बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन र हर्कलाई हाम्रो पार्टीमा ल्याउन प्रयास गर्छौं : रवि लामिछाने

शुक्रबार, १० असार २०७९, १६ : ५८
शुक्रबार, १० असार २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा प्रकार सम्मेलन गर्दै उनले भने, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’ 

उनीहरु मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभएको लामिछानेको भनाइ छ । ‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनी भन्छन्, उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन । उहाँहरुले काम गरिराख्नु भएको छ ।’ 

यस्तै बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको भन्दै उनीहरुलाई काम गर्न दिनुपर्ने लामिछानेले बताए । उनले भने, ‘उहाँहरुलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’ राजनीतिबाट आएका मान्छेबाट मात्र राजनीति सफल हुन्छ भन्ने भाष्य  परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने उनले बताए । लामिछानेले भने, ‘उहाँहरुको सफलताले त्यसलाई परिभाषित गर्छ, प्रमाणित गर्छ । हामीले उहाँलाई सफल कार्यकालको शुभकामना दिने हो ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरु २४ घण्टा तयार हुने बताए । उनले भने, ‘हाम्रो पार्टीमा ल्याउन नल्याउने भन्दा पनि उहाँहरुको कार्यकालको सफलता हाम्रा लागि प्राथमिकताको कुरा हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप