‘विप्लव र धर्मेन्द्रमा नौटङ्की देखियो, करोडौँ पैसाको झोला बोकेर हिँड्ने वर्ग जन्मियो’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा एकपछि अर्को गर्दै विभाजनको शृङ्खला चलिरहेको छ । गत वैशाखमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली सहितको समूह अलग भई ‘नेकपा बहुमत’ गठन गरे । उनीहरु विप्लव नेतृत्वको पार्टीबाट निस्किएको तीन महिना बित्न नपाउँदै ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरे ।
विप्लव समूहमा भइरहेको राजनीतिक गतिविधि, त्यहाँ भएको आर्थिक अनियमितता र विद्रोही समूहको आगामी यात्राका विषयमा नेता ओमप्रकाश पुनसँग रातोपाटीकर्मीले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरेको कुराकानीको सम्पादित अंशः
तपाई लगायत चार केन्द्रीय सदस्यले विप्लव समूह किन छोड्नुभयो ?
हामीले माओवादी केन्द्रसँग छलफल गरिराखेका छौं । उहाँहरूसँगै ध्रुवीकृत हुने भनेका छौं । हाम्रो अभियान जनयुद्धको जगमा खडा भएको विभिन्न चिरामा विभाजित माओवादी धारालाई एकतावद्ध बनाउने प्रयास हो । त्यो सन्देश हामीमार्फत दिन खोजेका छौं । माओवादी केन्द्रलाई सेन्टर बनाएर जान सकिन्छ । अब अरुबाट सम्भव छैन । वैद्य र विप्लवबाट त्यो अपेक्षा पूरा हुन सकेन ।
माओवादी धारा कमजोर हुँदा सडक, सदन र सरकारको मोर्चा कमजोर भए । त्यसो भएकाले ढिलोचाँडो माओवादी केन्द्रसँगै ध्रुवीकृत हुन्छौं र अरुलाई त्यही सन्देश दिन चाहन्छौं । सबैभन्दा पहिला माओवादी धाराहरु एकतावद्ध गरौं । त्यसपछि सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध र ध्रुवीकृत गर्ने अभियानमा जुट्नुपर्ने छ ।
विप्लव र प्रकाण्डप्रति किन यसरी मोह भङ्ग भयो ?
हैन, एउटा परिवेश बन्दो रहेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश एउटा ठाउँमा गयो । उदयपुर बैठकमा मैले आफ्ना कुरा राखेको थिएँ । अब एकता र ध्रुवीकरणको बाटोबाट अघि बढौं, यदि सशस्त्र संघर्षको बाटोमा हिँड्ने स्थिति होइन भने संसदको उपयोग कसरी गरेर जाने हो ? सडक र संसदको संघर्षलाई अघि बढाउन तपाईहरुका योजना के के छन् भन्ने कुरा राखेको थिएँ । त्यसमा उहाँहरु स्पष्ट रुपमा आउन सक्नु भएन ।
यता, मंसिरमा प्रदेश र संघको चुनाव हुँदैछ । उहाँहरुले असोजमा महाधिवेशन गर्ने प्रस्ताव गर्नु भएको छ । भित्री रुपमा सके पार्टी दर्ता गर्ने, नसके मोर्चा बनाएर चुनावमा जाने कुरा छ । त्यसलाई बाहिरी रुपमा खुलेर भन्न सक्नु भएको छैन । यो कताकता अकर्मण्यताजस्तो देखापर्यो । स्थानीय चुनावमा देशभक्त कम्युनिस्टहरूले जसरी हस्तक्षेप गर्नुपर्ने थियो, त्यो हुन सकेन । आगामी प्रदेश र संघको चुनावमा पनि त्यस्तै हुने देखियो ।
तपाई कुनै समय विप्लव र प्रकाण्डको अत्यन्तै निकट भएर काम गर्नुभएको हो नि ?
त्यो पार्टीमा हुँदा नेता र नेतृत्वले जे खालको नीति तथा कार्यक्रम सार्यो, त्यसलाई देशव्यापी रुपमा जस्ताको तस्तै जनताको बिचमा आफ्नो क्षमता र योग्यताले भ्याएसम्म लागु गर्ने प्रयत्न गरेकै हुँ । त्यो पार्टीमा एक घण्टासम्म हुँदा पनि पार्टीको वकालत गरेर काम गरेँ । हिजो पनि संयुक्त किसान आन्दोलनमा दिनभरि त्यतै थिएँ तर, त्यसले मात्रै पूरा भएन ।
विश्व दुई ध्रुवीय अवस्थामा गयो । काँग्रेसले देशलाई अमेरिकी ध्रुवतिर जबर्जस्त धकेल्ने प्रयत्न गरिराखेको छ । नेपालका कम्युनिस्टहरूले कुन ध्रुव समात्ने हो ? देश युक्रेन हुने स्थितिमा जाँदै छ । त्यसो भएको हुनाले यसमा हस्तक्षेपकारी भूमिका विप्लव–प्रकाण्ड कमरेडले गर्नुहुन्छ भन्ने सोचिएको थियो तर, उहाँहरुको सक्नु भएन । हुँदाहुँदा उहाँहरुले न चुनावको सम्बन्धमा सही दृष्टिकोण अगाडि सार्न सक्नुभयो, न एकता र ध्रुवीकरणलाई तार्किक निष्कर्षमा पुग्नेगरी पहल लिन सक्नुभयो । आफ्नै सानो कोटरीमा रम्ने खालको स्थिति बन्यो ।
अब प्रदेश र संघको चुनाव आउँदै छ । यसमा पनि प्रस्ट दृष्टिकोण छैन । राजनीतिक दल विरोधी ठूलो माहोल खडा हुँदैछ । राजनीतिक दल र नेताप्रति वितृष्णा बढाउने प्रयत्न योजनावद्ध ढङ्गले आइरहेको छ । समाजमा विघटन ल्याउने, एकता खलबल्याउने डिजाइन भइराखेको छ । त्यसलाई चिर्नुपर्ने छ । समयमै एकता र ध्रुवीकरण अगाडि बढाउँदै लग्यो भने विप्लव र प्रकाण्डलाई पनि सहज होला भन्ने हिसावले गरेको हो । पार्टीको काम गर्दा उहाँहरूसँगै निकट भएर काम गरेँ । पार्टीले ल्याएको नीति तथा कार्यक्रम बफादार भएर कार्यान्वयन गर्ने भएकाले मलाई त्यस्तो भनिएको हो । व्यक्तिगत रुपमा कसैसँग टाढा वा नजिक थिइनँ ।
शुद्ध मनले सशस्त्र संघर्ष गर्न गएको पार्टीमा हामीजस्ता विशुद्ध सर्वहाराहरु भयौं । हामीलाई आफ्नो जीवन चलाउन पनि धौधौ भएर क्रान्तिमा हिँड्ने भयौं । अर्को पंक्ति करोडौं पैसाको झोला बोकेर हिँड्ने वर्ग जन्मियो ।
तपाईले माओवादी केन्द्रमै विप्लव र प्रकाण्डसमेत ध्रुवीकृत हुनुपर्छ भन्ने आसयको कुरा गर्नुभयो, के उहाँहरु माओवादी केन्द्रमै आउने सम्भावना छ ?
त्यसको विकल्पै छैन । यो देश र समाजलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ भने सरकारमा होस् वा सदन र सडकमा होस्, जनयुद्धको जगमा खडा भएको माओवादी धाराबाहेक अरु कसैले नयाँ ढङ्गले सोच्न सक्दैन । २०६९ सालमा वैद्य नेतृत्वमा विभाजित भयौं । त्यसपछि २०७२ सालमा विप्लवको नेतृत्वमा विभाजित भयौं । यो ८÷१० वर्षको अवस्थामा क्रान्ति र आन्दोलनको निम्ति जे जस्तो प्रयत्न गरियो, त्यसका लागि केही बाँकी राखेनौँ । ती प्रयत्नहरु मनोगत, व्यक्तिवादी भए ।
यता, सरकार र सदनमा प्रचण्डजीहरुको धारा कमजोर भयो । हामीले बाहिरबाट गरेको मेहनत र प्रयत्नहरु उहाँहरुले सदन र सरकारबाट व्यहोरेको असफलता यी दुवै कुरालाई समीक्षा गरेर एकतावद्ध हुनैपर्छ । त्यसमा कमरेड विप्लव र प्रकाण्डले सोच्नै पर्छ ।
तर, विप्लव र प्रकाण्ड अझै क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु पर्छ भनिराख्नु भएको छ । त्यसो भए उहाँहरुले नेतृत्व गर्न सक्ने अवस्था छैन ?
मैले क्रान्तिको मोर्चा छोडेको छैन । हामीले यो पार्टी वा अर्को पार्टी दुस्मन भनेर कहिल्यै लेखेनौं । पहिला कम्युनिस्ट पार्टीहरूमा एक नम्बर, दुई नम्बर दुस्मन भनेर उल्लेख गरिन्थ्यो । गणतन्त्र आएपछि जे परिवर्तन भयो, कुनै पार्टी वा व्यक्ति भन्दा पनि एउटा दलाल वर्ग अघि आएको छ । यो सत्तालाई दलाल पुँजीवादकरण गरिराखेको छ । यसका विरुद्धको आन्दोलन र संघर्ष जारी छ । प्रचण्ड नेतृत्वको माओवादीले पनि दलाल पूँजीवादलाई समाप्त गरेर समाजवादको यात्रामा अघि बढाउनुपर्छ भनेको छ । संविधानमा पनि समाजवाद उन्मुख भनिएको छ ।
विप्लवमा हुँदा पनि दलाल वर्ग अघि आयो भन्ने निष्कर्ष निकालिएको थियो । यसलाई परास्त गर्न सबै पार्टीका इमानदार देशभक्त र क्रान्तिकारी शक्तिहरु एकजुट हुनैपर्ने छ । अबको मुख्य कुरा दलाल वर्ग विरुद्धको संघर्ष हो । समाजवादको यात्रामा अघि बढ्न दलाल वर्गको जगजगीलाई परास्त गरेर अघि बढ्नु पर्छ ।
विप्लव समूहभित्रको आर्थिक अराजकता र गुटबन्दीले आजित बनाएको त होइन नि ?
त्यो पनि एउटा कारण हो । शुद्ध मनले सशस्त्र संघर्ष गर्न गएको पार्टीमा हामीजस्ता विशुद्ध सर्वहाराहरु भयौं । हामीलाई आफ्नो जीवन चलाउन पनि धौधौ भएर क्रान्तिमा हिँड्ने भयौं । अर्को पंक्ति करोडौं पैसाको झोला बोकेर हिँड्ने वर्ग जन्मियो । हाम्रो कम्युनिस्ट आन्दोलनमा नराम्रो नजिर सत्ता बाहिर हुँदा चन्दा उठाएर जीविकोपार्जन गर्ने र आफ्नो जीवनमा समृद्धि खोज्ने भयो ।
सरकारमा हुँदा कमिसन र भ्रष्टाचारमा जीवन निर्वाह गर्न खोज्ने संस्कृति भयो । त्यो खालको प्रवृत्ति विप्लव समूहमा पनि देखापर्यो । त्यसलाई समयमै नेतृत्वले रोक्न नसकेको महसुस भयो । एकथरी कार्यकर्ता गुजारा चलाउन गाह्रो भए पनि भोकभोकै क्रान्तिको गीत गाउँदै हिँडेका छन् । अर्कोथरी पार्टीको साधन स्रोत आफ्नो कब्जामा राखेर सम्पन्नताका साथ हिँड्ने परिवेश बनेको छ । यसले पनि हामीलाई वितृष्णा जगाउने काम गर्यो ।
विप्लव नेतृत्वको नेकपा होस् वा धर्मेन्द्र नेतृत्वको पार्टी होस्, नौटङ्की देखिन्छ । काँग्रेस नेतृत्वको सरकार छ । पालो पालो डेलिगेसनमा गएका छन् । कागज बुझाएका छन् । हात मिलाएका छन् । फोटो खिचेर सार्वजनिक गरेका छन् । यो गरेको देख्दा एक ढङ्गको घृणा पैदा भयो ।
प्रतिबन्धको अवधिमा १३ जना नेता कार्यकर्ताको मृत्यु भएको छ । अझै कतिपय जेलमै छन् । तपाईहरु छिन्नभिन्न हुँदा उनीहरुको सपना पनि टुक्रा टुक्रा भयो नि ?
तपाईले गम्भीर कुरा उठाउनु भयो । केही साथीहरु अझै जेलमा हुनुहुन्छ । प्रचण्डसँगको छलफलमा यो कुरा राखेका छौं । उहाँहरुलाई पनि जनयुद्धकै सहिद सरह हुने गरी ‘सहिद’ वर्गमा राख्नुपर्छ भनेका छौं ।
विप्लव नेतृत्वको नेकपा होस् वा धर्मेन्द्र नेतृत्वको पार्टी होस्, नौटङ्की देखिन्छ । काँग्रेस नेतृत्वको सरकार छ । पालो पालो डेलिगेसनमा गएका छन् । कागज बुझाएका छन् । हात मिलाएका छन् । फोटो खिचेर सार्वजनिक गरेका छन् । यो गरेको देख्दा एक ढङ्गको घृणा पैदा भयो ।
हामीले गर्नुपर्ने, लड्नुपर्ने, भिड्नुपर्ने एउटा छ, त्यहाँ एकले अर्कोलाई खुइल्याएर आफू सही साबित गर्ने कोसिस भइराखेको छ । एकले अर्कोलाई धुलोपिठो बनाउने खेलहरु खेलिएका छन् । यसले कार्यकर्तामा वितृष्णा पैदा गर्यो । हामीले जुन सुन्दर सपना देखेका थियौं, हामीजस्ता इमानदार नेता कार्यकर्तालाई वितृष्णा पैदा भएपछि यो ठाउँमा जानुपर्ने बाध्यता भयो ।
माओवादीमा आएपछि केही दिने आश्वासन पाउनु भएको छ कि छैन ?
केही पनि कुरा भएको छैन । प्रचण्ड कमरेडसँग २/३ राउण्ड कुरा भयो । सबै विषयमा छलफल भयो । जनतामा फर्किएको पार्टी र जनतामा जरा गाडेको पार्टी बनाउनुपर्छ भन्ने छ । म आफै संसदमा जाने, मन्त्री भएर रमाउने नेता होइन, जनताको बीचमै रमाउन मन पराउँछु । हामीले कुनै शर्त राखेका छैनौं । निःशर्त माओवादी आन्दोलन पुनर्गठन गर्ने र केन्द्रीकृत गर्ने विषयमा छलफल गरेका छौं । पार्टीले कुन मोर्चा समाउने जिम्मेवारी दिन्छ, त्यसैलाई लिएर जनतामा जाने हो ।