शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा लोडसेडिङको समस्या समाधान गर्न कुलमानसँग गुहार

शुक्रबार, १० असार २०७९, १६ : ३४
शुक्रबार, १० असार २०७९

कुलमान घिसिङले अघिल्लो कार्यकालमा विद्युत लोडसेडिङको अन्त्य गरेको भनिएपनि कर्णालीवासी भने अझै पनि विद्युत लोडसेडिङको चर्को मार खेपिरहेका छन् । विद्युतका पुराना संरचना जीर्ण बन्दै लोडसेडिङको समस्या चर्को छ । 

अन्तको कुरा त त्यस्तै हो प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा समेत उपभोक्ता लोडसेडिङको मारमा छन् । देशका अन्य शहर–बजार झिलिमिली भइरहँदा पटक पटक हुने विद्युत अवरोधले हरेक क्षेत्रमा समस्या हुने गरेको छ । तर, यसको विकल्प र समाधान खोज्नतर्फ भने सरोकारवाला निकायले मौन छन् । विद्युत प्राधिकरणको सुर्खेत शाखाले मिनेट र घण्टाको फरकमा आफ्नो फेसबुक पेजमा विद्युत गएको जानकारी दिने गरेको छ ।  

कर्णालीमा एक त विद्युतीकरण नै भएको छैन, भएको बिजुलीले पनि नागरिकलाई विद्युतीकरणको प्रत्याभूति दिन सकेको छैन । कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाइनको संरचना पुरानो भइसकेको छ । जसले गर्दा यहाँ विद्युत अवरुद्ध हुनका लागि कुनै ठुलो कारण चाहिँदैन । तीन दशकदेखि रहँदै आएको विद्युतको समस्या हालपनि जस्ताको त्यस्तै रहनु कर्णालीवासीको विडम्बना हो,’सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल भन्छन्,‘ कमजोर पुर्वाधारको भरमा बाँकेको कोहलपुरबाट वनक्षेत्र हुँदै विस्तार गरिएको विद्युत आपुर्ति सामान्य हावाहुरी र वर्षातले समेत हप्तादिनसम्म अवरुद्ध हुने गरेको छ । विद्युत आइरहेको समयमा पनि सामान्य हावाहुरी सामान्य मोटर कलपुर्जा चलाउन नमिल्ने गरी बत्ती आउने हुँदा यस क्षेत्रको उद्योगहरूले अपेक्षित रुपमा उत्पादन गर्न नसक्दा राज्यलाई समेत आर्थिक नोक्सानी भइरहेको छ ।’ 

बत्ती हुँदा पनि एक्कासी भोल्टेज बढ्ने घट्ने भइरहँदा मेसिन उपकरण बिग्रिने पड्किने समस्यालाई सुर्खेतको निजी क्षेत्रलाई वर्षौंदेखि पिरोलिरहेको कँडेलले बताए । यद्यपि यो समस्या निजी क्षेत्रको मात्र होइन सबैको समस्या हो । 

दीर्घकालिन समस्या समधानका लागि १३२ केभिए प्रशारण लाइन बन्नुपर्ने
कर्णालीवासी चर्को लोडसेडिङको मारबाट चाँडो मुक्त हुन चाहन्छन् । तर त्यो तत्काल सम्भावना देखिँदैन । त्यसका लागि १३२ केभिए प्रशारण लाइन बन्नुपर्ने छ । गत सोमबार मात्र मन्त्रिपरिषदको निर्णयले कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइनभित्र पर्ने रुख कटानको लागि अनुमति दिएको छ । यो सँगै विद्युत प्रशारण लाइन विस्तारका लागि बाटो खुलेको छ । तर यो आयोजना बन्न अझै दुई बर्ष लाग्ने देखिन्छ । कोहलपुर–सुर्खेत १३२ केभीए प्रशारण आयोजना प्रमुख रवीकुमार चौधरीले १३२ केभिए प्रशारण लाइनमा विद्युत प्रवाह गर्न अझै दुई बर्ष जति लाग्ने बताउँछन् । 

यो आयोजना अन्तर्गत ५२ किलोमिटर प्रशारण लाइनभित्र १३ हजार ५६ वटा रुखहरु कटान गर्नुपर्ने छ । आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान गरिने छ । यसको प्रक्रिया नै आगामी कार्तिकसम्म मात्र पुरा हुने उनको भनाइ छ । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा ठेक्का लिएको छ । आयोजना बाँकेको कोहलपुर सव–स्टेशनबाट शुरु भएर सुर्खेतको धुलियाविट सव–स्टेशनमा पुगेर टुंगिने छ । सुर्खेतमा रहने सव–स्टेशनमा जग्गाको क्षेत्रफल ४ हजार हेक्टर छ । यो आयोजना पुरा नभएसम्म विद्युत लोडसेडिङको समस्या उस्तै हुने देखिन्छ । 
लोडसेडिङ हटाउन कुलमान घिसिङसँग निजी क्षेत्रको माग 

लोडसेडिङको चर्को मारले निजी क्षेत्रलाई नराम्रोसँग क्षति भइरहेको भन्दै सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतले शुक्रबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ज्ञापन–पत्र बुझाएको  छ । १३२ केभिए प्रशारण लाइन नबन्दासम्म व्यवस्थित तरिकाले विद्युत सेवा प्रदान गर्न अनुरोध गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए । सुर्खेत लगायत जाजरकोट र दैलेखसम्मको निजी क्षेत्र र आम उपभोक्ताले वर्षौंदेखि भोग्दै आएको यस अवस्थालाई गम्भीर रुपमा लिइ समस्याको दीर्घकालिन समाधानको विकल्प नहुँदासम्म विद्युत नियमित तथा आवाश्यकता अनुसार वितरण गर्नका लागि आवश्यक व्यवस्थापनसहितको सहयोग गरिदिन अनुरोध गरिएको ज्ञापन–पत्रमा उल्लेख छ । 

जवाफमा कुलमानले कर्णालीको विद्युतको समस्या समाधानका लागि लागिपरेको बताएका थिए । घिसिङले १३२ केभिए प्रशारण लाइन अबको १८ महिनामा तयार हुने विश्वास जगाएका थिए । त्यहाँसम्म वर्तमान अवस्थामा भइरहेको अघोषित लोडसेडिङ नहुने गरी कामकारबाही अघि बढाउने पनि उनले बताए । ​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप