शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानको ‘दि हिमालयन’ लोकार्पण

सोमबार, १३ असार २०७९, ११ : ५५
सोमबार, १३ असार २०७९

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटलमा जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि व्याकुल माइला, सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, सर्जककी आमा पद्ममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, उपप्राध्यापक अनुपमा रेग्मीले संयुक्त रूपमा आइतबार सो कृति लोकार्पण गरेका हुन् । 
पुस्तकमाथि प्रकाश पार्दै प्रमुख अतिथि व्याकुल माइलाले पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ, समाज र सम्पूर्ण श्रीसम्पत्ति छोडेर अन्धकार भविष्यको पछि लाग्नुको पीडालाई स्रष्टा प्रधानले कृतिमा उतारेको बताए । 

यस्तै स्वागत मान्तव्य राख्दै जितेन्द्र श्रेष्ठले पुस्तकमा शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको सङ्घर्षलाई कलात्मक ढङ्गबाट पुस्तकमार्फत पाठकमाझ पस्किएको बताए । उनले भने, “उहाँहरूले स्रष्टा प्रधानलाई नेपालीमा कृति अनुवाद गरेर नेपाली पाठकमाझ ल्याएउनुभएको छ । त्यसका लागि बधाई तथा शुभकामना ।” 

कृतिबारे बोल्दै स्रष्टा प्रधानले आफ्नो पुस्तक शरणर्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामग्रीको रूपमा सुरक्षित रहेको बताए । उनले भने, “हामी भुटानमा जन्मिए पनि रगतमा नेपालीपन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो ।” हाल अमेरिकी नागरिक भए पनि आमाको विशेष चाहना भएकाले पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी पाठकमाझ ल्याएको उनले बताए । पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरिएको र कोरोना सङ्क्रमणको बेला क्यारेन्टाइनको समयलाई सदुपयोग गरेर अङ्ग्रेजी भाषामा पुस्तक तयार भएको उनले बताए । अनलाइन अध्ययन गर्न चाहनेका लागि सो कृति अमेजनमार्फत खरिद गर्न सकिने उनले बताए । 

पुस्तकमा ‘बुबासँगको बाल्यकाल’, ‘बुबाबिनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्यान्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरूलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा राखिएका छन् । 

सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको सो समारोहमा साहित्यिक व्यक्तित्व, गीत सङ्गीतका स्रष्टा, चलचित्रकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । कार्यक्रमको संयोजकमा रोशन श्रेष्ठ र दीपेन श्रेष्ठले गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप