शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङका १६ पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

रतुवामाई नगरपालिकामा भने विवादका कारण बजेट प्रस्तुत हुन सकेन
शनिबार, ११ असार २०७९, १२ : ५२
शनिबार, ११ असार २०७९

मोरङका १६ स्थानीय तहले कूल १६ अर्ब ३७ करोड ३० लाख ८४ हजार ८ सय ३९ रुपैयाँ बराबरको बजेट ल्याएका छन् । रतुवामाई नगरपालिकाले भने विवादका कारण निर्धारित समय असार १९ गते नै बजेट ल्याउन सकेन । 

चालू आर्थिक वर्षमा अन्य १६ पालिकाको बजेट १७ अर्ब ६० करोड ५५ लाख ८४ हजार ४ सय ५९ रुपैयाँको बजेट आएको थियो । चालू आर्थिक वर्षको भन्दा यो वर्ष बजेटको आकार घटेको छ । कोभिड महामारीको समयमा पनि बढाएर बजेट ल्याउने केही पालिकाहरुले यसपटक त्यो भन्दा सहज परिस्थिति हुँदा पनि बजेट घटाएका छन् । 

बजेट घटाउने पालिकाहरुमा विराटनगर महानगरपालिका, सुन्दरहरैंचा र लेटाङ नगरपालिका तथा कानेपोखरी, मिक्लाजुङ र कटहरी गाउँपालिका रहेका छन् । सबैभन्दा बढी विराटनगर महानगरपालिकाले बजेटको आकार घटाएको छ । दोस्रो नम्बरमा सुन्दर हरैंचा नगरपालिकाले पनि बजेटको उल्लेख्य आकार घटाएको छ । सुन्दरहरैंचाले चालू आर्थिक वर्षको भन्दा ६४ करोड २६ लाख बजेट घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । 

बजेट बढाउने पालिकामा भने पथरीशनिश्चरे नगरपालिका शीर्ष स्थानमा छ । उक्त पालिकाले झण्डै ४० करोड बजेट बढाएको छ । यस्तै बुढीगंगा गाउँपालिकाले पनि बजेटको आकार १६ करोडभन्दा बढीले बढाएको छ । 

बजेट ल्याउने मोरङका ७ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट सुन्दरहरैंचाकै रहेको छ । सुन्दरहरैंचाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँ बजेट ल्याएको छ । दोस्रो ठूलो बजेट ल्याउने नगरपालिका भनेको बेलबारी हो । बेलबारीले १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४ सय ३३ रुपैयाँको बजेट ल्याएको छ । यस्तै बजेटको आकार अप्रत्याशित बढाएको पथरीशनिश्चरे नगपालिकाको बजेटको आकार तेस्रो नम्बरमा छ । उक्त पालिकाको जम्मा बजेट १ अर्ब २७ करोड १५ लाख ४१ हजार ४४ रहेको छ । 

गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट केराबारी गाउँपालिकाको रहेको छ । चालू आर्थिक वर्षभन्दा २ करोड ५ लाख बढाउँदै उक्त पालिकाले ८२ करोड ९५ लाखको बजेट ल्याएको छ । गाउँपालिकाहरुमा दोस्रो ठूलो बजेट ल्याउने अर्को पालिका भनेको मिक्लाजुङ गाउँपालिका हो । मिक्लाजुङ गाउँपालिकाले चालू आर्थिक वर्षको भन्दा ८ करोड ७ लाख ७६ हजार ८ सय २६ रुपैयाँ बजेट घटाउँदै ७० करोड ६६ लाख ९६ हजारको बजेट ल्याएको छ । 

तेस्रो नम्बरमा रहेको बुढीगंगा गाउँपालिकाले भने चालू आर्थिक वर्षको भन्दा १६ करोड ९२ लाख ६१ हजार ५ सय २० रुपैयाँ बजेटको आकार ७० करोड २४ लाख ८१ हजार पुर्याएको छ । मोरङमा सबैभन्दा कम बजेट ल्याउनेमा भने कटहरी गाउँपालिका बनेको छ । कटहरी गाउँपालिकाले चालू आर्थिक वर्षको भन्दा ४ करोड ५२ लाख  ९१ हजार बजेट घटाउँदै ५० करोड ४ लाख ४१ हजार ६ सय रुपैयाँ बजेट ल्याएको छ । अन्तिमबाट दोस्रो नम्बरमा भने ग्रामथान गाउँपालिका रहेको छ । सो गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड २२ लाख रुपैयाँ रहेको छ । 

मोरङका कुन पालिकामा कति बजेट ? हेर्नुहोस् तथ्याङ्क 

रतुवामाई नगरपालिकमा सँधै झगडा
यसैबीच मोरङको रतुवामाई नगरपालिकामा भने बजेटको विषयमा सँधै जस्तै यस पटक पनि विवाद भएको छ । नवनिर्वाचित नगर प्रमुख नागेश्वर प्रसाद सिंहले समितिहरु निर्माण नगरी बजेट ल्याउन कोशिष गरेको भन्दै कार्यपालिका सदस्यहरुले विरोध गरेपछि बजेट आउन नसकेको हो । 

सिंह नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हुन् । पालिकामा उपप्रमुखसहित ११ जना एमालेका सदस्य छन् । यस्तै माओवादी केन्द्रबाट ४ जना कार्यपालिका सदस्य छन् । पालिकाको निर्वाचनमा काँग्रेस र माओवादीले गठबन्धन गरेर एमालेसँग प्रतिस्पर्धा गरेका थिए । यद्यपि कार्यतालिकाको निर्वाचनमा भने काँग्रेससँग एमाले र माओवादी मिलेर प्रतिस्पर्धा गरेका थिए । अहिले पनि काँग्रेस एकलौटी ढंगले जान खोजेको भन्दै एमाले र माओवादीले मोर्चा कसेका छन् ।

अहिलेसम्म ३ वटा कार्यपालिकाको बैठक बसेको भएपनि विषयगत समिति निर्माणमा सहमति जुट्न नसकेको बताइएको छ । ‘विभिन्न आन्तरिक विषयमा समिति गठन गर्ने विषयमा एकता हुन सकेन । बजेटको विषयमा मलाई कुनै सूचना पनि छैन । बजेट कसरी बनिरहेको छ भन्ने पनि जानकारी पनि छैन,’ नगरपालिकाकी उपप्रमुख दमयन्तादेवी चुँडालले बताइन्, ‘सबै विषयगत समिति बनाएर बजेट निर्माणको विषयमा हामीले सूचना पाउनुपर्छ भन्ने विषयमा हामीले माग गरेका थियौं । त्यो विषयलाई बेवास्ता गरेको भनौं कि कौशलता नपुगेको भनौं हामीलाई सूचना आएको छैन ।’

पालिका प्रमुखले समन्वय नगरेकै कारण बजेट नआएको बताइन् । ‘हामी दुई तिहाई बहुमतमा छौं । हामीलाई बेवास्ता गरेको अवस्था छ,’ उनले भनिन्, ‘कार्यपालिका चुनावबाट एमाले र माओवादीबीच कार्यगत एकता हुँदै आएको छ ।’

यसअघि पनि उक्त पालिकामा नेपाली काँग्रेसका रविन राईले प्रमुख पदमा विजयी बनेका थिए । त्यसबेला बहुमत कार्यपालिका सदस्य नेपाली काँग्रेसका थिए । ०७९ को वैशाखमा सम्पन्न निर्वाचनबाट भने कांग्रेसबाट प्रमुखमा सिंह विजयी बनेका भएपनि कार्यपालिकामा बहुमत छैन । बहुमत सदस्यहरुको समर्थन लिनुको साटो पेल्न खोजेपछि समस्या आएको एमाले र माओवादी समर्थकको भनाइ छ । ‘पहिले हामी थोरै थयौं । अहिले हामी बहुसंख्यक हुँदा पनि त्यो समस्या दोहोरिनु हुँदैन भन्ने जनताको अपेक्षा र गुनासो छ,’ उपप्रमुख चुँडालले भनिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप