शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हड्डी बलियो बनाउन चाहनुहुन्छ भने दैनिक खानुहोस् यी तीन चिज

शुक्रबार, १० असार २०७९, ११ : ४१
शुक्रबार, १० असार २०७९

धेरैले हिँड्दा वा उठ्दा– बस्दा जोर्नी दुखाईको सामना गरेको हुनसक्छ । तपाईंलाई पनि यस्तै हुन्छ भने यसले तपाईंको पनि हड्डी कमजोर भइसकेको छ भन्ने कुरातर्फ इशारा गर्छ । विशेषगरी वृद्धवृद्धाले आफ्नो जोर्नी र हड्डी दुख्ने गरेको बताउँछन् । उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् । यो प्राकृतिक नियम पनि हो । तर अब जवान व्यक्तिहरुमा पनि हड्डीसम्बन्धी समस्या देखिने थालेको छ । दौडधुपको जीवनशैलीमा मानिसहरुले आफ्नो ख्याल राख्न भ्याउँदैनन्, त्यसले पनि समस्या निम्त्याउँछ । हड्डी बलियो बनाउनका लागि क्याल्सियम अत्यावश्यक मानिन्छ । शरीरमा क्याल्सियमको कमी हुँदा हड्डी र जोर्नीमा दुखाईको सामना गर्नुपर्ने हुनसक्छ ।

यस्ता समस्यासँग जुध्नका लागि तपाईंले आफ्नो खानामा केही विशेष तर सहज उपलब्ध खाने कुराहरु समावेश गर्नुपर्ने हुन्छ । हुन त बजारमा विभिन्न खालका सप्लिमेन्ट पनि उपलब्ध छन् तर सप्लिमेन्टभन्दा पनि प्राकृतिक खानेकुरामार्फत् नै हड्डी स्वस्थ बनाउन हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ ।

किन आवश्यक छ स्वस्थ हड्डी ?

हाम्रो हड्डी लगातार परिवर्तन भइरहने गर्छ । शरीरमा नयाँ हड्डी बन्दा पुराना हड्डी टुट्न थाल्छन् । तपाईं जवान हुँदा पुरानो हड्डी टुट्दा पनि नयाँ हड्डी निकै छिटो बढ्ने गर्छ । साथै, बोन मास (हाड घनत्व) पनि बढ्छ । तर उमेर बढेसँगै हाड घनत्व त बढ्छ तर जवानीको जस्तो तीब्र रुपमा बढ्दैन । उमेर बढेसँगै एक समयपछि अस्टियोपोरोसिसको समस्या हुन थाल्छ । अस्टियोपोरोसिस एउटा यस्तो रोग हो जसमा हड्डी असाध्यै कमजोर हुन्छ र यो निकै सजिलै भाँच्चिने गर्छ ।

यी तीन चिजले हड्डीलाई स्वस्थ बनाउँछ

भारतकी पोषणविद् नमानी अग्रवालले यसबारे एक भारतीय सञ्चारमाध्यमसँग कुराकानी गरेकी छिन् । यसलाई हामीले अनुवाद गरेर यहाँ साझा गरेका छौँ ।

नमानी अग्रवालले स्वस्थ हड्डीका लागि तीन चिजको सेवन गनुपर्ने सुझाएकी छिन् । ती हुन्

तिल

तिलमा फस्फोरस र क्याल्सियमको मात्रा अत्यधिक हुन्छ जसले हड्डीलाई स्वस्थ बनाउने काम गर्छ ।

गेडागुडी

गेडागुडीले  हड्डीका लागि पावर हाउसको रुपमा काम गर्छ । यसमा म्याग्नेसियम, क्याल्सियम र फस्फोरस हुन्छ जसले हड्डीलाई स्वस्थ बनाउने काम गर्छ । त्यसैले आफ्नो खानामा तपाईंले राजमा, भटमासजस्ता चिज समावेश गर्नुहोस् ।

कोदो

कोदो क्याल्सियमले भरपुर हुन्छ जुन तपाईंको हड्डीका लागि निकै राम्रो मानिन्छ । कोदोको तपाईं रोटी, ढिँडो आदि बनाएर खान सक्नुहुन्छ ।

यी खानेकुरा पनि दैनिक खानुहोस्

यी तीन चिजबाहेक, यहाँ यस्ता खानेकुराबारे पनि जानकारी दिइएको छ जसलाई तपाईंले दैनिक खानुपर्ने हुन्छ । यसबारे जानकारी लिऔँ

भुँइकटहर

भुँइकटहरमा पोटासियमको अत्यधिक मात्रा पाइन्छ जुन शरीरमा बन्ने एसिडको स्तरलाई सन्तुलित बनाउने गर्छ र क्याल्सियमको कमी हुनबाट रोक्छ । यसमा भिटामिन एको मात्रा अत्यधिक पाइन्छ ।

पालुङ्गो

पालुङ्गोमा क्याल्सियमको मात्रा धेरै हुन्छ जुन हड्डी र दाँतका लागि फाइदाजनक हुन्छ । दैनिक एक कप पकाएको पालुङ्गो खानुहोस् । यसले तपाईंको शरीरमा २५ प्रतिशतसम्म क्याल्सियमको कमी पूरा हुनसक्छ । यसबाहेक पालुङ्गोमा आइरन र भिटामिन एको मात्रा पनि धेरै नै पाइन्छ ।

नट्स

क्याल्सियम स्वस्थ हड्डीका लागि अत्यावश्यक तत्व हो । नट्समा क्याल्सियमका साथै फस्फोरस र म्याग्नेसियम पनि हुन्छ । म्याग्नेसियमले शरीरमा क्याल्सियमलाई अवशोषित गर्न मद्दत गर्छ ।

केरा

केरा म्याग्नेसियमको निकै राम्रो स्रोत मानिन्छ । यो तत्वले हड्डी र दाँतलाई स्वस्थ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यदि तपाईंलाई आफ्नो हड्डी कमजोर भइरहेको छ भन्ने महसुस हुन्छ भने दिनमा एउटा केरा  खानुहोस् ।

मेवा

सय ग्राम मेवामा ३० एमजी क्याल्सियम पाइन्छ । मेवा पाचन क्रियाका लागि फाइदाजनक त हुन्छ नै यसले हड्डीलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले मेवालाई पनि तपाईंले आफ्नो खान्कीमा समावेश गर्नुपर्छ । तर यसलाई एकैपटक धेरै मात्रामा नभई दिनदिनै थोरै मात्रामा खाइराख्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप