शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरगढी गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख

शुक्रबार, १० असार २०७९, २० : ५६
शुक्रबार, १० असार २०७९

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ६७ करोड ४४ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार बसेको गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनमा पालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली)ले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।

पुँजीगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालूतर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्षमा किसानलाई कृषि परिचयपत्र लागू गर्ने, स्थानीय उत्पादनमा प्रतिकेजी २ रुपैयाँ अनुदान दिने, एक वडा एक कृषि÷पशु प्राविधिक सेवा दिने, दूधमा प्रतिलिटर २ रुपैयाँ दिने, कृषिमा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, एक गाउँ एक उत्पादनको अवधारणा अनुरुप कार्यक्रम सञ्चालन गर्ने तथा दुध र मासुजन्य उत्पादनमा जोड दिने योजना अघि सारेको छ ।

त्यसैगरी पालिकाले एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, सहकारीमा उद्यम सिर्जना गर्न उत्पादनसँग जोड्ने कार्यक्रम तयार गर्ने भएको छ । पालिकामा उद्योग वाणिज्य संघ गठन गर्दै साना उद्योग दर्ता गरी सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई विभिन्न परिकार बनाई बजारीकरण गर्ने, ८ वटै वडामा रहेका सबै पर्यटन स्थललाई थप विकास गर्न आवश्यक काम अघि बढाउने, बुढीचौरमा प्याराग्लाइडिङ तथा बन्जीजम्पको लागि सम्भाव्यता अध्ययन गर्ने योजना ल्याएको छ ।

पालिकाले छात्रा शैक्षिक अनुदान कार्यक्रम संचालन गर्ने र छात्रवृत्ति उपलब्ध गराउने, जनता माविमा सिभिल इन्जिनियरिङ र आइटी विषय अध्यापनको व्यवस्था मिलाउने, एक विद्यालय एक बाल उद्यान कार्यक्रम सञ्चालन गर्ने र विद्यालय क्षेत्रमा जंक फुडलाई पूर्णरुपमा निषेध गर्ने कार्यक्रमहरु ल्याउने भएको छ ।

एक विद्यालय एक नर्स कार्यक्रमलाई थप प्रभावकारी बनाई विस्तार गर्ने, ८ वटै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गरी विस्तार गर्ने, निर्माणाधीन पालिकाको अस्पताललाई आवश्यक जनशक्ति र उपकरणका लागि पहल गर्ने, गाउँघर क्लिनिक कार्यक्रम सञ्चालन गर्ने, एक घर एक धारा कार्यक्रम र एक घर एक पक्की शौचालय कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ ।

पालिकाभित्रका सबै जातजातिको भाषा, कला र संस्कृति संरक्षण र विकासमा जोड दिइ लामा नाच प्रदर्शन तथा पञ्चेबाजा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकास्तरीय खेलकुद समिति गठन गरी रंगशाला निर्माण गर्ने तथा एक वडा एक खेलकुद मैदान निर्माणलाई जोड दिने पालिकाको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप