बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको व्यक्तिवादले शक्ति आर्जन गरेपछि अहंकारी प्रवृति देखायो : माधव नेपाल

शनिबार, ११ असार २०७९, १४ : ०९
शनिबार, ११ असार २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेमा चरम रुपमा व्यक्तिवाद हावी मात्र नभई व्यक्तिवादले चरम सीमा नाघेर गएको बताएका छन् । काठमाडौंँमा सुरु भएको पार्टीको चौथो केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले  त्यो व्यक्तिवादले शक्ति आर्जन गरेपछि अहंकारी प्रवृत्ति बोकेको बताए । 

उनले भने– ‘त्यो अहंकारी प्रवृत्ति पछि गएर निरङ्कुश बन्न पुग्यो । निरङ्कुश प्रवृत्ति देखापर्न थालिसकेपछि पार्टीमा गहिरो संकट देखापर्‍यो  । आफ्नो स्वार्थका लागि देशमाथि पनि कुठाराघात गर्ने काम भयो । भष्टाचार फष्टाउन, मौलाउन थाल्यो । जनताका समस्यालाई बेवास्ता गरियो ।’

उनले तत्कालीन एमाले भन्दा आफ्नो दल बढी देशभक्त रहेको बताउँदै देशभक्तिलाई बिर्सन नसक्ने बताए । उनले जनजीविकाको कुरा बिर्सन नसक्ने भन्दै जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए । उनले अहिलेको कम्युनिष्ट पार्टीमा भ्रष्टिकरणको प्रवृत्ति बढ्दै गएको बताए । जनताको अवस्थालाई अवमूल्यन गर्ने प्रवृत्ति बढ्दै गएको समेत उनले बताए । 

उनले भने– ‘देशमा महँगी बढ्दै गएको छ । तेलको मूल्य बढेको छ । हरेक कुराको मूल्य वृद्धि भएको छ । यस्तो स्थितिमा हाम्रो एकीकृत समाजवादी पार्टी चुप लागेर बस्न सक्छ ? अप्ठेरो के छ भने हामी सडकमा उत्रौँ सत्तामा आफ्नै छन्, सडकमा उत्रियौँ भने फेरि ठूलो खिसी टिउरी सुरु हुन्छ । पाँचदलीय गठबन्धन सरकार समक्ष हामीले पटक–पटक कुरा उठाएका छौँ । तेलको भाउ बढ्यो, मूल्य अचाक्ली बढ्यो । भ्रष्टीकरण व्यापक रुपमा बढ्यो भनेर ५ दलको बैठकमा भनेका थियौँ । ५ दलको बैठक बसेर तेलको मूल्य घटाउन सकिन्छ घटाउने निर्णय गर्यौँ । राज्यले जनतालाई बेचेर मुनाफा कमाउने हैन । यसमा जनतालाई मार्का नपर्ने गरी तेलको मूल्य घटाउने छलफल भएको छ ।’

उनले अरु पार्टीभन्दा भिन्न हुने र भष्टाचारबाट मुक्त हुनुपर्ने बताए । उनले जनताको सेवा गर्नका लागि एकीकृत समाजवादी केन्द्रीत हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप