बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

६ महानगरपालिकामा कसले कस्तो बजेट ल्याए ?

महानगरको बजेट ४४ प्रतिशतले वृद्धि
शुक्रबार, १० असार २०७९, २२ : ५३
शुक्रबार, १० असार २०७९

कुल ७५३ स्थानीय तहहरु मध्ये ६ वटै महानगरपालिकाहरुले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन् । संविधानतः अन्तरसरकारी वित्त व्यवस्था ऐन, २०७२ अनुसार स्थानीय तहले आर्थिक वर्षको बजेट अघिल्लो वर्षको असार १० गतेभित्र ल्याइसक्नुपर्छ । सोही व्यवस्था बमोजिम शुक्रबार ६ महानगरपालिकाले नगर सभामार्फत बजेट सार्वजनिक गरेका हुन् । 

मूलतः यतिखेर ६ वटा महानगरपालिकाले कस्तो बजेट ल्याए ? सबैको चासोको विषय बनेको छ । खासगरी स्थानीय तह निर्वाचन, २०७९ पछि निर्वाचित नयाँ जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो बजेट ल्याउँदै गर्दा सोप्रति सबैको चासो बढेको हो । यो स्वभाविक पनि हो । 

६ महानगरपालिकामध्ये भरतपुर र ललितपुरबाहेक अन्य ४ वटा महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ । भरतपुर महानगरपालिकामा यसअघिकै मेयर नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल पुनः निर्वाचित भएकी छन् भने ललितपुर महानगरपालिकामा पनि नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन पुनः दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । बाँकी चारवटा महानगरपालिकाहरुमा भने नयाँ नेतृत्व आएको छ । 

काठमाडौं महानगरपछिकै दोस्रो ठूलो पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का धनराज आचार्य आएका छन् भने विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइराला, वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर बालेन्द्र साह (बालेन) नेतृत्वमा आएका छन् । यसपटकको बजेटको चासो अझ बढी काठमाडौं महानगरपालिका केन्द्रित भएको छ ।

काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा ३४ प्रतिशतले बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बजेट बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । 

पूर्वाधार विकासका लागि कुल विनियोजित बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको महानगरले प्रशासनिक खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार (२०.९६ प्रतिशत) छुट्याइएको महानगरले जनाएको छ । 

यस्तै आर्थिक विकास कार्यक्रमका लागि कुल बजेटको २.२४ प्रतिशतले हुन आउने ५० करोड २१ लाख २४ हजार रुपैयाँ समेत विनियोजन गरिएको उपप्रमुख सुनिता डंगोलले बताइन् । स्रोत व्यवस्थापनतर्फ भने महानगरको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजार बाहेक संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने महानगरले जनाएको छ । यस्तो आम्दानी सञ्चित कोष बाहेक ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहने महानगरको भनाइ छ ।

पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ३९.८२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बजेट ल्याएको थियो । 

आगामी आर्थिक वर्षका लागि महानगरले ल्याएको कुल बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । 

यसो गर्दा अपुग हुने २ अर्ब ४० करोड ८१ लाख ८३ हजार रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने महानगरले बताएको छ । 

ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १४ प्रतिशतले बढी बजेट ल्याएको छ । शुक्रबार नगर सभामार्फत महानगरपालिकाले कुल ६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ५५ करोड ५५ लाख ९५ हजार रुपैयाँ बजेट ल्याएको थियो । 

भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार महानगर उपप्रमुख चित्रसेन अधिकारीले उक्त बजेट सार्वजनिक गरेका हुन् । जुन चालु आर्थिक वर्षको बजेट भन्दा १९.३९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको स्रोत व्यवस्थापन तर्फ भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त गर्ने अनुमान गरेको छ भने, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।

विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा ४७ करोड ४७ अर्ब ७१ लाख रुपैयाँ कम बजेट ल्याएको छ । प्रदेशले आर्थिक वर्ष २०७९/८० का लागि कुल ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट कार्यान्वयनको स्रोत सुनिश्चितताका लागि प्रदेशले आम्दानी तर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्त शुल्क गरी २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रेसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारी साधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार प्राप्त गरिने बताएको छ । 

यस्तै गरी सशर्त अनुदान संघीय सरकारबाट ७२ करोड १७ लाख, प्रदेश सरकारबाट ९० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट १ करोड ४० लाख, करुणा फाउन्डेसनबाट ९० लाख, युएनएफपिए आइपास सिएमसीबाट २० लाख, सडक बोर्डबाट १ करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजस्व १ अर्ब, जनसहभागिता ८ करोड र नगर विकास कोषबाट १० करोड १९ लाख रुपैयाँ ऋण लिइने जनाएको छ । 

वीरगञ्ज महानगरपालिका
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा ६.१२ प्रतिशतले कम हो । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । समग्र महानगरको खर्चको संरचना, स्रोतको सीमितताका कारण पनि आगामी आर्थिक वर्षका लागि महानगरले केही बजेट घटाएको देखिन्छ ।

शुक्रबार महानगरको नगरसभामा प्रस्तुत कुल बजेट मध्ये चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप