ad
x

म त मान्छे नै परें

person explore access_timeअसार ११, २०७९ chat_bubble_outline0

म सुँगुर भैदिएको भए 
सानोतिनो आहालको साम्राज्यमा 
रमेर 
मुटुको सञ्चार खल्बलिन नदिएरै 
मान्छेले थुपारेका फोहोर 
अमृतपान गरेरै 
मान्छेलाई 
प्रशान्त महासागर तुल्याई दिन्थें 
हिमालको सुन्दरता 
वरिपरि लेपिदिन्थें 
यो भूभागको छेउछाउमा  
पर पर मात्र 
मेरो आफ्नो स्वर्ग 
बसालिदिन्थे 
मान्छेको अमरावती अविछिन्न राख्न ।
अपसोच !
म त मान्छे नै परें ।



म गिद्ध भैदिएको भए 
मान्छेले चपाउन नभ्याएर 
चपाउन नसकेर 
फालेको वा 
नदेखेर अलग्गिएका 
हड्डी, मासु 
जेसुकै होस् 
तह लगाएर 
दुर्गन्ध आफैले पचाएर 
तिनलाई नाक लुकाएर
हिँड्नुपर्ने अवस्थाबाट 
नाक नभैदिए बेस हुन्थ्यो 
सोचबाट
उहिल्यै मुक्त गरिदिन्थें 
प्रजातन्त्र आए जसरी
अथवा दुर्गन्ध जस्तै 
फैलिएको भ्रष्टाचारबाट 
अपसोच !
म त मान्छे परें ।  



ठूला कुरा किन गर्नु !
सानो कमिला नै 
भैदिएको भए म 
दुर्गन्ध ब्याउने 
ती खानालाई 
बटुल्दै बटुल्दै 
बथान बथानको 
जुलुस उठाउँदै 
आआफ्ना 
गुँडभित्र 
तिनलाई 
प्रवेशाज्ञापत्र बिना नै 
फटाफट निम्त्याइदिन्थें 
र, मान्छेलाई 
आँखा फेरेर हिँड्नुपर्ने 
बाध्यतामुक्त बनाइदिन्थें 
अपसोच  !
म त मान्छे परें ।

निर्जीव सल्फ्युरिक एसिड पनि 
हुन सकिन 
यो निर्लज्जसँग फैलिरहन सक्ने
रोगलाई निम्त्याइ रहने 
वातावरणलाई हाँक दिइरहने
मान्छेलाई त्रासको 
घृणित अनियन्त्रित 
यन्त्रणा दिन सक्ने 
बेलाबेला चुलिरहने 
मान्छेलाई अछूत मानेर 
परपरै रोक्न सक्ने 
यो फोहराधिराजको 
फुइँलाई 
हरघडी गलाएरै छाड्थें । 
अपसोच  !
म त मान्छे परें ।    
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।