शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थाइल्याण्डमा अनपेक्षित हिट भयो हिन्दी फिल्म गङ्गुबाई काठियावाडी

आइतबार, १२ असार २०७९, २० : ५९
आइतबार, १२ असार २०७९

गत महिना थाई इन्स्टाग्राम भर निदारमा रातो टिका र सेतो सारी लाएका महिलाका भिडियोहरू भाइरल भएका थिए । समाजिक संजाल प्रयोगकर्ताले बलिउड फिल्म गङ्गुबाई कठियावाडीको नक्कल गरिरहेका थिए । नक्कल गर्नेहरूमा कयौं सेलिब्रिटीसमेत थिए । 

भारतीय फिल्मले पहिलेदेखि नै अफ्रिका र मध्यपूर्वमा राम्रो दर्शक बनाएको छ । त्यसबाहेक विशेषत दक्षिण एशियाली डायस्पोराको ठूलो जनसंख्या भएका अमेरिका, बेलायत र मलेशियामा पनि यी फिल्म धेरैले हेर्छन् । तर थाइल्याण्ड र भारतीय फिल्मबीच लामो दुरी थियो । भारतका केही फिल्महरु थाइल्याण्डका सुन्दर समुन्द्री तटमा दृश्याकंन हुनुमै तिनको सम्बन्ध सिमित थियो । 

तर अहिले स्ट्रिमिङ प्ल्याटफर्मको आगमनपछि भारतीय फिल्म हेर्नेहरू थाइल्याण्डमा बढ्न थालेको छ । दुई देशका फिल्मकर्मी र अभिनेताहरुबीचको बढ्दो सहकार्यले पनि दुवै देशका दर्शकहरुमा एक अर्काको फिल्मप्रति चाख बढाएको छ । गङ्गुबाई काठियावाडीले वेश्यावृत्तिमा धकेलिन बाध्य एक महिलाको कथा भन्छ, जोपछि महिला अधिकारको पक्षमा बलियो गरी उभिन्छिन् । 

महिनाको सुरुमा थाइल्याण्डको नेटफ्लिक्समा यो फिल्म सबैभन्दा धेरै हेरिएको शिर्ष १० फिल्ममा परेको थियो । त्यसअघि मे महिनाका अन्तिम दुई हप्ता यो फिल्म थाई नेटफ्लिक्समा शिर्ष स्थानमा थियो, जुन स्थान फिल्मले भारतमा समेत हासिल गर्न सकेको थिएन । 

गङ्गुबाई काठियावाडी मात्र होइन अर्को भारतीय फिल्म आरआरआर पनि शिर्ष १० मा पर्न सफल भयो । दक्षिण भारतीय निर्देशक एस. एस. राजामौलीले निर्देशन गरेको फिल्मले ब्रिटिस शासनविरुद्ध लड्ने दुई भारतीय स्वतन्त्र सेनानीको कथा भन्छ । 

आरआरआर र गङ्गुबाई काठियावाडीको सफलताले हासिल गरेको सफलता रातारात बनेको होइन । साविका चईयादे, चट्चा पटुमथिप र एन मिटचाईजस्ता विभिन्न थाई अभिनेत्रीहरूले पछिल्लो समय भारतीय फिल्ममा अभिनय गरे । गायिका समेत रहेकी मिटचाईले सन् २०१९ मा एक हिन्दी म्युजिक एल्बमनै सार्वजनिक गरिन् । 

‘थाई कलाकारहरूका लागि भारतीय फिल्म उद्योग ठूलो पैसा भएको विशाल बजार हो । थाई कलाकारको बलिउडतर्फको आकर्षणले भारतलाई समेत फाईदा हुन्छ । यसले भारतीय फिल्मलाई थाई बजारमा प्रवेश सहज बनाउँछ ,’ गुवाहटीस्थित कट्न विश्वविद्यालयका अनुसन्धान विज्ञ एन्वेशा हाजारिकाले भनिन् । 

थाइल्याण्डको एउटा फिल्म हलमा पहिलेदेखि हिन्दी फिल्म मात्र चलाइने गरेको छ । हलका दर्शक प्रयास दक्षिण एशियाबाट थाइल्याण्ड बसोबास गरिरहेका आप्रवासी हुन्छन् । पछिल्ला वर्षहरुमा भारतीय टीभी शोहरु थाइल्याण्डमा लोकप्रिय हुन थालेका छन्, जसमध्ये पनि नागिन फिल्म सबैभन्दा धेरै सफल रह्यो । सो टेलिफिल्मका प्रमुख अभिनेता अर्जुन बिजलानीले सन् २०१८ मा नागिनका कलाकार थाइल्याण्ड टुरमा जाँदा धेरै माया पाएको सम्झन्छन् । 

बिजलानी नागिनजस्ता भारतीय शोको थाइल्याण्डमा सफलता पाउनुमा दुई समाजबीच कायम वृहत्तर सास्कृतिक अनुकुलताले काम गरेको मान्छन् । दुवै मुलुक परम्परा र आधुनिकताको मिश्रण भएको मुलुक हुन् । रामायणलाई दुवै मुलुकले साझा महाकाव्य मान्छन् ।(थाइल्याण्डमा रामायणलाई रामाकियनका रुपमा चिनिन्छ ।)

‘थाइल्याण्ड भारतीय सामाग्रीको स्वभाविक बजार हुनुपर्ने हो तर यसमा प्रयाप्त अध्ययन भएको छैन ,’ बिजलानीले भने । दुई देशलाई इतिहासले सास्कृतिक रुपमा जोडेको छ भने वर्तमानले साझा भाष्य प्रदान गरेको अनुसन्धानदाता हजारिकाले बताइन् । भारतमा जस्तै थाइल्याण्डमा पनि कानुनी रुपमा वेश्यावृत्ति बर्जित छ । तर यहाँका कयौं शहरमा तिनको खुला अभ्यास हुन्छ। 

‘आफ्ना बाटामा आइपरेको अवरोधविरुद्ध लड्दै सफलतापूर्वक अघि बढेकी यौनकर्मी गङ्गुबाईको कथाले धेरै थाई दर्शकलाई छोएको हुनुपर्छ ,’ हाजारिकाले बताइन् । थाई नागरिकको उच्च इन्टरनेट उपभोग प्रवृत्तिले पनि गङ्गुबाईको लोकप्रियतालाई खेलेको हुनुपर्छ । समाजिक संजालमा धेरैले फिल्मबारे चर्चा सुरु गरेपछि अरुले पनि के रहेछ भन्ने जिज्ञासा उत्पन्न भयो ।  

थाइल्याण्डमा भारतीय फिल्मको सफलतालाई नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्ल्याटफर्महरुको आगमनले पनि सघायो । यी प्ल्याटफर्मले विगतमा पहुँचमा नरहेको हिन्दी फिल्महरु स्थानीय स्रोतको पहुँचमा पु¥यायो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप