शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना

शुक्रबार, १० असार २०७९, १६ : ४६
शुक्रबार, १० असार २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एकपटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको सुनाए ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताए ।

‘तपाईहरुले भनेको कुरा तपाईंहरुको आर्शिवाद हो भने अर्कोपटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ । किनकि मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु’, प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे । ‘पहिलोपटक प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दै गर्दै नौं महिला बितिगो’, प्रचण्डले भने, ‘दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ ।’

उनले त्यसबेला देशको राष्ट्रिय एकतानै के हुने हो भन्ने बेलामा मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा नभएको बताए । ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साँढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन । सबै जातजाति, क्षेत्र, भाषा, समूदायको एकतालाई सुदृढ गर्दै लोकतन्त्रको सुदृढीकरणको प्रक्रियामा अघि बढने कुरा पनि अव बाँकी जीवन देशको आर्थिक विकास र समृद्धिको निम्ति सबै क्षेत्रको समृद्धिको यात्रा सुरु गर्ने मनसायको साथ राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना बोकेर अवको जीवन बिताउने मैले भनेको थिएँ’, प्रचण्डले थपे, ‘जुन प्रयोग निकै ठूलो साहसका साथ गरिएको थियो । त्यो सफल भएन ।’

उनले वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना सफल नभएको बताए । मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको भन्दै प्रचण्डले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गरे । उनले पर्यटन क्षेत्रलाई उद्योगको रुपका विकास गरी त्यसलाई सहुलियत दिन पनि सरकारसँग पहल गरिदिन प्रचण्डलाई पटकपटक आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप