शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

बिहीबार, ०९ असार २०७९, १९ : १८
बिहीबार, ०९ असार २०७९

राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा सुरु भएको  छ ।  असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको बिहीबार उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन् । 

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविस्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी छन् ।

कार्यक्रमको संयोजन गरेका अनुसन्धानदाता टीकाराम भण्डारीले यस पटकको राष्ट्रिय सम्मेलन मधेश विशेष रहने जानकारी दिए । उनले भने, ‘राष्ट्रिय सम्मेलन भए पनि यस वर्ष मधेशमा क्रियाशील स्थानीय अनुसन्धानदाता र विद्यार्थीलाई बढी केन्द्रित गरेका छौं ।’सम्मेलनमा कृषि, औषधि, विज्ञान, प्रविधि, नवप्रवर्तन सम्बन्धी प्रस्तुति रहने छ ।  विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानको क्षेत्रमा क्रियाशीलहरु सम्मेलनमा सहभागी छन् ।

शुक्रबारको दिन हाइस्कुलका सिनियर र जुनियर विधामा प्रतिस्पर्धात्मक प्रस्तुति रहने भण्डारीले बताए । उत्कृष्ट ठहरिने जुनियर समूहले विदेशमा आयोजना हुने एसिया प्यासिफिक वैज्ञानिक सम्मेलनमा सहभागी हुन पाउने छन् । यो सम्मेलन यस पटक रुसमा हुनुपर्ने भए पनि रुस–युक्रेन द्वन्द्वका कारण मिति निश्चित भइसकेको छैन । कार्यक्रमको पहिलो दिनको सत्रमा मुख्यमन्त्री राउत, मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह , पूर्व विज्ञान मन्त्री गणेश शाह, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी लगायत सहभागी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप