बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांघाईमा परीक्षणका क्रममा तेस्रो तलाबाट खस्यो कार , चालकसहित दुईको मृत्यु

शुक्रबार, १० असार २०७९, २१ : ५६
शुक्रबार, १० असार २०७९

चिनियाँ विद्युतीय कार कम्पनी निओले सांघाईमा रहेको आफ्नो कम्पनीको मुख्यालयको तेस्रो तल्लाबाट कार खसेर दुई जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी मृत्यु हुने एकजना कम्पनीका कर्मचारी र अर्का साझेदार कम्पनीका कर्मचारी रहेको कम्पनीले जनाएको छ ।

घटना स्थानीय समयअनुसार बुधबार साँझ ५ः २० मा भएको कम्पनीले जनाएको छ । कार तेस्रो तलाबाट खस्दा चालकसहित दुई जना सवार थिए । नियोले आफूले तत्काल सरकारी अधिकारीसँग मिलेर घटनाको अनुसन्धान सुरु गरेको बताएको छ । कार खसेको भवनको तेस्रो तल्ला कम्पनीको शोरुम, टेस्टिङ सेन्टर र कार पार्किङका लागि प्रयोग भइरहेको थियो ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ः ‘कम्पनीले सार्वजनिक सुरक्षा विभागसँगको सहकार्यमा यस विषयमा अनुसन्धान थालेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । दुर्घटनास्थलको प्रारम्भिक विश्लेषणले यो एक दुर्घटना रहेको र यसमा कारको भूमिका नरहेको पुष्टि भएको छ ।’

विज्ञप्तिमा ‘दुर्घटनामा गाडीको भूमिका नरहेको’ भन्ने कम्पनीको टिप्पणीप्रति चिनियाँ सामाजिक सञ्जालमा मानिसहरूले असन्तुष्टि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले यसबारेमा लेखेका छन् : ‘विज्ञप्तिले पुँजीवादको चरित्र देखाउँछ ।’ अर्को कमेन्टमा लेखिएको छ : ‘विज्ञप्तीको अन्तिम वाक्य कति निर्ममताका साथ लेखिएको छ । मरेका कर्मचारी गाडीको परीक्षण गरिरहेका थिए अनि सोही गाडी झरेपछि तपाई दुर्घटनाका लागि गाडीको भूमिका नरहेको कसरी भन्न सक्नुहुन्छ ?’

विज्ञप्तीको आलोचना भएपछि कम्पनीले आफ्नो मुल वक्तव्यको ‘दुर्घटनामा कारको भूमिका नरहेको’ नरहेको भन्ने भागलाई ब्राकेटभित्र राखेको छ, शायद सो भागलाई कम प्राथमिकता दिएको पार्न होला ।  एक सामाजिक सञ्जाल प्रयोगकर्ताले दुर्घटनास्थलबाट नजिकैको अर्को भवनबाट दुर्घटनास्थलको तस्बिर पोष्ट गरेका छन्, जहाँ कार खसेको तल्लालाई रातो घेरामा राखिएको छ ।

नियो एक चिनियाँ विद्युतीय वाहन निर्माता कम्पनी हो । यसले चीनको विद्युतीय कार बजारमा प्रभुत्व जमाउन टेस्लासँग प्रतिस्पर्धा गरिरहेको छ ।  सांघाईमै टेस्लाको एक ठूलो कारखाना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप