ad
x

कश्यपको कथा :  किसानको किस्मत

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

धेरै पहिलेको कुरा हो । एक जना किसानको तीन भाइ छोरा थिए । किसान मिहिनेती थिए कडा श्रम गर्थे, फसल उमार्थे तर छोराहरू भने साह्रै अल्छी स्वभावकाथे । कहिले लठैतहरू जम्मा गरी गफ चुटेर दिन बिताउँथे कहिले चौतारमा दिनभर बाघचाल खेलेर साँझ घर फर्कन्थे । विचरा किसान दिनभर खेतमा काम गर्थे साँझ जो भएको बनाई तुल्याई गरी खान्थे, खुवाउँथे । यद्यपि उनले छोराहरूलाई सम्झाउने प्रयास नगरेका होइनन् । लोभ पनि देखाए डर पनि देखाए तर केही लागेन ।


उनी आफ्नो बुढ्यौलीको समेत वास्ता नगरी छोराहरूको चिन्ता गर्थे । तर छोराहरू आफ्नै भविष्यको समेत चिन्ता गर्दैनथे । दिन बित्दै गयो किसान गल्दै गए । शरीरमा नानाभाँतीका रोगका लक्षणहरू देखिन थाले । तैपनि उनलाई त्यसको चिन्ता थिएन । चिन्ता थियो त केवल आफ्नो मृत्युपछि छोराहरूले कसरी गरेर खालान् भन्ने ।



उनको चिन्ता बढ्दै थियो शरीर गल्दै गयो । मनले भन्यो अब अन्त्य त्यति टाडा छैन । एक दिन छोराहरूलाई बोलाएर भने–

‘बाबु हो ! मेरो अन्त्य आइसकेको छ । भरे हो कि भोलि । बाबु मरे भनेर चिन्ता नगर्नु । कसका बाबुआमा सँधै बाँच्छन् र । आउनु र जानु संसारको रीतै हो । सकुन्जेल जति हुन्छ आफैँले गरेँ तिमीहरू दुःख दिइनँ । मृत्युपछि पनि दुःख नहोस् भने सुन, चाँदी तथा असर्फीका केही घडा खेतमा गाडिदिएको छु । म मरेपछि खनेर निकाल्नु र तीन भाइले बराबर बाँडेर लिनू ।’

किसानले भावुक हुँदै भनेका थिए तर छोराहरू कुलत र कुसङ्गतले यति बिग्रिसकेका थिए कि कत्ति छोएन । उल्टै मनमनै हेर बुढा कति कन्जुस, हामीलाई दिनुपर्ला भनेर खेतमा गाड्न पुगेछन् भन्दै यस्ता मानिस चाँडै मर्नुपर्छ, मरिदिए हुन्थ्यो भनेर भगवान्सित प्रार्थना गर्न लागे । उनीहरूका प्रार्थनाले हो कि मिति पुगेर हो केही दिनमै किसान संसारबाट चल बसे । बाबुको किरिया सक्नासाथ उनीहरू खेत खन्नतिर लागे तर पूरा खेत खनिसक्दा पनि केही भेटिएन । दोर्‍याएर खने, तेर्‍याएर खने, गहिर्‍याएर खने तैपनि हात लागि सून्य नै रह्यो ।  त्यसपछि कन्जुस्, अपराधी जस्ता नानाभाँतीका आरोप लगाएर बाबुलाई सराप्दै हिँड्न लागे ।

उनीहरू जसलाई भेटे पनि तिनै कुरा दोर्‍याउँदै बाबुको बदख्वाइँ गर्थे, सराप्थे । बिस्तारै कुरा गाउँभरी फैलियो । एककान दुई कान हुँदै कुरा फैलिएर पल्लो गाउँको चतुर बाहुन चतुर्भुज शर्मा (चतुरे) को कानसम्म पनि पुग्यो । उनले किसानलाई पनि चिनेका थए र छोराहरूका बारेमा पनि राम्रै जानकार थिए । त्यसैले केही सन्देश दिने उद्देश्यले एक दिन उनीहरूका घरमा आएर भने–

‘बाबु हो ! चिन्तित देखिन्छौ नि, कसले के गर्‍यो ?’

‘थाहा छैन र बाजे ?’

‘नभएरै सोध्या हुँ ।’

‘केसम्म गरेनन् भन्नुस् न ।’

‘कसले ?’

‘आफ्नै बाबुले नि कसले ?’

‘कतै बाबुले चाँडै छाडेर गए भन्न खोज्या त होइनौ ?’

‘होइन कुरा अर्कै छ । थोरै पागल कुकुरले टोकेको छ र त्यस्ता अपराधी बुढाको चिन्ता गर्छन् ।’

‘त्यसो भए खाने दानो छैन भन्ने चिन्ताले हो ?’

‘त्यो पनि होइन । घरमा कन्जुस बुढाले केही अन्न लुकाएर राखेका रहेछन् ।’

‘सञ्चित अन्न सकिँदैन र ?’

‘सकिएर के भो त ?’

‘त्यसपछि के गर्ने भन्ने चिन्ताले सताएको हो कि भन्या नि ?’

‘होइन जस्तोपर्छ त्यस्तै टर्छ । अहिले नै त्यसको चिन्ता गरेर बस्ने मूर्खता कसले गरोस् ।’

‘त्यसो भए चिन्ताको कारण के हो त ?’

‘यही कि बूढाले हामीलाई उल्लु बनाएर गए । बाँचुन्जेल त सुखले बस्न दिएनन्, दिएनन् मरेपछि दिएनन् ।’

‘हो र ?’

‘होत नि ।’

‘भन्न सक्नुहुन्छ  के गरे भनेर ?’

‘सक्न त किन नसक्ने तर त्यस्ताको कुरा पनि के गर्नु र खोइ ।’

‘भन्नुस् न के हो ?’

त्यसपछि किसानका छोराहरूले भएभरका कुरा सुनाए । उनीहरूको कुरा सुनेर चतुरेले लामो सास फेर्दै भने–

‘बुढाले भनेको सही हो । सुन, चाँदी र असर्फीका घडा त्यहीँ छन् जहाँ खेतका गह्रा छन् । फरक यति हो तिम्रा बाबुले जति भनेका थिए त्योभन्दा बढी छ तर खोज्न भने जान्नुपर्छ ।’

‘के मूर्ख ठान्नुभएको छ ? उल्लु बनाउने मानिस अर्को पाउनु भएन ?’

‘होइन, सही कुरा गर्‍या हुँ ।’

‘सही कुरा भन्या के बुझिएन नि ?’

त्यसपछि चतुरेले उनीहरूका आँखा खोल्ने उद्देश्यले भने–

‘छोराहरू अल्छी भएकाले तिम्रा बाबुलाई आफ्नो मरेपछि छोराहरूले कसरी गरी खालान् चिन्ता थियो । किसानको धन भनेकै खेतबारी हो, जसलाई पाउन खनजोत गर्नुपर्छ तर त्यो कुरा तिमीहरू सुन्नै चाहँन्नथ्यौ । त्यसैले उनले खेत खनजोत गरी फसल उमारुन् भनेर यस्तो लोभ देखाएका हुन् । यति नगरेको भए तिम्रा खेतबारी बाँझै हुन्थे । घरमा छउन्जेल त खान्थ्यौ त्यसपछि के गथ्र्यौ ? अब तिमीहरूले खेतबारी खनिसकेका छौ । समय अनुसारको बाली लगाउने काम गर, जहाँ तिम्रा बाबुले भनेका भन्दा बढी नै

सम्पत्ति पाउने छौ ।’

बल्ल उनीहरूको आँखा खुले । गल्ती महसुस गर्दै खेतीकिसानी गर्नतिर लागे । नभन्दै चतुरेले भने जस्तै प्रचूर धनसम्पत्ति पाएर सुखपूर्वक रहन लागे । ‘गोडेमा कर्मले बाँझो बारीमा सुन फल्द छ । बिजुली होइन साँझ नदीको जल बल्दछ ।’ भन्ने कविवाक्य किन खेर जान्थ्यो र ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।