मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकले पैसा दिएन, बङ्गलादेशले आफ्नै खर्चमा बनायो ६ किमीभन्दा लामो दुई तले पुल

शनिबार, ११ असार २०७९, १८ : १२
शनिबार, ११ असार २०७९

। सन् २०१२ मा विश्व बैंकले बङ्गलादेशको सबैभन्दा लामो पुल निर्माणमा दिने भनेको १.२ अर्ब डलरको ऋण रद्द गर्‍यो । त्यसबेला विश्व बैंकले ‘परियोजनामा भईरहेको भ्रष्टाचारका प्रमाणहरूलाई आफूले अनदेखा गर्न नसक्ने र नहुने’ प्रतिक्रिया दिएको थियो । 

बङ्गलादेशको सरकारले भने विश्व बैंकले लगाएको भ्रष्टाचारको आरोपलाई खण्डन गरिरह्यो । पछि देशकी प्रधानमन्त्री शेख हसिनाले सरकारले आफ्नै कोषबाट पुल निर्माण गर्ने बताइन् । काम सुरु भएको आठ वर्षपछि आज(जुन २५) बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशकै लामो पद्मा नदी पुल उद्घाटन गरिन् । ६ किमीभन्दा लामो यो पुल बनाउन ३ अर्ब ८७ करोड अमेरिकी डलर खर्च भएको सरकारले बताएको छ ।

पद्मा पुल बङ्गलादेशमा निर्माण भएको सबैभन्दा ठुलो र सबैभन्दा चुनौतीपूर्ण पूर्वाधार योजना हो । यसले देशका आधा जनसङ्ख्या अर्थात ८ करोड मानिसलाई जोड्नेछ भने देशको कुल ग्राहस्थ उत्पादन वृद्धिमा योगदान गर्ने बताइदैछ । 

देशको दक्षिण–पश्चिमलाई देशको राजधानीसँग जोड्ने पुलले आवगमन, व्यापार, र समग्र रूपमा बङ्गलादेशको अर्थतन्त्रलाई अभूतपूर्व बढावा दिने अपेक्षा गरिएको छ ।

पुल पूर्ण रूपमा सञ्चालन आउन थालेपछि यसले समग्र देशको कुल ग्राहस्थ उत्पादन १.२३ प्रतिशत र दक्षिण–पश्चिम भेगको कुल ग्राहस्थ उत्पादनले २.३ प्रतिशतले बढ्ने सरकारले अनुमान गरेको छ । 

यसले नाटकीय रूपमा ढाका र दक्षिणका सहरहरू खुलना, जेसोर र बरिसालबीचको दूरी छोट्याउनेछ ।

बङ्गलादेशको तुलनात्मक कम विकसित दक्षिण–पश्चिम भेग र अधिक विकसित पूर्वी भेगबीच सडक र रेल सज्जाल निर्माण भएपछि पुलले क्षेत्रीय बजारहरूको ठुलो एकीकरण गर्ने विज्ञको अपेक्षा छ । 

पुलमा रहेको रेलवे सेवा सुचारु भएपछि (जुन मार्च २०२४ बाट सुरु हुने बताइएको छ) ढाका र कोलकाताबीचको यात्रा समेत साढे तीन घण्टा भित्र गर्न सकिनेछ । यसले बङ्गलादेश र भारतबीचको व्यापारमा ठुलो परिवर्तन ल्याउनेछ । 

तर अहिलेको लागि अधिकांश बङ्गलादेशी नागरिकका लागि पद्मा पुल राष्ट्रिय गौरवको पूर्वाधार बनेको छ । यसले प्रगतिको पथमा लम्किरहेको तिनको मुलुकको सबलतालाई प्रतिबिम्बित गरेको तिनको विश्वास छ । 

पद्मा पुल चिनियाँ सरकारी स्वामित्वमा रहेको चाइना रेलवे समूहको सहायक कम्पनी ‘चाइना मेजर ब्रिज इन्जिनियरिङ कम्पनी’ले निर्माण गरेको हो । 

कम्पनीले मे २०१४ मा पुल निर्माणको ठेक्का पाएको थियो । उसले सबैले प्रस्ताव गरेभन्दा कम अर्थात १.५५ अर्ब डलरको प्रस्ताव गरेपछि ठेक्का हात पारेको थियो । निर्माण कार्य सोही वर्ष वर्ष नोभेम्बरबाट सुरु भयो । 

मुख्य पुल ६.१५ किमी लामो छ भने पुलको दुई तर्फको सडकको लम्बाइसमेत गरेर कुल लम्बाई ९.८३ किमी छ । २१.६५ मिटर  चौडाइ रहेको माथिल्लो डेकमा चार लेनको राजमार्ग हुनेछ भने तल्लो डेकमा डुअल गेज रेलवे लाइन हुनेछ । 

सन् २०१६ देखि पुल निर्माणमा संलग्न बङ्गलादेश ब्रिज अथोरिटीका इन्जिनियर अहमद अहसान उल्लाह मजुमदारले परियोजनाले विभिन्न इन्जिनियरिङ चुनौती सामना गरेको बताए ।

‘गंगा–पद्मा–ब्रह्मपुत्र नदी प्रणालीले विश्वमै सबैभन्दा ठुलो परिमाणको पानी बोक्छ । यहाँको बलौटे किनारहरू निरन्तर बढ्छन्, खस्छन् र सर्छन् । पानीको बलियो धार निर्माणको लागि अर्को जटिल समस्या रह्यो ,’मजुमदारले भने । 

पुलमा ४२ वटा खम्बा रहेको र त्यसमध्ये ४० नदीमा र दुई वटा नदी र जमिनबीचको भागमा रहेका मजुमदारले बताए । 

पुललाई नदीमा आवतजावत गर्ने ठुला जहाजहरू पनि पुलमुनिबाट जान सक्ने गरी पर्याप्त उच्च बनाइएको छ । 

‘पद्मा नदी १० मिनेटमै पार हुने कुरा पहिले सोच्न पनि सकिँदैनथ्यो । अहिले पनि फेरी डुङ्गामा नदी पार गर्न एक घण्टा लाग्छ । डुङ्गाको पर्खाइ वा अन्य दुई किनारामा लाग्ने ट्राफिक जाममा गरेर यात्रामा साढे दुई वा तीन घण्टा लाग्ने गर्छ ,’ मजुमदारले भने।

विगत १९ वर्षदेखि बंगलादेशभरी ट्याक्सी चलाउँदै आएका बरिशाल डिभिजनको पिरोजपुर जिल्लाका मोहम्मद शिब्लु पुलको निर्माणबाट खुसी छन् । 

‘मेरो घर ढाकाबाट १७० किलोमिटर मात्र टाढा छ, तर मानिसहरू मेरो गाउँ धेरै टाढा सोच्छन्, जबकि २३५ किमी टाढा रहेको चटगाउँ जान पद्मा पार गर्नु नपर्ने भएकाले ढाकावासीहरू नजिक ठान्छन् ,’ शिब्लुले भने । 

‘पद्मा नदी तर्न महिला, केटाकेटी र वृद्धवृद्धाहरू घाटमा रात रातभरि कुर्दै आएका छन् । मैले विगतमा चाँद रातमा (इदको अघिल्लो रात) आफ्नो घर समयमै पुग्ने प्रयास गर्दा नदी तर्न सकिनँ । तर अब फेरि त्यस्तो दुःख हुने छैन । यो नदीले हामीलाई सपना देख्न सक्ने बनाएको छ ,’ शिब्लुले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप