बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

झरी पर्न थालेपछि कैलालीका किसान खुसी

सोमबार, १३ असार २०७९, ०७ : ४३
सोमबार, १३ असार २०७९

कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।  लामो समयपछि  वर्षा हुन थालेपछि रामफल मात्रै नभई  धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् ।  लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो । चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन,” उनले भने, “अब खेती लगाउन सकिन्छ कि भन्ने आशा जागेको छ । किसान खेतमा व्यस्त हुन थालेका छन् । निरन्तर पानी प¥यो भने धान रोप्न सहज हुनेछ ।”
  
गत वर्ष यस समयमा धान रोपाइँ सक्नुभएका टीकापुरका दिनेश विश्वकर्माले यस वर्ष भने धान रोपाइँ सुरु गर्नुभएको छैन । गत वर्ष जेठबाट मनसुन सुरु भएपछि जेठबाटै खेतको काममा व्यस्त हुनुभएका उहाँ बल्ल खेतको काममा निस्किएका छन् । “पानी नपरेपछि रोपाइँ समयमै गर्न सकिएन । अब पानी पर्न थाल्यो अब रोपाइँको काम हुन्छ होला,” उनले भने, “सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर भने पाउन निकै कठिन भएको छ ।”
 
टीकापुर–४ का हरि चौधरीले खेत जोतेर छोडेको महिना पुग्यो । धानको बीउले महिना दिनभन्दा बढी काट्यो तर, चौधरीले वर्षा नहुँदा धान रोपाइँ गर्न अझै सक्नुभएको छैन । बोरिङको पानीले खेत रोप्ने तयारी गर्नुभएका उहाँले खडेरीका कारण बोरिङको पानीले पार नलागेपछि अलि कति रोपेको धानबीचमै छोड्नुपरेको थियो । “गत वर्षजस्तै चाँडै रोपाइँ सक्ने गरी धानको बीउ राखेको थिए । पानी नआउँदा करिब एक महिना नै ढिलो भयो,” उनले भने, “कामदार पायो भने एक हप्तामा खेत रोपेर सक्ने लक्ष्य छ । कामदार पाइएन भने दुई हप्ताभन्दा बढी लाग्छ ।”
  
कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थिए । यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो । त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको टीकापुर –८ का धनसिंह साउँदले जानकारी दिए । 

उनले यस वर्ष भने किसान पानीको पर्खाइमा बस्नुपरेको बताउँदै आकाशे पानी पनि नआउनु र सिँचाइ कुलामा पनि पानी समयमै नआउनुले धान रोपाइँमा ढिलाइ भएको बताए ।
  
“मैले गत वर्ष यो समयमा १५ बिगाहाभन्दा बढी रोपाइँ गरिसकेको थिए । यो वर्ष एक बिगाहा पनि रोपाइँ भएको छैन,” उनले भने, “अहिलेको वर्षा किसानका लागि अमृत बनेको छ । कम्तीमा जमिन भिजेपछि बोरिङको पानीले भए पनि रोपाइँ गर्ने वातावरण बनेको छ ।” 

किसान साउँदले २८ बिगाहा क्षेत्रफलमा धान रोपाइँको तयारी गरे । जग्गा भाडामा लिएर व्यावसायिक खेतीमा लागेका साउँदले १० बिगाहाभन्दा बढी क्षेत्रफलमा बिज वृद्धिका लागि धान रोपाइँ गर्छन् ।
    
वर्षा नहुँदा बीउ बचाउनसमेत किसानलाई निकै समस्या भएको थियो । केही किसानले बोरिङको पानीले रोपाइँ गरे पनि रोपेको धान सिँचाइ नपाउँदा सुकेर जाने अवस्थामा पुगेको  किसान अमर कठरिया बताउछन् । उनले बोरिङमार्फत दुई बिगाहा क्षेत्रफलमा धान रोपाइँ गरेका थिए । पर्याप्त सिँचाइ हुन नसक्दा रोपेको धान सुक्ने अवस्थामा पुगेको बताउँदै कठरियाले थोरै भए पनि वर्षा हुन थालेपछि राहत पुगेको बताए । “सिँचाइ कुलामा पानी छैन । बोरिङको पानीले सिँचाइ गरेर साध्य छैन । आकाशे पानी आउँदैन,” उनले भने, “किसान निकै आत्तिएको अवस्था थियो । अब केही हदसम्म किसानले राहत महसुस गर्न थालेका छन् ।”
  
सरकारले रासायनिक मलको व्यवस्था गर्ला भन्ने आशामा पनि कतिपय किसानको धान रोपाइँमा ढिलाइ भएको छ । मल नभएर उत्पादन नहुने भएपछि रासायनिक मलको पर्खाइमा बसेका किसानलाई मनसुनले पनि पछाडि पारेको किसान महेश चौधरी बताउछन्। “सरकारले मल ल्याउन सकेन । केही समय मलको पर्खालमा बित्यो भने केही समय सिँचाइको अभावले,” उनले भने, “अहिले भारतबाट भए पनि मलको व्यवस्थापन भएको छ । किसानले आफ्नो प्रयोगको लागि भारतीय बजारबाट मल ल्याए । अनि वर्षा पनि सुरु भयो । अब किसानको व्यस्तता खेतमा देखिन थालेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप