ad
x

पौडीको अन्तराष्ट्रिय प्रतिस्पर्धाकै बीचमा खेलाडी बेहोस भएर डुबेपछि....

person explore access_timeअसार १०, २०७९ chat_bubble_outline0

अमेरिकी पौडीबाज अनिता अल्भारेज बुधबार बुढापेष्टमा जारी वर्ल्ड च्याम्पियनसिपको एक प्रतिस्पर्धाका क्रममै बेहोस भइन् । उनी विस्तारै डुब्दै गएपछि पौडी पोखरीको डिलमा रहेकी उनको कोच एन्ड्रिया फुन्टेसले उद्दार गरेकी छन् । 


न्युयोर्ककी २५ वर्षीया अल्भारेज आस्र्टिस्टिक स्वीमिङ अन्तरगतको एकल प्रस्तुतको अन्तिम समयमा बेहोस भएकी थिइन् । त्यसपछि उनको अचल शरीर पिँधतर्फ डुब्न थालेको थियो ।  ‘कुनै लाइफगार्ड पानीमा हाम नफालेपछि म अघि सरेँ,’ स्पेनकी चार पटककी ओलम्पिक स्वर्ण विजेता कोच फुन्टेसले स्पेनिस पत्रिका मार्कालाई भनिन् । 



फुन्टेसले पानी बाहिर निकालेपछि पनि अल्भारेजले दुई मिनेटसम्म स्वास नफेरेपछि भने आफूलाई डर लागेको बताइन् । तथापि पछि उनको स्थिति समान्यवस्थामा फर्किएको थियो ।
अहिले फुन्टेसको शीघ्र निर्णयको प्रशंसा भइरहेको छ । 

फुन्टेसका अनुसार अल्भारेजले पोखरीमा होस गुमाएको पहिलो पटक होइन । गत वर्ष ओलम्पिक छनौटको अभ्यासका क्रममा पनि अन्तिम समयमा उनले होस गुमाएकी थिइन् । त्यस समय उपचारको एक घण्टापछि उनी पुन अभ्यासमा फर्किएकी थिइन् । यस पटक पनि उनी दुई दिनपछिको खेलमा फर्किने आशा व्यक्त गरिएको छ । दुई पटक ओलम्पिकमा सहभागी भइसकेकी अल्भारिजको वर्ल्ड च्याम्पियनसिपमा यो चौथो सहभागिता हो । 

त्यस समय पनि फुन्टेसले पुरै कपडामा पोखरीमा हाम फालेर आफ्नी शिष्यलाई पानीबाट निकालेकी थिइन् । बुधबार सर्ट र टी–सर्टमा रहेकी कोचले पुन आफ्नी शिष्यलाई बचाइन् । 
पोखरीबाट निकालेपछि अल्भारेजलाई चिकित्सकीय उपचार गरेको र त्यसपछि स्टेचरमा राखेर थप मूल्यांकनको अस्पताल लगिएको बताइन् । 

‘यस्तो कुरा अन्य उच्च क्षमता प्रदर्शन गर्नुपर्ने खेलकुदमा पनि हुन्छ ,’ फुन्टेसले भनिन् ,‘म्याराथुन, साइक्लिङ आदी खेलहरुमा पनि केही खेलाडीहरु अन्तिम बिन्दुसम्म पुग्न सक्दैनन् र तिनलाई अरुले त्यहाँ पु¥याउन सघाउँछन् । पौडीमा पनि कहिलेकाँही त्यस्तै हुन्छ ।’

अल्भारेजले टेलिभिजनमा बोल्ने क्रममा प्रतियोगिताको कसिलो समय तालिकाका कारण आफू बेहोस भएको प्रतिक्रिया दिएकी छन् । 
‘जसरी खेल तालिका मिलाइएको छ, त्यसले गर्दा म त्यस दिन र अर्को दिन गरी दुई प्रतिस्पर्धामा सहभागी हुने एक्ली खेलाडी भएँ । शारिरिक तथा भावनात्मक कारणबाहेक पोखरीको पानी पनि निक्कै तातो थियो र त्यसमा क्लोरिन पनि कडा थियो ,’ अल्भारेजले भनिन् । 

स्रोतः द न्युयोर्क टाइम्स

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।