वैदिक कथा : महर्षि वशिष्ठ यसरी महान् बनेका थिए
धनी हुनु, धनसम्पत्ति कमाउनु, कमाउनसक्नु, ठूलो पदमा पुग्नु, पुग्नसक्नु, ठूलठूला सार्वजनिक पद ओगट्नु, ओगट्ने तरक्की गर्नसक्नु मात्र महान हुनुको लक्षण होइन । यस्तो काम त पहुँच हुने, पहुँच पु¥याउनसक्ने सबैले गरेकै हुन्छन्, गरेकै छन् । महान् बन्ने भन्ने कुरा कसैले गराएर हुने होइन, भनोस् भन्दैमा हुने पनि होइन र आफूले आफैँलाई भनेर हुने कुरा पनि होइन । महान् बन्ने भन्ने कुरा काममा निर्भर गर्ने कुरा हो । यस्तो त्यतिबेला सम्भव हुन्छ जतिबेला सर्वहितकारी कार्य गर्न सकिएको छ, जसमा धैर्य, नम्रता, शिष्टता र भद्रता जस्ता निर्मल गुणहरू छन्, जसले झुकाउन होइन, झुक्न जानेको छ, सिकेको छ, जसको जीवन अरूको हितमा बितेको छ । यस्ता मानिस स्वतः महान् हुन्छन्, महान् बन्न पुगिरहेका हुन्छन् । उनीहरूलाई कसैले महान् भनोस् भन्नै पर्दैन । न कुनै धन, मान, पद आदिको वैशाखी नै चाहिन्छ ।
वेदमा एउटा कथा छ । महर्षि वशिष्ठको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी वैदिक मन्त्रद्रष्टा ऋषि हुन् । ऋग्वेदको सातौँ मण्डल उनैले देखेका सूक्त तथा मन्त्रहरूको सँगालो हो । यसैका कारण यस मण्डललाई वाशिष्ठ मण्डल भन्ने गरिएको छ ।
एकपटक पृथिवीमा लामो समयसम्म पानी नपरेर सुखा छायो । पशुपक्षी लगायत समग्र प्राणीहरूको जीवन सङ्कटमा पर्न थाल्यो । पृथिवी आफैँ पानीको अभावमा पटपट फुट्न थालिन् । नदीहरू सुक्दै गए, तलाउहरूमा सुक्दै गए । उब्जनी घट्दै गए । रुखबिरुवा वनस्पति सुक्दै गए । सुख्खाको कारण पुराना मर्दै गए नयाँ उम्रनै सकेनन् । पानी भनेको पानी मात्र होइन जीवन पनि हो, जगत पनि हो । जहाँ पानी हुन्छ त्यहीँ जीवन हुन्छ । जब जीवनको आधार पानी नै नभएपछि जीवन सङ्कटमा पर्ने नै भयो ।
पृथिवीमा हाहाकार मच्चियो । सुखा निवारण गर्ने उपायहरूका खोजी हुन थाल्यो । यसै विषयलाई लिएर महर्षि वशिष्टले ऋषिमण्डलीको धर्मसभा बोलाए, जहाँ अरण्यवासी एकसेएक ऋषिमुनिहरूको उपस्थिति थियो । महर्षि वशिष्ठले नै अध्यक्षता गरेका बैठकमा कसरी सुखाको सामना गर्ने भन्नेबारे लामै छलफल चल्यो । अन्त्यमा यसको जिम्मा महर्षि वशिष्ठलाई नै दिने निर्णय गर्दै बैठक टुङ्ग्याइयो । त्यसपछि वशिष्ठले यस्ता वैदिक मन्त्रहरूद्वारा मेघको स्तुति गरे कि तत्कालै वर्षाका मालिक मेघ खुसी भएर प्रचूर पानी बर्षाउन लागे, जसले गर्दा माता पृथिवी चाडै नै पहिले जस्तै हराभरा हुन पुगिन् ।
वशिष्ठको कार्यबाट चराचर जगत सबै खुसी भए, सबैको जीवन हराभरा भयो । वशिष्ठको सबैले तारिफ गरे । त्यसमा पनि गोमायु अर्थात् गाईको जस्तो आबाज निकालेर कराउने, अजमायु अर्थात् बाख्राको जस्तो आवाज निकालेर कराउने, पृष्णिवर्ण अर्थात् चित्रविचित्र रङ्ग भएका र हरित वर्ण अर्थात् हरिया रङ्ग भएका भ्यागुताहरू यति खुसी भए कि असीम गाई प्रदान गरी वशिष्ठको स्वागत, सत्कार तथा सम्मान गरे ।
तथापि झुक्न नजान्ने र केबल ट्यारट्यार कराएर दुनियाँलाई दिक्क पार्ने गुण भएका कारण दानी भएर पनि अर्थात् दान गर्न सक्ने भएर पनि भ्यागुताहरू भ्यागुता नै रहे, कुवाको हिलोबाट एक बित्ता माथि आउन सकेनन् तर प्रतिग्रही अर्थात् दान लिनेवाला भएर पनि वशिष्ठ महान् बन्न पुगे । दुनियाँले महान् भनेर प्रशंसा गरे ।
ऋग्वेदको मण्डल सात सूक्त १०३ को १० औँ मन्त्रमा सूक्ष्मरूपमा आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन । हुन सक्छ यसको लक्षार्थ अर्कै पनि हुन सक्छ । वशिष्ठले वनजङ्गल संरक्षण गर्ने कार्य गरेकाले समयमा पानी परेर सबैको हित भएको कुरालाई प्रसङ्गमार्फत अर्थ्याउन खोजेको पनि हुन सक्छ तर जो नम्र छ, जसमा शिष्टताको गुण छ, जसले सार्वजनिक हितमा ध्यान दिएको छ र जो निस्वार्थ भावले परहितमा समर्पित भएको छ, हुँदै आएको छ त्यस्ता मानिस स्वतः महान् बन्छन्, बन्न सक्छन् वा बन्न पुग्छन् भन्ने कुरा भने सोह्रै आना सत्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि