मेयर बालेन्द्रले बढाए ३४ प्रतिशतले काठमाडौं महानगरको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा ३४ प्रतिशतले बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार अनुमानित बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ ल्याएको हो ।
पूर्वाधार विकासका लागि कुल विनियोजित बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको महानगरले प्रशासनिक खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार (२०.९६ प्रतिशत) छुट्याइएको महानगरले जनाएको छ । यस्तै आर्थिक विकास कार्यक्रमका लागि कुल बजेटको २.२४ प्रतिशतले हुन आउने ५० करोड २१ लाख २४ हजार रुपैयाँ समेत विनियोजन गरिएको उपप्रमुख सुनिता डंगोलले बताइन् ।
स्रोत व्यवस्थापन तर्फ भने महानगरको सञ्तिकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४१ हजार बाहेक संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँड र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने महानगरले जनाएको छ । यस्तो आम्दानी सञ्चित कोष बाहेक ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहने महानगरको भनाइ छ ।