शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले र माओवादी एकले अर्कोलाई गलाउने रणनीतिमा

आइतबार, १२ असार २०७९, १२ : ०७
आइतबार, १२ असार २०७९

प्रदेश र संघको चुनावमा कुनकुन दलबीच तालमेल र गठबन्धन हुन्छ भनेर यसै भन्न सक्ने अवस्था छैन । चुनावी तालमेल र गठबन्धनको योजना बनाउन नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु सघन छलफल र संवादमा छन् । प्रदेश र संघमा सरकार बनाउनका लागि हुने निर्वाचनबाट आफ्नो अनुकुल परिणाम ल्याउन दलहरु आफू हावी हुने गरी तालमेल र गठबन्धनका लागि क्रियाशील छन् । यद्यपि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एकले अर्कालाई गलाउने रणनीति बनाएका छन् ।

एमालेले बाहिरी रुपमा प्रदेश र संघको चुनावमा एक्लै भिड्ने घोषणा गरे पनि भित्री रुपमा अनेक खालका भेटघाट र छलफललाई जारी राखेको छ । त्यसका लागि गठबन्धन दलकै नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उनी निकट नेताहरुले निरन्तर भेटघाट र छलफल जारी राखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दलीय गठबन्धनलाई कायम राख्ने पक्षमा छन् । यदि गठबन्धन भत्किने अवस्था आए प्रचण्डले दोस्रो विकल्पका रुपमा माओवादी सहित, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दललाई जोडेर ‘समाजवादी केन्द्र’ बनाउने बहस थालेका छन् ।

गठबन्धनबाट कमजोर बनाउन नसके समाजवादी केन्द्रबाट काँग्रेस बाहेक दलहरुलाई समेटेर एमालेलाई कमजोर बनाउने रणनीतिमा प्रचण्ड लागेका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै वाम तालमेलकै पक्षमा भए पनि एकले अर्कालाई गलाउन लागिपरेका छन् ।

प्रचण्डले आफू निकट नेताहरुसँगको भेटमा वाम तालमेल र एकताको पक्षमा भए पनि एमाले कमजोर बनाएरमात्रै सम्भव हुने बताउने गरेका छन् । ‘पहिला एमाले बलियो, हामी कमजोर भएर एकता गरियो, त्यो टिकेन । अब हामी बलियो, एमाले कमजोर बनाएर एकता गरेर वाम ध्रुवीकरणमा जानुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘अहिले नै एमाले गल्नेवाला छैन । त्यसैले स्थानीय चुनावमा एमाले एक ढंगको साइजमा आयो । अब संघ र प्रदेशमा तेस्रो शक्ति बनाएपछि बल्ल एकताको वातावरण बन्छ ।’

एमाले र माओवादीका आ–आफ्नै रणनीति

एमाले अध्यक्ष ओली पाँच दलीय गठबन्धन फुटाउन निकै प्रयासरत छन् । पाँच दलीय गठबन्धन बाहेकका दललाई समेटेरमात्रै नपुग्ने भन्दै ओली सत्तारुढ गठबन्धन फुटाउन लागिपरेका छन् । त्यसका लागि ओलीले शृङ्खलावद्ध भेटघाट जारी राखेका छन् ।

एकीकृत समाजवादीमा विवाद उत्पन्न हुँदा बित्तिकै सम्मानित नेता झलनाथ खनाललाई बोलाएर ओलीले भेटेको एमालेका एक नेताले बताए । स्थानीय तह चुनावमा सोचेजस्तो नतिजा नआएपछि एकीकृत समाजवादीमा निरासा उत्पन्न भएको मौका छोपेर ओलीले खनाल लगायतका नेताहरुसँग भेटेर छलफल गरेका हुन् । यद्यपि, त्यतिबेला ओली सफल हुन सकेनन् ।

मन्त्री हेरफेर गर्ने विषयमा एकीकृत समाजवादीमा भाँडभैलो मच्चिएपछि एमाले नेताहरु थप सक्रिय भई भेटघाटमा जुटेका छन् । ओलीले कम्तीमा पूर्व एमालेलाई भए पनि एक ठाउँमा ल्याए बलियो हुने र चुनावको परिणाम आफ्नो पक्षमा आउने आकलन गरेका छन् ।

यस्तै स्थानीय चुनावको परिणाम आएलगत्तै ओलीले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई बालकोटमै बोलाएर भेटेका थिए । श्रेष्ठ र पुन मार्फत ओलीले गठबन्धन फुटाएर वाम तालमेलको वातावरण बनाउन जोडबल गरेका थिए ।

त्यो प्रयासमा ओलीसहित उनी निकट नेता र माधव नेपाल छोडेका १० भाइमध्येका नेताहरु अहिले पनि दौडधुपमै छन् । यस्तै गठबन्धनमै सहभागी जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर ओलीले भेटेको जसपाकै एक नेताले पुष्टि गरे । स्थानीय तहको चुनावलगत्तै जसपामा विवाद भएपछि यादवलाई गठबन्धनबाट अलग गरेर आफ्नो कित्तामा ल्याउन ओलीले प्रयास गरेका हुन् । त्यस विषयमा गठबन्धनका नेताहरुले प्रश्न उठाएपछि यादवले बैठकमा स्पष्ट पारेका थिए ।

उता, माओवादी आफ्नै संगठनको बलमा शक्तिमा नपुग्ने भएपछि गठबन्धनकै जोडबलमा एमालेलाई कमजोर बनाउने रणनीतिमा जुटेको छ । माओवादी अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनलाई कायम राख्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँगको भेटघाट जारी राखेका छन् । पाँच दलीय गठबन्धनबाटै एमालेलाई कमजोर बनाउन सकिने रणनीतिमा प्रचण्ड छन् ।

यदि पाँच दलीय गठबन्धनमा तालमेल हुन नसके प्रचण्डले सँगसँगै विचार मिल्ने शक्तिहरु एकीकृत समाजवादी, जसपा र माओवादी लगायत दलहरुलाई जोडेर समाजवादी केन्द्र बनाउन सकिन्छ कि भनेर सघन छलफल गरिरहेका छन् । त्यसका लागि प्रचण्डले बाबुराम भट्टराई, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् ।

यदि पाँच दलीय गठबन्धन फुट्ने र काँग्रेस–एमाले तालमेलको अवस्थामा गएमा दोस्रो अप्सनको रुपमा प्रचण्डले समाजवादी केन्द्रको नाममा अरु दललाई जोडेर बलियो हुने रणनीतिमा लागेका छन् । यद्यपि, समाजवादी केन्द्र बनाउने बहसले आकार भने लिइसकेको छैन ।

‘एमालेले बाहिरी रुपमा एक्लै चुनाव लड्न सक्षम छौं भन्छ । एक्लै बहुमत ल्याउँछौ भनेर डङ्का पिट्छ । हामीसँग भित्रभित्रै तालमेल गर्नुप-यो, कति सीट चाहिन्छ, छलफल गरौं भन्छन् । बाहिर सोचेजस्तो एमालेमा आत्मविश्वास छैन,’ माओवादी केन्द्रका एक प्रभावशाली नेताले भने, ‘भित्री रुपमा एमालेका नौ नारी गलेका छन् । त्यसलै भित्रभित्रै कहिले प्रचण्ड, कहिले माधव नेपाल र नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलाई भेटेर फकाउने र प्रलोभन दिन्छन् ।’

पाँच दलीय गठबन्धन नफुट्ने ढुक्क भएमा एमालेले माओवादीलाई ५० प्रतिशत सीट दिएर भए पनि सम्झौता गर्ने अवस्थामा पुग्ने माओवादी नेताहरु बताउँछन् । तर, माओवादी अहिलेकै अवस्थामा तत्काल एमालेले जतिसुकै प्रलोभन दिए पनि वाम तालमेल गर्ने पक्षमा छैन । यही गठबन्धनबाट सम्मानजनक सीट लिएर प्रदेश र संघको चुनावमा जाने तयारीमा माओवादी छ ।

नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी प्रदेश र संघको चुनावमा एक्लै जाने दाबी गरे । ‘हामी स्थानीय निर्वाचनमा एक्लै लडेको हो । निर्वाचन परिणामलाई सीट संख्यामा मात्रै हेरिँदैन, मत संख्या पनि निर्वाचन परिणामको महत्वपूर्ण आयाम हो भन्ने मानिन्छ । यसो हो भने नेकपा एमाले देशको सवैभन्दा बलियो पार्टी हो भन्ने कुरा एमालेले एक्लै चुनाव लडेर स्थापित गरेको छ,’ रातोपाटीसँगको कुराकानीमा पौडेलले भने, ‘यस निर्वाचनमा एमालेविरुद्ध महागठबन्धन गर्दा पनि देशको राजनीतिक पार्टीहरूमध्ये जनमतको हिसावले सबैभन्दा अग्रस्थानमा छ भन्ने सच्चाइ खण्डित हुन सकेन । अब हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले एक्लै जान्छ ।’

स्थानीय चुनावमा एमालेलाई नराम्ररी पराजित गर्ने सत्तारुढ गठबन्धनको योजना विफल भएको उनको दाबी छ । जनमतमा एमाले नै पहिलो शक्ति हुन सफल भएको उनले बताए ।

‘जित्नेले गल्नुपर्ने, तेस्रो, चौथो, पाँचौ छैठौं हुनेले गर्वको महसुस गर्नुपर्ने यो कस्तो विश्लेषण पद्धति स्थापित हुन खोज्दैछ ? जनमतको हिसावले एक नम्बरको पार्टी, सीट संख्याको हिसावले दुई नम्बरको पार्टी गल्नुपर्ने ?’ पौडेलले भने, ‘अनि तेस्रो चौथो भएकाहरूले गर्वबोध गर्नुपर्ने, विजयोत्सव मनाउनुपर्ने, यो कस्तो विश्लेषण पद्धति हो ? त्यसकारण एमाले न गल्छ, न गल्नेवाला छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप