बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता हुने

शनिबार, ११ असार २०७९, १९ : ३९
शनिबार, ११ असार २०७९

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता आयोजना गरिने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आचार्यको जन्मजयन्तीका अवसरमा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ । सोही क्रममा खुला कविता प्रतियोगिता गर्न लागिएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ ।

सहभागीले यही असार २० गतेभित्र कविता पठाइसक्नुपर्ने समितिले जनाएको छ । सहभागीले [email protected] मा कविता पठाउन सक्नेछन् । छनोटमा परेका कविले असार २८ गते स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्नेछ ।

कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, दुई शब्दमा नबढाइ युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनीतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।

भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दिपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलीसभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ ।

विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक विदा दिएको छ । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

मोतीराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् छ भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप