शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हिन्दु राष्ट्र संस्थागत गर्न राजसंस्थाको मुद्दा छाड्यौँ : कमल थापा

आइतबार, १२ असार २०७९, १३ : ३२
आइतबार, १२ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना भएपनि अहिले सो मुद्दा छाडेको बताएका हुन् । अध्यक्ष थापाले सो मुद्दा उठाउँदा हिन्दु राष्ट्रको नारा समेत ओझेलमा पर्न लागेको बताए । उनले पार्टीको सिद्धान्त र विचारलाई समय काल र परिस्थितिअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने समेत बताए ।

‘देश र जनताको भावनाको सम्मान गर्दै राजसंस्थाको एजेण्डा छोड्ने निर्णय गरेका हौं’ उनले भने– ‘राजसंस्थाको एजेण्डा बोकी रहँदा हिन्दु राष्ट्र कहिल्यै पुनःस्थापना नहुने, पार्टी देशको अग्रणी स्थानमा नहुने, मुलुकको आर्थिक सामाजिक विकासको एजेण्डा पनि पुरा गर्न नसकिने भएकाले हामीले एजेण्डा छाडेका हौं ।’

उनले देशका ठुला दलहरुले पनि राजसंस्थासँग सहकार्य गरेर अघि बढेको इतिहास रहेको बताउँदै भने– ‘२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पार्टीहरुले पनि राजसंस्थाको एजेण्डा छोडेका थिए ।’ उनले असम्भव एजेण्डा बोकेर जनतालाई धोका दिने, स्वयम् राजालाई पनि धोका दिने र आफ्ना कार्यकर्तालाई धोका दिने काम पार्टीले नगर्ने बताए ।

पार्टीले राजसंस्थाको एजेण्डा छाडे पनि मूलभूत एजेण्डाहरु यथावत रहेको बताए । ‘हामीले हिन्दु राष्ट्र स्थापना गराउन सकेनौं‚ । तर, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता अपरिवर्तनीय होइन । जनताको अभिमतबाट परिवर्तन गराउन सकिन्छ भन्ने अधिकार हामीले स्थापित गरेका छौं’ उनले भने –‘त्यही अधिकारका कारणले गर्दा आज राजसंस्थाको पक्षमा, हिन्दु राष्ट्रको पक्षमा र संघीयताको विरुद्धमा आवाज उठाउन पाउने अधिकार हामीले प्राप्त गरेका छौंँ ।’ 
थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने सुझाव समेत दिए । उनले अहिले प्रदेश सरकारको आवश्यकता नरहेको समेत बताए ।

बहुदलीय प्रजातन्त्रमा दलको विकल्पमा व्यक्ति हुन नसक्ने समेत उनले बताए । ‘एउटा दल असफल भए भोलि जनताले अर्को दललाई रोज्छन् । प्रजातन्त्रमा स्वतन्त्र रुपमा पनि विचार लिएर जान सकिन्छ । यसलाई हामीले अन्यथा लिनु हुँदैन’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप