बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सीएनआई स्टार्टअप फेस्ट सम्पन्न, २४ करोड ५० लाख लगानी सम्झौता

आइतबार, १२ असार २०७९, ११ : ४२
आइतबार, १२ असार २०७९

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । फेस्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको युवा मञ्चले जानकारी दिएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो ।

नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुति गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतीकरण पछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालको उपस्थितिमा लगानीकर्ताले ती परियोजनामा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।

स्वपूँजी लगानीसम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्विटी फण्ड, अध्यन्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनौटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरे । उनले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको पनि बताए ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गर्दै आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको उद्योगमन्त्री बडूले बताए । नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताए । नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सांसद समेत रहेका विनोद चौधरीले कार्यान्वयन योग्य योजना लिएर अगाडि बढ्न युवाहरुलाई आग्रह गरे । विश्वमा धनी भएका व्यक्तिहरु निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गरे । ‘आज तपाईले गर्ने निरन्तरको प्रयासले भोलिको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ । त्यसका लागि धैर्य, लगाव, योजना र प्रतिबद्धता आवश्यक पर्छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप