बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लामो पर्खाइपछि कोरोनाविरुद्धको खोप पाइयो, नडराइ बच्चालाई लगाऔँ’

बिहीबार, ०९ असार २०७९, १८ : २९
बिहीबार, ०९ असार २०७९

सरकारले ५ देखि १२ वर्ष वर्षमुनिका बालबालिकाका लागि सुरु गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छ । अभिभावकहरुले लामो  प्रतीक्षापछि खोप पाउँदा खुसी लागेको भन्दै अब बालबालिका कोरोनाबाट सुरक्षित हुने आशा जागेको प्रतिक्रिया दिएका छन् । 

बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएपछि राजधानीको बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालय पुगेका अभिभावक नारायण लामिछानेले ढिलै भएपनि बच्चाहरुले खोप पाएकोमा खुशी व्यक्त गरे । उनले खोप लगाउँदा बालबालिका डराएको जस्तो देखिएपछि यसको केही साइड इफेक्ट नगर्ने डाक्टरहरुले भनेकाले आत्तिन जरुरी नरहेको बताए । 

‘कोभिड–१९ विरुद्धको खोप पाँच वर्षदेखि १२ वर्षमुनिको बालबालिकालाई लामो समयको पखाईपछि सरकारले उपलब्ध गराएको छ’, उनले भने, ‘आफ्नो बच्चालाई सबैले खोप लगाउनुपर्छ ।’ आफ्नो बच्चालाई समयमा नै खोप लगाए ।

कोरोनाभाइरसबाट बचाउन सकिने उल्लेख गर्दै उनले भने, ‘खोप लगाउन डराउनु पर्ने अवस्था पनि छैन । यसले कुनै साइड इफेक्ट पनि गर्दैन ।’ सोही विद्यालयकी शिक्षिका शारदा लामिछानेले विद्यार्थीहरु खोप लगाउन डराएपनि आफूहरुले विद्यार्थी तथा अभिभावकलाई सम्झाइबुझाइ गरेर खोप लगाउन प्रेरित गरेको रातोपाटीलाई बताइन् । 

उनले भनिन्, ‘खोप लगाउने क्रममा अभिभावक र बालबालिका डराएको पाइयो । हामीले भ्याक्सिनले कुनै पनि साइड इफेक्ट गर्दैन भनेर सम्झाइबुझाइ गरेर खोप लगाउन लगाएका छौँ ।’ 

उसो त कोभिड–१९ पछि सरकारले सरकारी विद्यालयमा ‘एक विद्यालय एक नर्स’को व्यवस्था गरेको छ । नर्सको विद्यार्थी तथा अभिभावकलाई आवश्यक परामर्श दिँदा पनि खोप अभियान सञ्चालनमा सहज भएको विद्यालयकी शिक्षिका लामिछानेको बताइन् । 

यस्तै सोही विद्यालयमा कार्यरत नर्स सविता रेग्मीले खोप लगाउन बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताइन् । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्यालयमा खोप लगाइने जानकारी दिँदै उनले एक दिनमा ५०० जनालाई खोप लगाउने उद्देश्य रहेको बताइन् । 

सरकारले बुधबारदेखि असार १५ गतेसम्म काठमाडौंसहित देशका २७ जिल्लामा पहिलो चरणमा खोप अभियान सञ्चालन गरेको हो । जसअनुसार सरकारी विद्यालयलाई खोप केन्द्र चयन गरेर अभियान सञ्चालन भइरहेको छ । सोही अनुसार काठमाडौंका विभिन्न सरकारी विद्यालयहरुमा खोप केन्द्र तय गरेर धमाधम खोप लगाउने कार्य भइरहेको छ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको फाइजर खोप बालबालिकालाई लगाउन थालिएको हो । 

खोप लगाउनका लागि अभिभावकले सरकारले व्यवस्था गरेअनुसार आफ्नो नजिकैको विद्यालयमा रहेको खोप केन्द्रका लागि बालबालिकालाई लैजानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  खोपको पहिलो डोज पाएका बालबालिकालाई दोस्रो डोजको रुपमा साउन २ देखि ८ गतेसम्म लगाउने कार्यक्रम रहेको छ । 

यस्तै बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज र दोस्रो डोज भदौ २७ देखि असोज १ गतेसम्म लगाउने मन्त्रालयको योजना रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप