शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नियात्रा : गोवा र पुनाको रोमाञ्चकारी यात्रा

शनिबार, ११ असार २०७९, १३ : १६
शनिबार, ११ असार २०७९

यात्राको अनुरागले मेरो भित्री हृदयलाई लबालब ढाकिदिएको छ अर्थात् यात्रामा निस्कने भन्ने बित्तिकै मेरा ज्ञानेन्द्रिय त्यसैत्यसै चनाखा बन्छन् । आँखालाई अनेकन परिकल्पित दृश्यले उद्दीप्त पार्छन् । नासापुट नूतन जगत्को हावाको सुगन्ध पिउन उत्ताउलो बन्छ । मेरा कान अनन्तको ध्वनि सुन्न आतुर हुन्छन् र सना नयाँ नयाँ परिकारको आस्वादनको भोकमा तड्पिन्छ । यात्राले काम र जिम्मेवारीको एकरसतामा टाँगाको टट्टु जस्तो बँधेरिएको जीवनलाई खुल्लापथमा विचरण गराउँछ । यात्राले जीवनमा नवनव उन्मेषको स्वाद भर्ने मात्र होइन पुलकित आनन्दको शयर पनि गराउँछ । यात्राले आफ्ना अन्तर्दिलका फोहोर र दागीपन मात्र दखाउँदैन, सङ्कीर्ण सोच, व्यवहार र चिन्तनलाई चिनाइदिन्छ । हरेक यात्राले मान्छेलाई भित्रैबाट विकसित गर्दछ । मान्छेलाई पुष्पित पल्लवित गर्दछ ।

हर यात्रामा जीवन पढिन्छ । समाज पढिन्छ । समय पढिन्छ । ज्ञान र अनुभवको नयाँनयाँ क्षितिज छुँदै गइन्छ । जीवनका बहुआयामिक चुली चढाउँछ यात्राले । तर यात्रा आजभोलि मेरा लागि दुर्लभ चरीजस्तो बन्न लागिसक्यो । कारण आफ्नै चारदिवारीको सुसेधन्दामा टाँसिएरै जीवनको दुई तिहाइ समय सक्किन लागेको छ । तर पनि त्यस्तो अवसर आउँदा र तालघाट मिल्दा झिनामसिना उल्झनहरूलाई लात हानेर यात्राको मनोरम संसारमा बुर्कुसी मार्ने गर्छु ।

यो साल त्यस्तै यात्रामा बुर्कुसी मार्ने सुनौला अवसर मिल्यो । नेपालको पूर्वीसीमा धुलावारी काँकडभित्ताबाट आरम्भ भएको यात्रा बागडोगरा, मुम्बई, गोवा, पुना पुगेर एक उत्कर्षता हासिल गर्‍यो भने त्यसपछि पुनः मुम्बई बागडोगरादेखि आफ्नै घरसम्म अवतरित हुँदा मनमस्तिष्कमा अनुभूतिको सानो सानो थुम्को तयार भयो । रङ र रेखाहरूको एउटा धुमिल कोलाज बन्यो । त्यसैलाई शब्दमा उतार्न खोज्दैछु ।

करिब दस दिनको यात्रामा निस्कने योजना पन्ध्र बीस दिनअघि नै बनिसकेकोले आफू कार्यरत विद्यालयमा बिदा स्वीकृतिको चाँजोपाँजो मिलाउने, आफ्ना काम र जिम्मेवारीहरू हस्तान्तरण गर्ने काम अघिल्लै दिन करिब करिब मिलाइसकेको थिएँ । २०७५ पुसको १० गते त घरबाट प्रस्थान गर्नुनै थियो । तर दुःखद संयोग सोही दिन मेरा विद्यालय अध्ययन ताकाका सहपाठी मित्र रामु रायामाझीको दुःखद् निधन भयो । आफू एघार बजे हिँड्नुथियो । बिहानै उनको मलामी जानुपर्‍यो । आफ्नो समवयीसँगै पढेको मित्रको आकस्मिक अवसानले मनमा एक नमीठो पीडा भयो । 

मित्रको मलामीबाट फर्केर घर आएँ । स्नान भोजन र आवश्यक तयारीपछि ठीक एघार बजे लाहान प्रस्थान गरेँ । मेरो ब्याग गुरु ज्ञान साहिलको गाडीमा पठाइदिएँ । लाहानबाट दुई ओटा स्कारपियो गाडीको व्यवस्था गरिएको थियो धुलावारीसम्म जानको लागि । गुरुहरूको गाडी अगाडि नै जाने भएपछि त्यसमै अटेजी र व्यागहरू पठाउने काम गरियो ।

दोस्रो स्कारपियोमा म, जीवन मेहमान, ओमकारजी, ओमजी, अशोकजी र अञ्जु माताजी जानुपर्ने व्यवस्था गरिएको थियो । दुई बजे लाहानबाट प्रस्थान गरियो । साँझ ७ बजे मात्र धुलावारी पुग्न सफल भयौँ । एक त पुसका छोटा दिन अर्काे बाटोमा ठाउँठाउँ अलमल हुँदै गयो । महुलीमा चियानास्ता गर्दा निकै ढिलो भयो, फेरि अशोकजीले कोसी ब्यारेजमा चटपटे नखाई नछोड्ने अडान राखेपछि त्यहाँ पनि केही ढिलाइ भयो । तर धुलाबारीको रात्रि विश्राम भने सारै आनन्ददायक र सुन्दर रह्यो । 

विकासजीको जोर्वा क्याफेमा जुन आथित्यता मिल्यो । त्यो अविस्मरणीय थियो । साह्रै स्वादिलो दाल, भात, तरकारी, चटनी खाएर उहाँको घरमा मीठो निन्द्रा सुतियो ।

भोलिपल्ट एघार बजे नै पश्चिम बङ्गला प्रान्तमा अवस्थित बागडोगरा सैनिक विमानस्थलबाट हवाईजहाज चढ्नुथियो । बिहान सबेरै उठियो । स्नानादि नित्यकर्म पूरा गरेर पुन जोर्वा क्याफेमा आइयो । चिया, खाजा र फलफूल खाएर बिहानको ८ बजे बागडोगरातर्फ प्रस्थान गर्‍यौँ । हाम्रो भ्रमण दलमा चौधजना यात्रुको समूह एकत्रित भएका थियौँ । बागडोगरा पुग्ने बित्तिकै मेरो हातमा इन्डिगो विमानको अनलाइन टिकट थमाइयो । जसमा नारायणप्रसाद उप्रेती, तुलसीकुमारी बस्नेत, राजेन्द्रप्रसाद मुरारका, अञ्जु मुरारका, ओमकार मल्ल अग्रवाल, माधवप्रसाद पोखरेल, विनोदकुमार मोवार, पुण्य कार्की, अशोककुमार खड्का र ओम खड्काको नाम उल्लेख थियो । विकासजीसहित चारजना झापाली मित्रहरूको टिकट भन्ने छुट्टै थियो ।

लगेज चेकिङ लगायतका विभिन्न कागजी डकुमेन्टहरूको चेकजाँचको प्रक्रिया पूरा गर्न १० बजे विमानस्थलको भित्री परिसर छिरेका हामी १२्र बजे मात्र उड्न सफल भइयो । अढाइ तीन सय यात्रु क्षमताको विशाल जेट विमानको यात्रा मेरो लागि नयाँ अनुभूतिको विषय थियो । हुन त नेपालको घरेलु रुटमा चल्ने साना विमानहरू त पहिले नै चढिसकेको थिएँ । जब विमानले बागडोगराको जमिन छोड्यो । त्यसपछि हामी करिब बाह्र पन्ध्र सय माइल (वायुमार्गको दूरी) को वायविक यात्रामा मुम्बईतर्फ हुइँकिँदै थियो । विमानले क्रमशः आफ्नो उडानको उचाइ बढाउँदै जब छत्तीस हजार फिटमाथि पुगेर गन्तव्यतिर सोझियो, वायविक यात्राको नूतनतम् अनुभूतिले मेरो मनमस्तिष्क रोमाञ्चित थियो । निकै लामो समयसम्म उत्तरतिरका धवल हिमशिखरहरूको शृङ्खलाहरू ओझेल परेपछि विशाल भारतको विविधतायुक्त भूगोललाई छत्तीस हजार फिट माथिबाट अवलोकन गर्ने अपूर्व अवसर मिल्यो । मेरो लागि यो दृश्यावलोकनको मौका एक दुर्लभ मौका थियो । यसमा मित्र विनोद मोवारजीप्रति आभार छु किनभने झ्याल साइडको सिट उहाँको थियो । विमान बाहिरको दृश्यावलोकनको  तीव्र उत्कण्ठा जति ममा थियो । त्यति उहाँमा थिएन । उहाँले सहर्ष मलाई झ्याल साइडको सिट छोडिदिनु भयो । तीन घण्टाको आकाशीय  यात्रामा मृदुल अनुभूतिका अनेकन तरङ्गहरूले मलाई छोपिरहे, छोपिरहे । बिहान धुलाबारीमा खाएको नास्ताले छोडिसकेको थिो । विमानभित्रै सबैले आआफ्नो रुचि अनुसारको खाजा खाने काम गरियो । दुई सय आईसीको एक बोहोतो हैदरावादी बिर्यानी खाएँ । पेटभन्दा मेरो आँखा धेरै भोकाएका थिए । भारतीय भूगोलका दृश्यहरू पिउन लालायित थिए चञ्चल नजरहरू । पहाड, जङ्गल, मैदान, सहरहरू, बस्तीहरू, नदीका लम्बेतान गोरेटाहरू, सडक सञ्जालका नागबेली दृश्यहरू र खेतीबाडीका अनन्त प्लटहरू नियाल्दै, रोमाञ्चित हुँदै, पुलकित आनन्दमा डुब्दै अघि बढी रहेँ ।

एक निश्चित हाइटमा पुगेपछि विमान ध्यानको थिरतामा उड्दो रहेछ, यो अनुभव मेरा लागि सर्वथा नौलो थियो । बाहिर तुफानी गति छ, भित्र एक अपूर्व सन्नाटा र थिरता छ । त्यो थिरतालाई नजिकबाट स्पर्श गरेँ । विमानका पखेटा हेर्छु । विमान रत्तिभर चलेजस्तो, हिँडेजस्तो अनुभूति हुन्न तर क्षितिजीय रेखा र धर्ती हेर्छु अनि विमान धिमा गतिमा उडिरहेको आभास हुन्छ । गुरु ज्ञान सहिलसित यस विषयमा कुरा पनि गरेँ । ध्यानको गहिराइमा घट्ने अनुभूति जस्तो भएर विमान उड्दो रहेछ ।

तीन घण्टाको समय तीस मिनेट जस्तो भएर समयातित अवस्थामा ठीक ३ बजे छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल मुम्बईमा हामी अवतरित भयौँ । आकाशबाटै अलिअलि नियाल्न भ्याएँ मुम्बई नगरीको विपुल वैभवता । चौडा सडकहरू, गगनचुम्बी महलहरू, गाडीका अनन्त ताँतीहरू आँखाभरिभरि पिएर विमानस्थलको ट्रान्जिटमा रोकिएका थियाँै हामी । सोही दिन राति  १० बजेको विमान समातेर गोवा उड्नु थियो हामीले । छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलको वैभवता देखेर मनमनै कल्पना गरेँ–यस्तै समृद्ध विमानस्थल मेरो मुलुकमा कहिले बन्नेहोला ? अदम्य इच्छाशक्तिसहितको नेता चाहिएको छ देशलाई, एक भिजनरी र स्वच्छ छविको नेतृत्व चाहिएको छ मुलुकलाई । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई हाँक्न सक्ने स्वप्नदर्शी नेताको जरुरी छ हामीलाई । सो अभावले नै हालसम्म हामी अनन्त दुर्गतिमा फँसिरहेका छौँ । 

लामो प्रतीक्षपछि रात्रिको १०ः४० मा गोएअर इन विमानबाट हामी गोवातर्फ उड्यौँ । रात्रिको अन्धकारले धर्तीलाई आफ्नो अँगालोमा घुम्लुङ्ग बेरिसकेको थियो । अपितु ठाउँठाउँका झिलिमिली सहर गाउँहरू देख्ता जुनकिरीका झुरुम्बीहरू नाचेजस्तो आभास हुन्थ्यो । दिनको उज्यालोमा पनि आकाशबाट धर्ती नियाल्ने सुयोग मिल्यो, अन्धमुस्ली रातमा पनि धर्तीलाई धेरै माथिबाट नियाल्ने अवसर मिल्यो । रङरङका धर्ती आनन्दहरू त भोगिएकै थियो तर आज दूर आकाशको आनन्द मुटुभरिभरि पिउँदै थिएँ । आकाशबाट तल हेर्दाको अनमोल अनुभूति रौँरौँमा सँगालिरहेको थिएँ । आकाशको आनन्दमा चुर्लुम्म डुबिरहेको थिएँ ।

करिब एक घण्टाको आकाशमार्ग छिचोलेर एघार पैँतीसमा हामी गोवाको अन्तर्राष्ट्रिय विमानस्थमा उत्रियाँै । गोवा भ्रमणभरि सहज सुविधा होस् भनेर ओशो ओसिन आश्रममा आवासको व्यवस्था अगाडि नै निर्धारित गरिएको थियो । सोही मुताविक आश्रमको एउटा गाडी हामीलाई लिन आयो । अर्काे एक ट्याक्सीमा जाने टुङ्गो भयो । आधी मित्रहरू आश्रमको गाडी चढेर जानुभयो । बाँकी आधी चाहिँ भाडाको ट्याक्सीमा गन्तव्यतिर लाग्यौँ । ड्राइभरले सुरुमा हामी पुग्नुपर्ने लोकसेन थाहा छ भन्यो । त्यसैले आश्रमको गाडी त्यसलाई एअरपोर्टमै छोडेर हिँडिहाल्यो । हामीलाई ढुक्क थियो, यहीँको रैथाने ड्राइभर हो, ठाउँमा पक्का पुर्‍याउनेछ । तर सोचेको ठीक विपरीत भयो । उसले अनेकौँ गल्ली, गल्छेँडा र चोकहरूको चक्कर काट्यो, काटिरह्यो । तर हामीलाई गन्तव्यमा पुर्‍याउन सकेन । रात्रिको समय त्यो अन्जान ठाउँमा हामीलाई घरी यता र घरी उता फनफनी घुमाइरहेको छ । थकाइ र भोकले चुरचुर भइसकेका छौँ । आखिर अनेकौँ पटकको फोन सम्पर्कपछि बल्लबल्ल राति एक बजे आश्रममा आइपुगियो । पुरी तरकारी खाएर रात्रिविश्राममा आआफ्ना कोठातिर पसियो । ओछ्यानमा पुग्दा रातको दुई बजिसकेको थियो ।

पुस १२ गते बिहान साढे ६ बजेतिर गोवाको ओछ्यानमा जागरण । त्यसपछि नुहाइधुवाइ लगायतका नित्यकर्महरू सम्पन्न गरी हामी समुद्री किनारामा समुद्रसित साक्षात्कार गर्न जाने योजना बन्यो । जीवनमा पहिलोचोटि समुद्रसित भेट हँुदैथ्यो । हिमाली देशको पहाडवासी म । मेरो देशको कुनै पनि कुनाले समुन्द्रको स्पर्श नपाएकाले हमी भूपरिवेष्टित राष्ट्रका हतमागी नागरिक भएका छौँ, समुद्रसँग देशको सीमाना नजोडिनाले पटक–पटक चरम नाकाबन्दीको सिकार पनि भएका छौँ । गोवा भ्रमणको एक उद्देश्य समुद्रसँग साक्षात्कार गर्ने, समुद्रसित साउती मार्ने र समुद्रमा सद्यस्नान बन्ने अभिलाषा गाँसिएको थियो । हामी बासबसेको आश्रम नजिकै रहेछ बेताल बीच । समुद्र किनारको मैदानी भागलाई बीच भनिँदोरहेछ । समुद्र किनारा  जहाँबाट समुद्रमा हेलिन सकिन्छ, जहाँबाट समुद्रमा पौडी खेल्न सकिन्छ । तीन तिरबाट समुद्रवेष्टित गोवामा सातआठवटा चर्चित बीच छन् अरे । सबै बीच त पुगिएन । सुरुको दिन जुन बीचमा पुग्याँै, त्यो हाम्रो बासस्थानबाट दुई अढाइ किलो मिटरको दूरीमा थियो ।

पहिलो चोटि समुद्रलाई स्पर्श गर्न पाउँदा एक अतिरेक उत्तेजनामा म आनन्दित बनेको थिएँ । सयौँको सङ्ख्यामा सेतो छाला हुने विदेशीहरू समुद्रका छालसित लुकामारी खेलिरहेका थिए । के युवा, के युवती, के वालबच्चा, के बूढाबूढी सबैसबै समुद्रमा निमग्न डुबुल्की लाइरहेका थिए । हामी पनि ढिलो नगरी कपडा खोलेर समुद्रमा हेलियाँै । समुद्रका उतुङ्ग छालसँग जिस्किँदै डुबुल्की लाइरह्यौँ, लाइरह्यौँ । असाध्यै नुनिलो पानीका घुड्कीहरू पनि चाख्ने मौका मिल्यो । धौ फुकाएर समुद्री स्नान–आनन्द लिइयो । एक अतिरेक ऊर्जाले यसरी आप्लावित गर्‍यो । तीनघण्टा समुद्रमा पौडी खेलेको थाहा पत्तै भएन । स्नानपछि किनारामा नाङ्गै सनबाथिङ गर्नुको आनन्द पनि छुटाइएन ।

समुद्री बीचमै चियानास्ता खाँदा बाह्रएक बजिसकेको थियो । बिहान ८ बजे समुद्रमा गएका मान्छे दिउँसो एक बजे आश्रम फर्केर नुहाइधुवाइ गरियो । समुद्रको नुनिलो पानीले शरीरलाई कताकता असहज बनाएको अनुभूति भयो । त्यसैले स्नान जरुरी जस्तै रहेछ । खाना खाएर २ बजेतिर गोवाको चर्चित फुटस्टेप म्युजियम हेर्न गइयो । गोवा सभ्यताको प्रारम्भिक कालखण्डको जनजीवनलाई मूर्तिकलामा ढालिएको त्यो सङ्ग्रहालय साँच्चै जीवन्त थियो । साँच्चै विमुग्धकारी थियो । त्यसपछि पालोलेम बिच  गएर असीम सागरको आनन्दमा डुबियो । समुद्र किनारामा अवस्थित नरिवलको जङ्गलले मनलाई खिच्छ, जुन वर्णनातित छ । निरन्तरको यात्राले कण्ठमा प्यास जाग्छ । ताजा नरिवलको पानी खाएर प्यास मेट्याँै ।

देश देशका मानिसहरू गोवाको समुद्री बिच झुम्मिएका छन् । चारैतिर मादक मस्ती छन् । कोही पौडिएका छन् । कोही छालसित जिस्ँिकदैछन् । कोही डुङ्गामा शयर गरिरहेका छन् । कोही खानमा मस्त छन् । कोही गाना बजानामा मस्त छन् । कोही प्रेम आलिङ्गनमा बेरिएका छन् । खालखालका दृश्यहरू छन् । तालतालका मान्छेहरू देख्न पाइन्छ । संसारकै एक आकर्षणको थलो गोवामा समुद्री बिचहरू बरदान बनेर उभिएका छन् । तिनकै मोहनीमय आकर्षणले संसारका टुरिस्टलाई आफूतिर खिचिरहेको छ । समुद्रको आनन्द पिएर कोठा फर्किँदा रातको ८  बजिसकेको थियो । भोजनपछि विश्राममा लेटियो ।

गोवा आएको दोस्रो दिन पुस तेह्र गते पनि बाँकी ठाउँको परिभ्रमणको लागि बिहानै चियानास्ता खाएर गाडी चढ्यौँ । सर्वप्रथम फिस एक्वाइरियम पुग्यौँ । अनेकौँ प्रजातिका माछा कछुवाहरूको जीवन्त एक्वाइरियम रहेछ । खास गरी समुद्रमा पाइने माछा कछुवाका अनेकन प्रजातिहरू सिसाजडित घरमा सुरक्षित राखिएको छ । माछाको निम्ति वातानुकूलित वैज्ञानिक प्रविधि जडान गरिएको त्यो एक्वाइरियम साँच्चै आश्चर्यजनक थियो । 

त्यसपछि भूतघरको अवलोकन गर्न गइयो । अहिलेको विज्ञान प्रविधि र रोबोटिक कलाको प्रयोग गरी बनाइएका भूतप्रेतहरू र पिशाचहरूको स्वचालित गतिविधि निकै भय र आतङ्क सिर्जना गर्ने खालको थियो । कमजोर मनस्थिति भएका मानिसहरूले भूताहा घर हेर्नुभन्दा नहेर्नु नै जाती लाग्यो । त्यसपछि पुनः समुद्री किनारकै अद्भूत दृश्य अवलोकन गर्न कोकोबीच आइयो । कोकोबिचमा नरिवल घारीको दृश्य परिदृश्यलाई आँखाभरि कैद गरेर डल्फिन ट्रिपका लागि मोटरबोट चढियो । समुद्री किनाराका अनेकन परिदृश्यहरूको अवलोकन गराउँदै त्यसको ऐतिहासिक पक्षको वर्णन गर्दै लग्यो मोटरबोटको गाइडले । अहिलेको गोवा कुनै समयमा पोर्तुगलको अधीनस्थ थियो । समुद्र किनारास्थित डाँडाको काछमा रहेको कैदीखाना (जेल) पनि देखायो उसले । सागरका उत्ताल छालहरूसित स्पर्श गर्दै मोटरबोट बिजुली बेगमा हुँइकिरह्यो । सामुद्रिक चराहरू माछा टिप्दै गरेका रङ्गीन दृश्यले हृदय आल्हादित बन्यो ।

किनाराबाट निकै टाढाको दूरीमा पुगेपछि डाल्फिनहरू देख्न थालियो । प्रायः जोडी जोडी डाल्फिनहरू फुत्तफुत्त बाहिर निस्किँदै, समुद्रभित्र पस्तै गरेका दृश्यले मोटरबोटमा यात्रा गर्ने हामी सबैलाई रोमाञ्चित बनायो । हातहातमा रहेका मोबाइल क्यामरामा डल्फिनका फोटो कैद गर्न होडबाजी चलेको थियो ।  भनिन्छ डल्फिन माछा मानिसपछिको सबैभन्दा बुद्धिमान प्राणी हो रे । सायद हामी उसकै दर्शन गर्न आएको मेसो बुझेर हामी चढेको मोटरबोटको आसपासमा अनगन्ती डल्फिनका हुलहरू नाचिरहे, नाचिरहे । करिब एक डेढ घण्टाको सागर शयरपछि बोम जिससको महागिर्जाघर हेर्न जान्छौँ । बोम जिसस अर्थात् नेक या शिशु जिससको नाममा बनेको उक्त गिर्जाघरको निर्माण सन् १५९४ मा सुरु भएर सन् १६०५ मा समापन भएको कुरा त्यहाँको स्तम्भ फलकले देखाएको थियो । तीन तलाको विशाल अनि भव्य गिर्जाघरको बाहिरी आवरण बसाल्ट पत्थर जडित थियो । रोमन चिन्न आईएचएले ग्रिक भाषामा इसामसिंहाको नाम सङ्केत गरेको थियो भने सन्त फ्रान्सिस जेबियरको काष्ठमूर्ति पनि उत्तिकै मनमोहक थियो । त्यहाँबाट निस्केर अक्वाढ फोर्टको ऐतिहासिक किल्ला अवलोकन गर्न डाँडामा निस्किन्छौँ तर समयले हामीलाई छोड्दै लगेको थियो । अर्थात् दिउँसोको एक बज्न लागिसकेको थियो । बिहान खाएको नास्ताले छोडिसकेको थियो । रातमाटे पहाडमाथि उभिएको ढुङ्गे चट्टान निर्मित किल्ला ई.स. १६१२ मा निर्माण भएको रहेछ । पोर्तुगाली भाषाबाट नामकरण भएको आक्वाढ किल्ला पानीजहाजलाई खानेपानी आपूर्ती गर्न बनाइएको थियो । पोर्तुगाली भाषामा अक्वाढको अर्थ पानी जम्मा गर्ने ठाउँ हुँदोरहेछ । सन् १९७६ पछि पानी जहाजहरूले पानी आपूर्तीको वैकल्पिक व्यवस्था गरेपछि यो किल्ला पर्यटकका लागि एक अवलोकन केन्द्र र चलचित्र सुटिङका लागि उपयुक्त थलो बनेको रहेछ । बाहिरी  परिसरबाटै यो कुरा बुझेपछि हामी धेरै भोकाएका कारण सरासर होटलको खोजीमा लाग्यौँ ।

ओम साइसागर नामको होटलमा पसेर टन्न दाल, भात, तरकारी, रोटी दही खाएपछि शिथिल अङ्गप्रत्यङ्गमा ऊर्जाको प्राणरस सञ्चरण भयो । त्यसपछि गोवाकै चर्चित बिच क्यान्डोलिना बिच गइयो । अत्याधिक रूपमा युरोप अमेरिकाका खैरे जातिले भरिएको यस बिचमा गोरागोरेनीहरू मर्दन आनन्दमा आकण्ठ डुबेका थिए । पहिले मनाचिन्त्य रूपमा सामुद्रिक छालमा पौडिने, जलक्रिडा गर्ने त्यसपछि समुद्र किनारामै व्यवस्था गरिएका खाट र बेडिङ विस्तारामा डङ्ग नाङ्गै पल्टिएर घाममा शरीर सेकाउने अनि शरीरलाई तेल मालिस गराउँदा रहेछन् । गोरागोरेनीहरूको शरीरलाई हरिमुस्ले इन्डियनहरूले मालिस गरेको दृश्य देख्ता यस्तो लाग्थ्यो– अझै पनि भारत अङ्ग्रेजहरूको औपनिवेशिक शासन व्यवस्थाबाट मुक्त भएको रहेनछ । हजारौँ खैरेहरूको खुट्टा थिचिरहेका छन् भारतीयहरू । हुन त यो सबै पैसा र रोजीरोटीका लागि गरिएको काम थियो । गोराहरू मालिक पल्टेर मालिसमर्दन गराउने यो परम्परा चार सय वर्षअघिदेखि सायद गोवा राज्यमा अझ कायमै छ । मर्दन आनन्दको स्वाद लिनै सायद खैरे खैरिनीहरू दूरदेशबाट यो थलोमा आउँदा रहेछन् जस्तो लाग्यो ।

स्वस्तिक क्रुजको टिकट हाम्रोे बिहानै बनिसकेको थियो । क्यान्डोलिना बिचलाई बाईबाई गर्दै हामी ठीक ४ बजे स्वस्तिक क्रुजमा चढ्छौँ । तिनतले पानीजहाजमा माथिल्लो तलेमा बसेर क्रुजको यात्रा गर्छौं । समुद्रका  चारैतिर छरिएको रङ्गीन साँझको सुनौलो दृश्यले अर्कै संसारमा डोर्‍याइरहेको थियो । अनेकन देशका, अनेकन जाति, भाषा, संस्कृतिका  मानिसहरू हामी एकसाथ क्रुजमा थियाँै । विश्व भाइचाराको एक अपूर्व संयोग र समागममा हामी सामेल थियाँै । त्यसघडी राष्ट्र, राष्ट्रियता, जाति, भाषा, संस्कृति नामको सङ्कुचित मानसकिताले बिदा लिएको थियो । संसारका करिब चार हजार मानिससित क्रुजमा एकसाथ भेट भएको थियो । थोपो सागरमा विलिन भएजस्तो म पनि सागरमा विलीन हुँदैथे । मनोजगत्का क्षुद्रताहरू मेटिएर अनुभूतिको व्यापकतामा रमिरहेको थिएँ म । मान्छे मान्छेबीचको अपूर्व मिलन थियो त्यो । 

त्यो रातको खाना खान हामीलाई मनोज स्वामीले आमन्त्रण गरेका थिए । दरभङ्गा आसपासमा घर भएका मनोजजी पेसाले एक कुशल इन्जिनियर रहेछन् । ज्ञानसाहिल र  जीवन मेहमानका घनिष्ट मित्र भएकाले हाम्रो टोलीलाई नै खानाको लागि निम्ता गरिएको थियो । एक विशाल अपार्टमेन्टको पाँचौँ तलामा लिफ्टबाट पुग्यौँ हामी ।

मनोज स्वामीका दुवै दम्पत्तीको न्यानो अतिथ्यता र सत्कार विर्सिनसक्नु थियो । अनेकन विषय र सन्दर्भमा कुराकानी चल्यो । उनीहरू पनि नेपाल आउन आतुर थिए । हामीले छिट्टटै आउन आमन्त्रण गर्‍यौँ । भोजन, भलाकुसारी र प्रेमिल भेटलाई समापन गर्दै बासका लागि आफ्नै कोठामा फक्र्याै ।

करिब १५ लाख जनसङ्ख्या भएको गोवामा वर्षको पचास साठी लाख विदेशी पर्यटकहरू यो थलोमा ओइरिँदा रहेछन् । नेपालजस्तो मुलुकले अझै पनि सालको बाह्र पन्ध्र लाख पर्यटकहरू देशमा उतार्न सकेको छैन । सुन्दर पर्यटकीय नगरीका रूपमा गोवा त्यसै विख्यात भएको होइन, यसको भूगोल, प्रकृति, संस्कृति र पर्यटन विकासमा सम्पूर्ण पूर्वाधारको समृद्ध अवस्थाले संसारका मानिसहरू एकचोटि गोवा पुग्ने सपना पाल्छन् ।

आफ्नो देशबाट यात्रामा प्रस्थान गर्दा पुसको मध्य जाडोमा शरीरभरि न्याना, ताता र मोटा कपडा पहिरेर निस्केका हामी त्यहाँ पुग्दा चैतको जस्तो गर्मीमा हपहपी पाकेका थियाँै । कोट, सुइटर, ज्याकेट फुकालेर झोलामा घुसारी सकेका थियौँ । सामुद्रिक जलवायुको रिठ्ठो ज्ञान थिएन हामीलाई । बुझ्दा थाहा भयो– सूर्य दक्षिणायन भएकाले गर्मी भएको रहेछ । त्यस्तो ठुकठुकी मुटु कपाउँने जाडो कहिल्यै हुन्न रे यो ठाउँमा । रोमाञ्चित त त्यो दृश्यले बनायो, गोवाका ग्रामीण वस्तीहरूमा धमाधम धानको बीउ काढेर रोपाइँ चलिरहेको थियो । आँप फुलिरहेको थियो । काहीँकाहीँ थेबे खान लायकका आँपका कलिला दानाहरू झुलिरहेका थिए । पुसमा रोपाइँ भएको दृश्य र आँप फलेको दृश्यले भूगोल र हावापानीको विविधता र विपरीत अवस्थालाई नजिकबाट अवलोकन गरेँ । नेपालमा पुसमा धान रोपाइँ, पुसमा गर्मी र पुसमा आँप फल्ने कुरा कल्पना पनि गर्न सकिन्न ।

गोवामा मलाई विमुग्धकारी मनोदशामा उतार्ने अर्काे चिज थियो भने नरिवलको सुरम्य हरियाली थियो । समुद्र किनाराको नुनिलो पानी र माटो पिएर हुर्किने यस फललाई नेपालमा रोप्ता जरामा नुन हाल्नुपर्ने कुराको रहस्य अलिअलि थाहा पाएँ । नरिवलको जीनमा समुद्रको नुनिलो पानीको हिस्सा छ । जीनमा समुद्रदेखि नुन लिएर आएको विरुवाले नेपालमा नुन खोज्नु र नुन हाल्नु अस्वाभाविक लागेन । किनभने नेपाली माटोमा त सामुद्रिक नुनिलोपन छँदैछैन ।

पुस १४ गते गोवालाई अन्तिम बिदाइ गर्नुथियो हामीले । गोवाबाट करिब साढे पाँच सय किलोमिटरको यात्रा ट्याक्सीबाट छिचोल्ने निर्णय गर्‍यौँ । आश्रमकी निरजा माँजीले नेपाली खाँदा पहिर्‍याएर हामीलाई गोवाबाट बिदाइ गर्नुभयो । इन्जिनियर मनोजजीले हामीले चाहेअनुसारका गाडीको बन्दोबस्त गरिदिनुभयो । चियानास्ता गरेर नौ बजे पुनातर्फ लाग्यौँ । गोवाको सीमा काटेपछि कर्णाटकको भूगोलमा गुडिरहेका थियाँै । पहाड, जङ्गल, खेतबारी, बस्ती, शहर छिचोल्दै निरन्तर गुडिरह्यौँ, गुडिरह्यौँ । गोवाबाट जाङ्बोटीसम्म पुग्दा घनाजङ्गलको आनन्दमा निमग्न डुबिरहेँ । जेट विमानको आकाशे आनन्द, जलसागरको सामुद्रिक आनन्द, अनि घनाजङ्गलभित्र गुड्नुका छुट्टाछुट्टै आनन्दलाई मुटुभरिभरि बोकेर म आफ्नै आनन्दको सहेली बनिरहेको थिएँ ।

जाङ्बोटीको सानो स्टेसनमा चिया पिएर हामी निरन्तर गुडिरह्यौँ । करिब दस घण्टा गुडेपछि हामी पुना पुग्नेथियौँ । कर्णाटक राज्य नकाट्तै १ बजेतिर सडक छेउको कुनै होटलमा रोकिन्छौँ । खाना खान्छौँ । हिँडेदेखि घरतिर कुनै फोनसम्पर्क र संवाद हुन सकेको थिएन । जीवन मेहमानको इन्डियन सिमबाट घरमा छोरा र रेणुलाई सम्पर्क गरेँ । र सङ्क्षिप्त कुराकानी भयो । राति नौ बजे पुना आइपुगियो । पहिल्यै बुक भइसकेको होटल लोटसमा आफ्ना झोला झ्याम्टा थन्क्याइयो । मेरो रूपमार्टनर ओमकार अग्रवाल र म एउटा पञ्जावी ढावामा गएर दाल, रोटी पनिर खायौँ । होटलमा आएर विश्राम गर्दा १२ बजिसकेको थियो ।

पुनास्थित ओशो इन्टरनेसनल मेडिटेसन रिसोर्टमा १५ देखि १८ गतेसम्मका चारदिन रोकिनु थियो । बुद्धपुरुष ओशोले प्रतिपादन गरेका ध्यानका विधि र कलाहरू सिक्नु थियो । ओशोले लामो समय व्यतित गरेको कम्युनलाई नजिकबाट अवलोकन गर्नुथियो ।

१५ गते बिहानै हाम्रो सम्पूर्ण टोली मेडिटेसन रिसोर्टमा पुग्यो । आवश्यक कागजी प्रक्रिया पूरा गरेर प्रवेश पास बनाउने काम गरियो । त्यसपछिका चार दिन मेडिटेसन साधनामा समर्पित भएँ । सुरु दिन बुद्धा ग्रोभमा हुने डान्स सेलिब्रेसनमा सहभागी बनेँ । त्यसपछि च्याङ्त्सु भवनको साइलेन्स सिटिङ, अडिटोरियमको कुण्डलिनी मेडिटेसन इभिनिङ मिटिङ, गौरीशङ्कर मेडिटेसनमा सहभागी बनेँ । राति प्लाजा क्याफेमा आयोजित मेडिडेटर्स ट्यालेन्ट कार्यक्रमको अवलोकन पनि गरेँ । दोस्रो दिन हामी नयाँ व्यक्तिका लागि मेडिटेसन रिसोर्टमा प्रवेश पास दिइएको थिएन । पार्कमा टहलिएर कोठामा विश्राम गरेर दिन कटाएँ । त्यसपछिका दुई दिन घनिभूत रूपमा ध्यान साधनामा डाइनामिक मेडिटेसन, साइलेन्ट सिटिङ, झेन आर्चरी, विपस्सना मेडिटेसन, पुनः साइलेन्ट सिटिङ, कुण्डलिनी, इभिनिङ मिटिङ, देववाणी मेडिटेसन, कलाप्रदर्शनी, सांस्कृतिक कार्यक्रमको दर्शक श्रोता र भोक्ता भएर समयलाई सार्थक रूपमा सदुपयोग गरियो ।

संसारका विभिन्न देशका हजारौँ युवायुवती ध्यानको खोजीमा आएको दृश्य आफैँमा आल्हादकारी थियो । संसार दिनपारदिन अशान्त, विक्षिप्त र  तनावग्रस्त बन्दोछ । अहिलेको महत्त्वाकाङ्क्षी शिक्षाले प्रविधिको विकासले मान्छेको मौलिक आनन्द र शान्तिलाई अपहरण गरेको छ । देशदेशावरबाट यस थलोमा हजाराँैको सङ्ख्यामा ध्यान सिक्न मानिसहरू ओइरिँदा रहेछन् । यो दृश्य साँच्चै गज्जबको दृश्य लाग्यो मलाई । चार दिनको पुना बसाइ अत्यन्त सार्थक र स्वादिला बने मेरा लागि । गोवाको बसाइ बहिर्मुखी भएर बित्यो भने पुनाको बसाइ अन्तर्मुखी यात्राको निम्ति सहायक बन्यो ।

मजा लाग्दा लाग्दै आनन्द रसमा डुब्दाडुब्दै घर फर्किने समय हुन लागेको थियो । पुस १९ को प्लेन टिकट बुकिङ थियो । मुम्बईबाट बागडोगरा उड्नु थियो । पुनाको लोटस होटलमा ४ बजे नै हामी जागा भयाँै । छिटोछिटो नित्यकर्म भ्याएर साढे चारबजेको गाडी समात्यौँ । पुनाबाट मुम्बईसम्म करिब डेढ सय किलोमिटरको दूरी छिचोल्नु थियो । ११ बजेको फ्लाइट थियो । ड्राइभरहरूले अत्यन्त द्रुतगतिमा हामीलाई हुइँक्याएर ९ बजे मुम्बई नगरी ओरालिदिए । उनीहरूले भनेका थिए– यदि बिहानीको खुल्ला सडकमा गइएन भने समय अलिकति ढिलो भयो भने दिन छिप्पिँदै जाँदा सवारीको कारण रोड जाम हुन थाल्छ, जसले गर्दा तपाईंहरूको प्लेन छुट्ने सम्भावना पनि हुन्छ ।

उनीहरूलाई मुरीमुरी धन्यवाद दियौँ, किनभने हामीलाई निर्धारित समयमै मुम्बई ल्याइदिए । ट्याक्सीहरू फर्किने बेलामा ट्याक्सी ड्राइभरले एउटा सानो ह्यान्डब्याग लिएर आयो । यो व्याग छोड्नुभएछ भनी फिर्ता दियो । हामै्र यात्रुदलका माधव पोखरेलजीको ब्याग गाडीमै छुटेछ । सधन्यवाद उसलाई बिदाइ गरियो । ऊ फर्केपछि ब्याग खोल्दा त्यसभित्रको पर्स थिएन । पर्समा चार पाँच हजार नगद र दुईटा बैङ्कका एटीएम कार्ड, सवारी लाइसेन्स जस्ता महत्त्वपूर्ण कागजातहरू लैजान भ्याएछ । ज्ञानसहिल र जीवन मेहमानले गाडी मालिकलाई फोन गरेर सो कागजातहरू फिर्ता गराउनको लागि अन्तिमसम्म पहलकदमी लिनु भयो तर त्यसमा सफलता हात लागेन र बरु विकास स्वामीजीले नेपालतर्फका बैङ्कमा फोन गरेर खाता रोक्काको काम गराइदिनु भयो ।

इमानदारिताको नाटक गरेर वैमान गर्ने चालकको हर्कत साँच्चै कुटिल थियो । आखिर माधवजीले चित्त बुझाउनुभयो । चित्त नबुझाउनुको अर्काे विकल्प पनि बाँकी थिएन । त्यहीँ झमेला गर्नतिर लाग्दा यता प्लेन छुट्ने खतरा थियो ।

मुम्बईबाट ठीक एघार बजे बागडोगरा उडियो । करिब दुई बजे बागडोगरा अवतरण भएपछि सीधै धुलाबारी आयौँ । जोर्वा क्याफेमा खाना खाँदा चार बजिसकेको थियो । रिजर्ब ट्याक्सीमा हतारहतार आफ्ना झोलाझ्याम्टा कोचेर घरतिर बाटो लाग्दा घडीले पाँच हानिसकेको थियो । तर मनिषको ननस्टप हँकाइले ९ बजे घरमा उतारिदियो । दालरोटी खाएर ओछ्यानमा ढल्किएँ ।

यस यात्राले नवीन ऊर्जाको सञ्चरण गर्‍यो मभित्र । सार्थक यात्रा सुन्दर यात्राका प्रेमिल धुनहरू हृदयका भित्तामा यति अमिट भएर रहन्छन् । ती धुनहरू कहिल्यै मेटिन्नन् । गोवादेखि पुनासम्मको यात्रामा बजेका सिम्फोनीहरूले मलाई आजीवन सिङ्क्रोनाइज गरिरहेछ । यस कुरामा दुई मत छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप