शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा

शनिबार, ११ असार २०७९, ०७ : ००
शनिबार, ११ असार २०७९

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । 

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

“गाउँपालिकाभित्र २१६ वटा पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएका छौँ”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, “कुइनेमङ्गले–८ मा रहेको चौरखानी, चिमखोलाको–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामको लागि मुख्य प्राथमिकतामा रहेको छ ।”

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोका उच्च जोखिममा रहेका र ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गरेर कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।   

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराेकाे उच्च जोखिममा रहेका स्थानीयवासी  दीपक कार्कीले बताउछन् । 

यसैगरी ५२ घर रहेको रघुगङ्गा ८ चौरखानीमा हाल ३० परिवारको बसोबास छ । पहिरोको त्रासकै कारण आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा गएर बसेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिराले चौरखानीमा सामुदायिक भवन र एउटा घर भत्केका वडासदस्य यामकुमारी घर्तीले बताउछिन् ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए । 

यस्तै रघुगङ्गा ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । वस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए । बर्सात हुने बित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् ।

कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयमा नबन्दा पूरै पाखो खस्न थालेको छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा कोठा लिएर बसेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।

यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् ।  गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडकखण्ड खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको हो ।

चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो तर अहिले त्यसको कुनै नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।

गाउँपालिकाभित्र रहेका सबै २१६ वटा पहिरोको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र स्थानीय तहले पनि पहिरो नियन्त्रण तथा रोकथामका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप