शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम

आइतबार, १२ असार २०७९, ०७ : २०
आइतबार, १२ असार २०७९

इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम सुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम सुरु गरिएको हो । 

सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनी गरिएको सो  कार्यक्रमको शनिबार इच्छाकामना–४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गरे । उनले स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवाहरूलाई आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

शैक्षिक गुणस्तर सुधार गर्न राष्ट्रिय युवा परिषद्ले यस कार्यक्रमका लागि इच्छाकामना गाउँपालिकालाई छनोट गरेकामा धन्यवाद दिए । गाउँपालिकाले पनि विद्यालयमा युवा स्वयंसेवक शिक्षकको परिकल्पना गरेको उनले जानकारी दिए। शिक्षाका लागि पर्याप्त जनशक्ति नभएकाले स्वयंसेवक शिक्षक आवश्यक रहेको उनको भनाइ थियो । 
 
विशेषगरी शिक्षक बिरामी हुँदा विद्यालयका शिक्षिका सुत्केरी भएको अवस्थामा लामो समय बिदा दिनुपर्ने भएकाले त्यस्तो अवस्थामा स्वयंसेवक शिक्षकले कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ । यस कार्यक्रमले युवाहरूमा स्वयंसेविका बन्ने भावना पैदा हुने, गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिने अध्यक्ष गुरुङले बताए । 

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले गाउँपालिका भौगोलिक दृष्टिले दुर्गम पहाडी भेग र पिछडिएका समुदायको बसोबास रहेको हुँदा यहाँको शैक्षिक गुणस्तर सुधारमा टेवा पु¥याउन यस कार्यक्रमका लागि इच्छाकामनालाई छनोट गरिएको बताए । बेरोजगार युवालाई सामाजिककार्यतर्फ आकर्षण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । यसरी युवा परिचालन गर्दा उनीहरूमा दक्षता बढ्ने उनको भनाइ छ । 
 
सो कार्यक्रमअन्तर्गत सहभागी युवाहरूलाई शनिबार नै ५० युवालाई एक दिने अभिमुखीकरण तालिमसमेत दिइएको छ । प्रशासकिय प्रमुख शर्माका अनुसार युवाले उक्त तालिमपश्चात आफ्नो टोलको विद्यालयको राम्रा र नराम्रा पक्षको जानकारी लिने छन् ।

विद्यालयको सुधार गर्नुपर्ने पक्ष के–के छन्, शिक्षक–विद्यार्थी र अभिभावकसँग छलफल तथा अन्तक्र्रिया गरेर भरेका फारम गाउँपालिकामा पेश गर्नेछन् । सोही आधारमा गाउँपालिकाले शिक्षा नीति बनाउने र यसरी बनाएको शिक्षा नीति प्रभावकारी हुने उनको भनाइ छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले युवा स्वयंसेवक कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरिन्। युवालाई आफ्नो गाउँ टोलको विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि के गर्न सकिन्छ, आफूले सिकेको ज्ञान, सीपको भरतपुर सदुपयोग गर्न आग्रह गरिन् । युवाहरूले चनाखो बनेर चासो राख्दा हरेक क्षेत्रमा सकरात्मक परिवर्तन आउने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप