिमान हुनुहुन्छ भन्ने कुरासँग कुनै सरोकार छैन । तपाईको दिमागले निकोटिनलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने मात्र महत्त्वपूर्ण कुरा हो ।’

रोबर्ट भन्छन्, ‘तपाईं आनुवंशिक रूपमा पनि यो लतको चपेटामा पर्न  सक्ने सम्भावना छ । तपाईंलाई बनाउने जीनले नै निकोटिनको लत निम्त्याउन सक्छ । तर सधैँ यस्तो हुनुपर्छ भन्ने जुरुरी छैन ।’

बजार युद्ध

बायोकेमिस्ट डा। जेफ्री विगेन्ड भन्छन्, ‘मैले जे देखेँ, त्यो अनैतिक, गैरकानूनी र नियमविपरीत थियो । म यो कुरा उनीहरूको मार्केटिङ र उत्पादन बारे मानिसहरूमाझ गरिएको अनुसन्धान बारे भन्दैछु ।’

डा. जेफ्री वेगान्ड सन् १९९४ मा ‘व्हिसल ब्लोअर’ को रूपमा बाहिर आए । उनले ठूला सुर्तीजन्य कम्पनीहरुको झुटको पर्दाफास गरे । हलिउडले यो कहानीमा एउटा फिल्म पनि बनाए, जसको नाम हो ‘इनसाइडर’ ।

डा. जेफरीको कहानीको सुरुवात सन् १९८८ मा अमेरिकी राज्य केन्टकीको लुइविलबाट भयो । जेफरीलाई ब्राउन एन्ड विलियम्सन सुर्ती कम्पनीमा लाखौँ डलरको तलबका साथै शीर्ष कार्यकारीको पद दिइयो ।

उनी बायोकेमिस्ट थिए र स्वास्थ्यको क्षेत्रमा काम गरेका थिए ।  उनले धुम्रपानको खतराको विषयमा कम्पनीको धारणा भ्रामक लाग्यो र यसबारे उनले प्रश्न सोध्न थाले ।

जेफ्री भन्छन् ‘कम्पनी भित्र स्पष्ट समझ थियो कि तिनीहरूको ‘उत्पादन’ ले प्रयोगकर्ताहरू र वरपरका मानिसहरूलाई मार्न सक्छ । यसले लत पनि लाग्न सक्छ । तर कम्पनीले बाहिरी संसारलाई अर्कै कथा सुनाइरहेको थियो ।’

डा। जेफ्री भन्छन्, ‘कम्पनीले बाहिरी संसारलाई यस्तो भन्थ्यो, ‘यो उत्पादन सुरक्षित छ । यसले कुनै हानी गर्दैन र यदि तपाईंले यसको प्रयोग गर्नुहुन्छ भने तपाईंले आफ्नो स्वतन्त्र धारणामा यस्तो गर्नुहुन्छ ।’

पाँच वर्षसम्म, जेफ्रीले प्रश्नहरू सोधिरहे र यसबारे रहस्य खोल्दै थिए । त्यसपछि एक दिन उनलाई बर्खास्त गरियो र चुप लाग्न निर्देशन दिइयो ।

एक वर्ष पछि, अर्थात् १९९४ मा, जेफ्रीका पूर्व मालिक लगायत विश्वका सात ठूला टोबाको कम्पनीका सीईओहरूले सत्य बोल्ने वाचा गरे र अमेरिकी कांग्रेसको अगाडि झूट बोले । र त्यो खेल(परिवर्तन गर्ने खालको साबित भयो । जेफ्रीले विश्वलाई वास्तविकताबारे अवगत गराउने  निर्णय गरे ।

उनी भन्छन्, ‘मलाई ह्विसल ब्लोअर भनियो । त्यसपछि सबै समस्या सुरु भयो । मेलमार्फत् दुईपटक मेरा बच्चाहरुलाई मार्ने धम्की दिइयो । मेरो घर बाहिर मिडियाको जमघट लाग्न सुरु भयो । दुई हतियारधारी पूर्व सिक्रेट एजेन्ट २४ सै घण्टा हाम्रो सुरक्षामा तैनाथ रहे ।’

यो कहिल्यै प्रमाणित भएन, तर जेफ्रीले आफूलाई धम्की दिनेमा ‘ब्राउन र विलियमसन’ जिम्मेवार रहेको बताउने गर्छन् । तर, त्यसपछि ठूला सूर्तिजन्य कम्पनीहरूले निकोटिनको लत लाग्ने र यसले मानव शरीरलाई हानि पु¥याउने कुरालाई नकार्न सकेनन् ।

यसपछि केही देशहरूले मानिसहरूलाई धुम्रपानबाट टाढा राख्नका लागि दूरगामी उपायहरू अपनाए । जसमा चुरोटको प्याकेटको प्याकेजिङमा परिवर्तन, सार्वजनिक स्थान र कार्यस्थलमा धुम्रपानमा प्रतिबन्ध लगाउने र कर लगाएर मूल्यमा धेरै गुणा वृद्धि गर्ने समावेश छ ।

जेफ्रीले अमेरिका र युरोपका देशहरूमा नियम परिवर्तन भएपछि सुर्तिजन्य कम्पनीहरूले आफ्नो ध्यान अन्य देशहरूमा केन्द्रीत गरेको दाबी गरे ।

जेफ्री भन्छन्, ‘सुर्तीजन्य कम्पनीहरूले नाफा कायम राख्नको लागि विकल्प खोज्नुपर्ने थियो । त्यसैले तिनीहरूले पुरानो तरिका खोज्न थाले । तिनीहरू विकासशील देशहरू वा नियम कडा नभएका देशहरूमा फर्के, जहाँ मानिसहरू तुलनात्मक रूपमा कम शिक्षित थिए र गरीब थिए । त्यसपछि त्यहाँ सुर्तीजन्य पदार्थको मार्केटिङ सुरु गरे ।’

जेफ्री भन्छन्, ‘सुर्तीजन्य उद्योगसँग सम्बद्ध कम्पनीहरूले आफ्ना उत्पादनहरू बेचेर जति पैसा कमाउँछन्, त्यसले उनीहरु त्यसैको उत्पादनको मार्केटिङ गर्छन्, यी उत्पादनहरुले मानिसको ज्यान नै लिन सक्छन् भन्ने थाहा पाउँदा पनि उनीहरु यसो गर्छन् ।’

तर, सुर्तीजन्य कम्पनीहरूले कसैलाई पनि धुम्रपान गर्न बाध्य नगर्ने तर्क गर्छन् । सायद यो सही पनि हो । यस्तो अवस्थामा मानिसहरु किन धुम्रपान गर्न थाल्छन् भन्ने प्रश्नको जवाफ अर्को विज्ञबाट थाहा हुन्छ ।

अनौठो नशा

स्वास्थ्य मनोवैज्ञानिक डा इल्डिको टोम्बोर भन्छिन्, ‘मेरी आमाले धेरै धुम्रपान गर्नुहुन्थ्यो। म सानो छँदा म चुरोटको धुवाँले घेरिएको हुन्थेँ ।’

डाक्टर इल्डिकोका अनुसार उनकी आमा गर्भवती भएपछि चुरोट छोड्ने गरेको तर बच्चालाई दुध खुवाउन छोडेपछि पुनः धुम्रपान गर्ने गर्थिन् ।

इल्डिकोले आफ्नी आमामाथि पहिलो केस स्टडी गरिन् । उनले आफ्नो अध्ययनमा के पत्ता लगाइन् भने मानिसहरुको आफ्नो बारे जुन धारणा हुन्छ, त्यसले उनीहरुको व्यवहारलाई प्रभावित गर्ने गर्दथ्यो ।

उनी भन्छिन्, ‘पहिचानको प्रेरक शक्ति शक्तिशाली हुन्छ । यसले व्यवहार निर्धारण गर्छ । थुप्रै प्रकारको व्यवहार, चाहे धुम्रपान होस्, रक्सी पिउनु होस्, व्यायाम गर्नु होस् वा कुनै विशेष ब्रान्डको सामान वा उपकरणको खोजी गर्नु होस् ।’

यो आफ्नो पहिचान बचाउने जस्तै हो । त्यो पहिचान जुन विशेष समूह वा जातिसँग सम्बन्धित होस् वा सबैलाई यसबारे जानकारी छ भनी सुनिश्चित गरिरहनुभएको छ ।

डा। इल्डिको भन्छिन्, ‘कहिलेकाहीँ पहिचान स्पष्ट रूपमा देखिन्छ । जब तपार्इं विश्वविद्यालयको पोशाक वा तपार्इंको मनपर्ने फुटबल क्लबको जर्सी लगाउनुहुन्छ, यसको मतलब तपार्इं त्यो विशेष सामाजिक समूहको हिस्सा हुनुहुन्छ । कहिलेकाहीँ यो तपार्इंका लागि धेरै महत्त्वपूर्ण हुने गर्छ ।’

समूह जति विशेष हुन्छ, त्यसमा प्रवेश गर्ने इच्छा त्यति नै बढी हुन्छ । विशेष हुनुको पहिचान जोगाउन नयाँ कलाकारले आफ्नो प्रतिबद्धता देखाउने काम गर्नुपर्छ ।

डाक्टर इल्डिकोका अनुसार अधिकांश धुम्रपान गर्नेहरूले २६ वर्षको उमेर नपुग्दै धुम्रपान गर्न थाल्छन् । किशोरको लागि ‘कूल समूह’ मा स्थान बनाउनु निकै महत्वपूर्ण हुन्छ ।

डाक्टर इल्डिको भन्छिन्, ‘धुम्रपान एक ‘सामाजिक राहदानी’ जस्तै हो ।’ उनले आफ्नो अनुसन्धानबाट के पत्ता लगाइन् भने जो व्यक्ति धुम्रपानलाई राम्रो दृष्टिकोणले हेर्छन्, उनीहरुलाई यसको फाइदा सामाजिक रुपमा र करियरमा सफलता मिल्छ भन्ने लाग्छ । यस्तामा मानिसहरुले यसलाई छोड्न सक्दैनन् ।

उनी बताउँछिन्, ‘हामीले धुम्रपान गर्नेहरूलाई सोध्यौँ ‘तपाईंलाई धुम्रपान गर्ने व्यक्तिको रुपमा आफ्नो पहिचान मनपर्छ कि पर्दैन ?’ १८ प्रतिशतले आफूलाई यो पहिचान मनपर्ने बताए । यस्ता मानिसहरुलाई ६ महिनापछि पुनः सम्पर्क गरियो तब तीमध्ये कमैले यतिबेला चुरोट छोड्ने कोसिस गरेका थिए । यसमार्फत् के थाहा हुन्छ भने जो यो छविलाई राम्रो मान्छन्, उनीहरुका लागि यो सोच चुरोट छोड्ने बाटोमा ठूलो अवरोध जस्तै हो ।’

धुम्रपान गर्नुका बेफाइदाहरु छन् भन्ने धेरैलाई थाहा छ, यसको तपार्ईंको ज्यान पनि लिन सक्छ । तर सबैले जोखिमलाई एउटै तरिकाले हेर्दैनन् ।

जीवन खतरामा

अनुसन्धानकर्ता कार्ल लाजाभ भन्छन्, ‘म जागिरदार  परिवारबाट आएको हुँ । म १४ वर्षको हुँदा मेरो बुबाको मृत्यु भयो । परिवारको जिम्मेवारी मेरी आमामाथि आयो । हामी न्यू जर्सीको एउटा साधारण सहरमा बस्थ्यौं ।’

कार्ल लाजाभले धुम्रपानको लतमा परेका मानिसहरूको अध्ययन गरेका छन् । उनी र उनको टोलीले धुम्रपान गर्ने यस्ता मानिसहरुमा रुची राख्थे जसलाई नतिजा थाहा हुँदा पनि आफ्नो स्वास्थ्यलाई जोखिममा पार्न तयार थिए ।

कार्ल लेजवे बताउँछन्, ‘हामीले एउटा खेल बनायौं । यो कम्प्युटरद्वारा निर्मित बेलुनमा आधारित थियो । यसमा बेलुन फुलाउँदा पैसा दिइन्थ्यो । तपाईं जति ठूलो बेलुन बनाउनुहुन्थ्यो, त्यति नै धेरै पैसा जित्न सक्नुहुन्थ्यो । तर एक स्थानमा आएपछि यो बेलुन फुट्न सक्थ्यो ।’

कार्लको टोलीले पत्ता लगायो कि धुम्रपान नगर्नेहरूले भन्दा धुम्रपान गर्नेहरूले बेलुन धेरै फुलाउँथे । कार्ल भन्छन् कि यो प्रयोगले धुम्रपान गर्नेहरूले जोखिम लिन्छन् भनेर मात्र प्रमाणित मात्रै गरेन, उनीहरू कति हदसम्म जान सक्छन् भनेर पनि देखाउँछ ।

कार्लले यसलाई बन्जी जम्पिङसँग तुलना गर्छन् । जब तपाईं कुनै पुलबाट हाम फाल्नुहुन्छ तब तपाईंलाई भुइँमा बजारिनबाट रोक्ने भनेको जिउमा बाँधिएको एउटा रबर हो । यदि यो टुट्यो भने खेल खत्तम ।

धुम्रपानको सन्दर्भमा यसले पछि गएर तपाईंलाई यस्तो रोग पनि लाग्न सक्छ जसले ज्यानसमेत लिन सक्छ भन्ने आशंका रहन्छ तर यस्तो नहुन पनि सक्छ ।

धुम्रपान गर्नेहरूले आफ्ना भावनाहरूलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुरा बुझ्नु पनि महत्त्वपूर्ण रहेको उनी बताउँछन् । विशेष गरी तनावको समयमा ।

कार्ल भन्छिन्, ‘मेरी आमाको कथालाई फर्केर हेर्ने हो भने उनले आफ्नो परिवारलाई मद्दत गर्न हाई स्कूलको पढाई छोडिन् । उनको जीवनभरी काँधमा जिम्मेवारीको बोझ थियो । मैले उनको धुम्रपान लत बारेमा के याद गरेँ भने यो उनको लागि ब्रेक जस्तै थियो । त्यतिबेला उनको जीवनमा जे भइरहेको हुन्थ्यो, चुरोट पिउने बेला उनले लगभग बिर्सिएकी हुन्थिन् । 

दुई छाकको खानाका लागि संघर्ष गर्नु पर्ने आफ्नी आमाजस्ता मानिसहरूले दिनहुँ धेरै चुनौतीहरूको सामना गरिरहेको कार्ल बताउँछन् । उनका अनुसार यस्ता मानिसहरुलाई कमजोर इच्छाशक्ति भएका व्यक्तिको संज्ञा दिनु ठिक होइन । कार्ल भन्छन् कि त्यस्ता व्यक्तिहरूको अवस्था ती मानिसहरूले अनुमान गर्न सक्दैनन् जो समान आर्थिक समस्याहरूको सामना गरिरहेका छैनन् ।

तर धुम्रपानबाट पाइने खुसी वा आनन्दले जोखिमको बोझलाई हरेक पटक केही थप बढाउने गर्छ । कार्लकी आमालाई अब यसको महसुस भइसकेको छ ।

कार्ल भन्छन्, ‘करिब तीन वर्ष अघि मेरी आमालाई फोक्सोको क्यान्सर भएको जानकारी पायौँ । उनी निको भइन् । त्यसपछि उहाँलाई ब्रेन क्यान्सर भयो । यो एउटा यस्तो पीडा हो जसलाई म नीजि रुपमा महसुस गर्न सक्छु ।’

अन्तिममा आखिर मानिस चुरोट किन छोड्दैनन् भन्ने प्रश्नमा फर्किऔँ ।

हाम्रा विज्ञहरूको धारणा के छ भने  केही व्यक्तिहरूको लागि यो जीवनको तनावसँग सामना गर्ने तरिका हो । केही व्यक्तिहरूको लागि, यो उनीहरूको पहिचान प्रकट गर्ने तरिका हो । हामीले यो पनि बुझ्यौं कि केहि मानिसहरू आनुवंशिक रूपमा निकोटिन लतको लागि पूर्वनिर्धारित छन् । र ती थुप्रै मानिस सुर्तीजन्य कम्पनीको निशानामा पनि पर्ने गर्छन् ।

र सबैभन्दा महत्वपूर्ण कारण यो हो कि धुम्रपान गर्नेहरुलाई निकोटिनको लत लाग्ने गर्छ र यो लतको दलदल हेरोइनभन्दा पनि गहिरो हुने गर्छ ।

बीबीसी

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।