शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’गीत सार्वजनिक, पुष्प र श्रद्धाको रोमान्स

शनिबार, ११ असार २०७९, ११ : १२
शनिबार, ११ असार २०७९

फिल्म ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दीपक वली निर्देशित फिल्मको गीतमा रवि ओड र सुनिता कार्कीको स्वर, डा.डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । गीत एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय देख्न सकिन्छ । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो । कार्यक्रममा अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहिनेत गरेको स्मरण गर्दै ‘ए मेरो हजुर..’ पनि दर्शकले अधिक मन पराउने विश्वास ब्यक्त गरे ।

‘फिल्म तथा गीतका लागि मिहिनेत गर्न कत्ति पनि कञ्जुस्याइँ गरेका छैनौ,’ उनले भने, ‘हाइ अल्टिच्युडमा समेत हामीले ज्यानको पर्वाह नगरि काम गर्यौ । अहिले पर्दामा हेर्दा त्यतिबेला गरेको दुःख सबै बिर्सिएको छु ।’ उनले चलचित्रमा आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए ।

त्यसैगरी, यो नै आफ्नो प्रदर्शन हुन लागेको डेब्यु चलचित्र भएकाले आफू निकै उत्साहित रहेको अभिनेत्री श्रद्धाले बताइन् । उनले ‘कृष्ण–लीला’ को अघिल्ला गीतले दर्शकको मन जितिसकेकाले यो गीतले पनि माया पाउने बिश्वास ब्यक्त गरिन् । 
कार्यक्रममा वरिष्ठ फिल्म निर्देशक नरेश पौड्याल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, फिल्म वितरक तथा निर्माता गोपालकाजी कायस्थ तथा फिल्म प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘ए मेरो हजुर..’ निकै सुन्दर लागेको प्रतिक्रिया दिँदै ‘कृष्ण–लीला’ लाई सफलताको शुभकामना ब्यक्त गरे ।

प्रस्तुतकर्ता रोहित कट्टेलले कोरोना कालमा निकै दुःखका साथ ‘कृष्ण–लीला’ निर्माण गरेको स्मरण गर्दै आफूहरु अब चलचित्र निर्माणमा निरन्तर लाग्ने बताए । भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने फिल्ममा पुष्प र श्रद्धाको अलवा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बाल कलाकार आयुष गुरागाईं मुख्य भूमिकामा छ । 

नेपालको इलाम, पाँचथर तथा झापाका रमणीय स्थानमा छायाङ्कन गरिएको फिल्म शिव ढकालले खिचेका हुन् भने सम्पादन अर्जुन जिसीले गरेका हुन् । लक्ष्मण सुवेदीको लेखन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी रहेको फिल्म  आरआर फिल्मस्ले वितरण गर्दैछ ।  रंग पत्रकार लक्ष्मण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार, कलाकार र फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप