
काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकमा बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्र बहादुर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता काभ्रेको बनेपा नगरपालिका-१० जनागालमा बा.७ च १५४५ नम्बरको कारले बा.३ ख २८४४ नम्बरको बसलाई ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार काठमाडौं कंलकी बस्ने ५५ वर्षीय ध्रुव सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भोमी अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवारमध्ये १ जनाको सोही अस्पताल र २ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा रोकी राखेको ना.६ ख १४२८ नम्बरको ट्रकमा ग.९ प १२५७ नम्बरको मोटरसाइकल शुक्रबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४८ वर्षीय अरविन कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको बैधीमाई नगरपालिका-७ बंकुलमा बिआर ०५एएस १६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका २२ वर्षीय सुनिल कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंजस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता तेह्रथुमको लालीगुँरास नगरपालिका-२ स्थित सडकमा लसुनेबाट बसन्तपुरतर्फ जाँदै गरेको प्र.१-०२-००३ त २४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीया पबित्रा कुमारी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वस्थ्य केन्द्र बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई थप उपचारको लागि घोपा धरान रिफर गरिएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका-९ झिझरी खोलास्थित सडकमा बा.५ ख ४२०४ नम्बरको ट्रकले भे.११ प ७०५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार बैजनाथ गाउँपालिका-२ बस्ने ३२ वर्षीया दिल कुमारी खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ