विज्ञका कुरा

ननस्टप पखाला, बान्ता अनि अस्पतालको बेडमा पुगेछु...!

person explore access_timeअसार १२, २०७९ chat_bubble_outline0

काठमाडौँमा हैजा पुष्टि भएको पहिलो बिरामीलाई भेट्दा खाना खाइराख्नु भएको थियो । स्वास्थ्यमा धेरै सुधार भैसकेको थियो । मुहारमा केहि उज्यालोपन पनि देखिन्थ्यो । लेखक सङ्क्रामक रोगको बारेमा सधैँ जिज्ञासु रहने भएकोले आफ्नो परिचय पछि स्वाभाविक प्रश्न गरेका थिए । कसरी यस्तो अवस्था (बिरामी) भयो ? लेखकको अनुरोधलाई सहर्ष स्विकार्दै आफूहरूले साधेको चाउचाउ बनाएको र खाएको लगभग ६-८ घण्टा पछि अचानक रिँगटा लाग्ने, टाउको भारी हुने भएको थियो । र त्यसपछि अचानक पातलो दिसा ननस्टप लागेको, लगत्तै बान्ता भएको र आफू अस्पतालको बेडमा पुगेपछि मात्र राम्रोसँग होस फर्केको थियो । त्यसपछि २-३ घण्टाको फरकमा सोही खाना खाएका अर्का बहिनीलाई पनि त्यस्तै कडा झाडापखालाका लक्षणहरू देखियो र अस्पताल भर्ना हुनुपरेको थियो । हैजाको सम्भावना व्यक्त गरिए पछि थप पुष्टिको लागि परीक्षण गरिएको र अन्तमा हैजाको जीवाणु नै पुष्टि भएको थियो । तत् पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असारको २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौँमा दुई बिरामीमा हैजाको जीवाणु पुष्टि भएको आधिकारिक जानकारी दिएको थियो ।


हाल झाडापखालाका बिरामीमा हैजा पुष्टि हुने क्रम जारी छ । तर विडम्बना यी बिरामीहरू काठमाडौँका फरक फरक ठाउँका निवासीहरू हुन । अर्थात् हैजाको जीवाणु काठमाडौँ उपत्यकामा फैलिसकेको र अहिले पनि फैलिरहेको अनुमान गर्न सकिन्छ किनभने अहिलेसम्म बजार अनुगमन कडा गरेको जानकारी सार्वजनिक भैनसकेकोले सङ्क्रमण युक्त पानी वा खानेकुराहरूको बिक्री वितरण निरन्तर भइरहेको हुनुपर्दछ । हैजा आफैमा नेपालको  लागि  नौलो रोग भने होइन । तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष जसो हैजा देखिने गरेको पाइन्छ । गत वर्ष असोज महिनामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गाउँहरूमा हैजा फैलिँदा सयौँ सङ्क्रमित भएका थिए भने समयमा उपचार नपाउँदा केहीको मृत्यु समेत भएको थियो । हैजाको सङ्क्रमण बढी युवाहरूमा देखिने गरेको भएता पनि जोखिम वा मृत्यु तुलनात्मक रूपमा बढी बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई हुने गरेको पाइन्छ । गत वर्ष असोज महिनामा कपिलवस्तुमा फैलिएको हैजाबाट मृत्यु हुनेमा ७५ प्रतिशत १० वर्ष मुनिका बालबालिका थिए ।     



नेपाली समाजमा झाडापखाला लागे पसलमा गएर आफै औषधी खाने र सुधार नभए मात्र अस्पताल पुग्ने गरिन्छ । अर्थात् अस्पताल आइपुग्ने अधिकांशहरू कडा झाडापखाला भएपछि मात्र आइपुग्ने गर्दछन् । हैजा पुष्टि हुनु भन्दा केहि हप्ता अगाडी देखि नै काठमाडौँमा झाडापखालाका बिरामीहरू अस्पताल भर्ना हुने गरेका थिए । तर अधिकांशले भने घरमा नै औषधी खाँदै र स्वास्थ्यलाभ गर्दै बसेका थिए । तर कडा हैजा रहेछ भने केहि मिनेटमा नै बिरामी सिकिस्त अवस्थामा पुग्ने र सो समयमा परिवारका सदस्य, साथीभाइ वा सहयोगी नभएको अवस्थामा उपचार गर्न ढिलो हुन सक्दछ र ढिलो हुनु भनेको मृत्यु हुने सम्भावना बढ्नु हो । अस्पताल भर्ना भएका पहिलो बिरामी पनि अति सिकिस्त हुँदा आफन्तले तुरुन्त अस्पताल लगेका थिए र पनि केहि दिन आईसीयूमा नै बस्नु परेका थिए । यसबाट पनि हैजालाई कम आकलन गर्नुहुन्न भन्ने पाठ सिक्नु पर्दछ । सङ्क्रमित सबैमा हैजाले कडा रूप लिन्छ नै भन्ने चाही होइन । झन्डै १० सङ्क्रमितमा एकलाई मात्र कडा हैजा हुने गर्दछ । तर कडा हैजा नदेखिएका सङ्क्रमितले कम्तीमा १० दिनसम्म दिसा मार्फत हैजाको जीवाणु निकालिरहेका हुन्छन् । तसर्थ पानी तथा खानेकुरा बाहेक शौच पछि हात राम्ररी नधुने लक्षण विहीन सङ्क्रमितले पनि हैजा प्रसारण गर्नमा सहयोगी भूमिका खेलिरहेका हुन्छन् । यस्ता सङ्क्रमितले काठमाडौँ बाहिर गए त्यहाँ पनि सङ्क्रमण फैलाउन सक्ने सम्भावना उत्तिकै रहन्छ । तसर्थ हैजा काठमाडौँमा  मात्र सीमित छ भनेर नेपालका अरू ठाउँका निवासीले खानेकुरा वा खानेपानीलाई बेवास्ता नगर्न लेखकले स-हृदय अनुरोध गर्न पनि चाहन्छ ।



हाल काठमाडौँमा हैजा फैलँदो रहेकोले तपाई हामीले खानेकुरा वा खानेपानी उपभोग गर्दै छौँ भने त्यहाँ हैजाका जीवाणुहरू पनि हुन सक्दछ भनेर सतर्कता अपनाउन अति आवश्यक/जरुरी छ । खानेपानी सफा र सुरक्षित भन्ने विश्वस्त भएपछि मात्र पिउने र खानेकुरा राम्रोसँग पकाएको र ताजा हुनुपर्दछ । बाटोमा राखिएका खुल्ला खानेकुराहरू सुरक्षित छ/छैन भनेर विशेष ध्यान दिन जरुरी हुन्छ । यद्यपि हैजा बाहिर बेचिने खानेकुराबाट मात्र सर्ने भन्ने हुँदैन भनेर माथि उल्लेखित बिरामीको भनाइबाट पनि पुष्टि हुन्छ । अर्थात् हैजाको सङ्क्रमण आफ्नै भान्सा घरसम्म पुगेको पनि हुन सक्दछ ।

अन्तमा, के तपाईंलाई अचानक र निरन्तर पिडारहित चौलानी पानी ( चामलको माडबाट निकालेको पानी जस्तो) जस्तो पखाला लाग्ने, तारन्तार बान्ता  हुने, पेट वा खुट्टाका मांसपेशीहरू बौडिने, बेचैनी हुने जस्ता समस्याहरू देखिएका छन् ? त्यो हैजाका लक्षणहरू पनि हुन सक्दछ है !  

डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।