शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा र लोक दलबीच एकीकरण हुँदै

शनिबार, ११ असार २०७९, १६ : ५६
शनिबार, ११ असार २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र कौशल कुमार सिंह नेतृत्वको लोक दलबीच एकीकरण हुने भएको छ । दुई दलबीचको एकीकरण घोषणा आइतबार पार्टी कार्यालयमा हुने लोसपाका कार्यालय सचिव रञ्जित झाले बताए ।

पिछडावर्ग महासंघका अध्यक्षसमेत रहेका कौशल कुमार सिंह यसअघि उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । तर त्यो एकीकरण लामो समयसम्म टिक्न सकेन । उनी फोरमबाट अलग भएर छुट्टै पार्टी सञ्चालन गर्दै आइरहेका थिए ।

संघ र प्रदेशको चुनावको मिति घोषणाको पूर्वसन्ध्यामा यी दुई पार्टीको बीचमा एकीकरण हुन लागेको हो । चुनावमा क्षमतावान् उम्मेदवारलाई टिकट दिने सहमति भएको लोक दलका अध्यक्ष कौशल कुमार सिंहले बताए । उनले भने, ‘मधेसका लागि मिलेर केही गर्ने दुई दलको बीचमा सहमति भएको छ, त्यसका लागि एकसाथ जानका लागि एकीकरण गर्न लागेका हौँ ।’ केन्द्रीय कार्यकारिणी समिति तथा केन्द्रीय समितिमा आफ्नो पार्टीबाट नेता तथा कार्यकर्ता समावेश गर्ने सहमति भएको तर कति सङ्ख्यामा गर्ने अहिले तय नभएको उनले बताए । 

लोक दलको केन्द्रीय समिति २१ सदस्यीय रहेको छ । दलित, जनजाति तथा महिलाको भातृ संगठन रहेको छ । ती सबै लोसपामा समावेश हुनेछन् । लोक दलले लोसपाकै विधान, भण्डा तथा चुनाव चिन्ह स्वीकार गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप