शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा

शनिबार, ११ असार २०७९, १६ : २२
शनिबार, ११ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको बताए ।

उनले पार्टीभित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए । उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे । ‘हिन्दु धर्मको संस्थागत विकास गर्ने लक्ष्यसहित स्थापना भएको यस पार्टीप्रति जनताले ठुलो विश्वास लिएको छ । अब हुने निर्वाचनबाट यो राष्ट्रिय पार्टी बन्छ’ उनले भने –‘चुनावमा आवश्यकताअनुसार केही स्थानमा अन्य राजनीतिक दलसँग तालमेल हुनसक्छ ।’ 

थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने सुझाव समेत दिए । ‘अहिले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको छ’ उनले भने, ‘संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप संस्थागत हुन्छ ।’ उनले व्यक्तिको इमानदारिता र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए । 

नेता थापाले कम्युनिष्ट तथा अन्य ठुला दलहरुमा वैचारिक विचलन देखापरेको बताए । ‘साम्यवाद, समाजवाद र पुँजीवाद दर्शन हावी हुँदा ठुला दलहरूको विचारमा विचलन आएको छ’ उनले भने –‘साम्यवाद, समाजवाद, पुँजीवादको विकल्पमा सम्बर्दनवादको दर्शनलाई पार्टीले अघि बढाउनेछ ।’ उनले सम्वर्द्धनबाद भनेको सनातन धर्मको रक्षा र परम्परागत संस्कारलाई अंगाल्दै अघि बढ्ने दर्शन रहेको बताए । उनले भने –‘परम्परागत सनातन धर्मको रक्षा गरेर पनि देशको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप