शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतन अधिकार खारेज, करोडौं अमेरिकी महिला प्रभावित हुने

शुक्रबार, १० असार २०७९, २१ : ०७
शुक्रबार, १० असार २०७९

अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रुपमा गर्भपतनलाई कानुनी संवैधानिक सुरक्षा दिने ५० वर्ष पुरानो फैसलालाई खारेज गरेको छ । यो निर्णयका कारण करोडौं अमेरिकी महिलाहरूले गर्भपतनको कानुनी अधिकार गुमाउने छन् ।

अदालतले सन् १९७३ को रो भर्सेस वेड निर्णयलाई खारेज गर्ने तयारी गरेको कागजात लिक भएको केही समयपछि त्यसै अनुरुपको निर्णय गरेको छ । निर्णयले अमेरिकामा गर्भपतन अधिकारलाई बदलिनेछ, अब गर्भपतनसम्बन्धमा हरेक राज्यले आफ्नै कानुन बनाउन सक्छन् ।  रिपब्लिकन पार्टीको सरकार रहेका राज्यले यसअघि नै गर्भपतनलाई प्रतिबन्ध लगाइसकेका या त्यस्तै कानुन ल्याउने प्रयास गरिरहेका थिए । ती राज्यमा गर्भपतन गर्न चाहनेलाई यसअघि ‘रो भर्सेस वेड’ले संरक्षण गर्दै आएको थियो ।

अब अमेरिकाका आधा आधा राज्यले गर्भपतनलाई प्रतिबन्ध लगाउने वा पहिलेभन्दा सिमित गर्ने कानुन ल्याउने अपेक्षा गरिएको छ । सर्वोच्च अदालतको आजको फैसलाले प्रजनन उमेरका करिब ३ करोड ६० लाख महिलाका लागि गर्भपतन पहुँचबाट बन्चित हुने गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्था ‘प्लान्ड पेरेन्टहुड’को अनुसन्धानले देखाएको छ । सन् १९७३ को ऐतिहासिक रो भर्सेस वेड मुद्दा तत्कालिन सर्वोच्च अदालतका न्यायाधीशहरुमाझ मत विभाजन भएर सात–दुई मतले पारित भएको थियो ।  

उक्त निर्णयले अमेरिकी महिलाहरूलाई गर्भावस्थाको पहिलो तीन महिनामा गर्भपतन गर्ने पूर्ण अधिकार दिएको थियो भने दोस्रो त्रैमासिकमा केही नियन्त्रण र तेस्रोमा निषेधको गरेको थियो । तर पछिल्ला दशकमा, गर्भपतन विरोधी फैसलामार्फत एक दर्जनभन्दा बढी राज्यहरूमा गर्भपतनमाथिको पहुँच कडाई गरिएको थियो । 

न्यायाधीशको राजनीतिक नियुक्ति गर्ने देश
अमेरिकाको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित नौ न्यायाधीश हुने व्यवस्था छ । तिनको चयन राजनीतिक आस्थाका आधारमा हुने गरेको आरोप लाग्छ । न्यायाधीश जुन दलका राष्ट्रपतिले गरे, तिनको झुकाव सोही दलको विचार नजिक हुने मानिन्छ । हाल सर्वोच्च अदालतका नौमध्ये ६ जना रिपब्लिकन पार्टीका राष्ट्रपतिले प्रस्ताव गरेका हुन् भने तीन जनलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपतिले । रिपब्लिकन पार्टी पछिल्लो समय गर्भपतनलाई नियन्त्रण गर्नुपर्ने लाइनमा ढल्किन थालेको छ ।

निर्णयले अन्य समाजिक क्षेत्रमा पनि पार्छ प्रभाव
अमेरिकी सर्वोच्च अदालतको निर्णयले समलिङ्गी विवाह, यौन र सम्भवतः गर्भनिरोधक साधनमा पनि पर्नेछ । अर्थात निर्णयपछि निजी जीवनका अन्य क्षेत्रहरूमा पनि प्रतिबन्धहरू ल्याउने चिन्ता व्यक्त गरिन थालेको छ । अन्तर्राष्ट्रिय रूपमा यो निर्णयपछि अमेरिका सन् १९९४ पछि गर्भपतन प्रतिबन्ध लगाउने चार देशमध्ये एक बनाउने छ । सेन्टर फर रिप्रोडक्टिभ राईट्सका अनुसार अमेरिकाबाहेक अन्य देशहरू पोल्याण्ड, निकारागुआ र एल साल्भाडोर रहेका छन् । यसले विश्वव्यापी रूपमा महिला र युवतीको अधिकारको पक्षमा वकालत गर्ने अमेरिकाको क्षमतालाई पनि असर गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप