बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खरको छाना विस्थापित गर्न जस्तापाता वितरण

आइतबार, १२ असार २०७९, ०७ : ४७
आइतबार, १२ असार २०७९

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले खरको छाना मुक्त बनाउने कार्य अघि बढाएको छ ।  नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ । 

नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याइएको बताए ।  आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छाना मुक्त गर्न थालिएको केसीले बताए । नगरपालिकाभरि जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ ।  

अब नगरपालिकाले वडाअनुसार जस्तापाता वितरण गर्ने जनाएको छ । नगरपालिकाले खरका छाना भएका घरको संख्या भने पहिले नै संकलन गरिएको थियो । वडा १ मा ५० घरपरिवारलाई जस्तापाता वितरण गरिनेछ । वडा २ मा ४६ घरपरिवार, ३ मा ८७ घरपरिवार, ४ मा ४४ घर परिवारलाई वितरण गरिने कार्यालयले जनाएको छ । 

त्यस्तै, वडा ५ मा ५१ घरपरिवार, ६ मा ५५ घरपरिवार, ७ मा ४३ घरपरिवार, ८ मा ३६ घरपरिवारलाई र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा १० मा ७१ घरपरिवार, ११ मा ७२ घरपरिवारलाई, १२ मा ५८ घरपरिवार, १३ मा ४१ घरपरिवार र  १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ । 

अति विपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानो मुनि जनता ल्याउने कार्यक्रम अन्तर्गत १३ करोड रुपियाँ बजेट विनियोजन गरिएको जनाएको छ । पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताको आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप