मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महतो धनुषाबाट चुनाव लड्ने निश्चित, तर निधिको चाहना अर्कै

आइतबार, १२ असार २०७९, १५ : ०६
आइतबार, १२ असार २०७९

स्थानीय चुनावपछि अब हुने संघ र प्रदेश चुनावमा नेताहरू आ–आफ्नो चुनावी क्षेत्र सुरक्षित गर्न थालेका छन् । कतिपय नेताहरूले उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् भने पार्टीका ठूला नेताहरू पनि आ–आफ्नो चुनावी क्षेत्र सुरक्षित बनाउन आन्तरिक कसरत सुरु गरेका छन् । 

यसैबीच धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा चुनाव जितेका राजेन्द्र महतोले अगामी चुनाव पनि त्यहीँबाट लड्ने सोच बनाएका छन् । तर उनलाई सर्लाही क्षेत्र नम्बर–४ मा तान्ने प्रयास भइरहेको छ । लोसपाका कार्यकारिणी सदस्य समेत रहेका महतो सकभर धनुषाबाट चुनाव नलडुन् भन्ने काँग्रेसका नेता विमलेन्द्र निधि चाहन्छन् । निधिले आफ्ना मान्छे लगाएर महतोलाई धनुषाबाट चुनाव लड्न रोक्ने प्रयास गरिरहेको बताइएको छ । निधिनिकट सर्लाहीका नेताहरूले महतोलाई भेटेर नै सर्लाही–४ बाट चुनाव लड्न आग्रह गरेका छन् । महतोनिकट एक नेताका अनुसार सर्लाहीबाट दिनहुँ जसो महतो कहाँ डेलिगेसन आइरहेका हुन्छन्, त्यसमा कतिपय निधिनिकट नेताहरू पनि हुन्छन् । उनीहरुले महतोलाई सर्लाहीबाट नै चुनाव लड्न भनिरहेका हुन्छन् । 

महतो सर्लाही–४ बाट चुनाव लडे काँग्रेसबाट अमरेश नारायण सिंहलाई टिकट नदिन सकिने सम्मको प्रस्ताव निधि पक्षबाट आएको महतो निकट स्रोतले जनाएको छ । सांगठनिक रुपमा काँग्रेसका नेता सिंह सो क्षेत्रमा निकै कमजोर भइसकेका छन् । उनको काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि राम्रो सम्बन्ध छैन । त्यही भएर उनले टिकट पाउन गाह्रो रहेको निधि पक्षका नेताहरूले महतोलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेका छन् ।

यता महतो भने सर्लाहीभन्दा धनुषातिर नै केन्द्रित रहेका छन् । उनले अधिकांश समय धनुषाको आफ्नो क्षेत्रमा दिइरहेको लोसपाका नेता राजीव झाले बताए । उनले भने, ‘महतोजी धनुषा–३ बाट चुनाव लड्ने लगभग निश्चित छ, त्यही अनुसार तयारी चलिरहेको छ ।’

धनुषा–३ मा नेता महतोको जे अवस्था पहिला थियो, अहिले पनि त्यही अवस्था रहेको बताउँदै नेता झाले महतोका लागि यही चुनाव क्षेत्र नै अनुकूल रहेको बताए । काँग्रेस वा एमाले जुन दलसँग गठबन्धन बने पनि महतोले नै त्यहाँबाट टिकट पाउने निश्चित रहेको दाबी गर्दै उनले भने, ‘काँग्रेससँग गठबन्धन बनाउने प्रयास पनि भइरहेको छ । काँग्रेसबाट गठबन्धन बने पनि त्यहाँबाट महतोले पहिला जितेको कारण उहाँलाई नै टिकट दिन्छ, एमालेसँग गठन भए पनि महतोले नै टिकट पाउने निश्चित छ ।’

तर स्थानीय चुनावमा भने लोसपा सो क्षेत्रमा निकै कमजोर देखिएको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिका पनि जितेको थियो । त्यतिबेला राजपाले २२ हजार मत ल्याएको थियो तर अहिलेका लोसपाले ५०० मत मात्र ल्याउन सक्यो । त्यतिबेला तत्कालिन राजपाले ७ वटा वडा जितेको थियो भने यसपटक एउटा वडा मात्र जितेको छ । त्यतिबेला महतोको साथमा लालकिशोर साह, जानकी राम, हिरा साह, विभा ठाकुर पनि थिए तर अहिले उनीहरू अन्य पार्टीमा गइसकेका छन् । 

महतोको चुनावी क्षेत्रमा धनौजी र मुखियापट्टी गरी दुईटा गाउँपालिका र नगरनाइन र जनकपुरधाम उपमहानगरपालिका (१७ वटा वडा) मात्र छन् । र, यीमध्ये कुनै पनि क्षेत्र पार्टीले जितेको छैन । यसरी स्थानीय चुनावमा कमजोर भएपछि नेता महतो त्यहाँबाट चुनाव नलड्ने हो कि भनेर धेरैले आँकलन गरेका छन् । गत चुनावमा माओवादी र एमाले, दुवैले दलले महतोलाई साथ दिएका थिए तर यसपटक सो सम्भावना नदेखिएको धेरैको बुझाइ छ । रघुवीर महासेठ वा जुली महतोमध्ये एकले त्यहाँबाट चुनाव अवश्य लड्नेछन् । लोसपा र एमालेबीच गठबन्धन नभएको खण्डमा महतोलाई धनुषामा गाह्रो हुने धेरैको बुझाई छ । 

तर नेता झा भन्छन्, ‘स्थानीय चुनाव र प्रतिनिधिसभा चुनावको सिनारियोमा आकाश जमिनको फरक हुन्छ । स्थानीय चुनावमा स्थानीय सम्बन्धले निकै काम गरेको हुन्छन् तर प्रतिनिधिसभामा त्यस्तो हुँदैन ।’ स्थानीय चुनावमा मनोज साहबाहेक अधिकांश उम्मेदवार लोसपाकै थिए । प्रतिनिधिसभा चुनावमा ती सबै मत महतोलाई नै आउने उनले बताए । 

महतोका प्रेस सहयोगी किशोर गुरु भन्छन्, ‘महतोजी धनुषाबाट नै चुनाव लड्नु हुन्छ यो लगभग निश्चित नै छ ।’ स्थानीय चुनावमा जनकपुरमहानगरपालिकामा केही मत क्षति भए पनि अन्य पालिका तथा गाउँपालिका मत बढेको उनले बताए । विगतको भन्दा धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा पार्टीको मत बढेको उनले जानकारी दिए । स्थानीय चुनावमा जनकपुरधाममा मत कम आएको स्वीकार गर्दै उनले प्रतिनिधिसभामा त्यो क्षतिको भरपाई हुने दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप