शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी नियुक्तिमा काँग्रेसीकरण भएको भन्दै सच्याउन माग

बिहीबार, ०९ असार २०७९, १६ : ३३
बिहीबार, ०९ असार २०७९

समाजवादी प्रेस संगठन नेपालले सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँड विभेदपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । बिहीबार बसेको समाजवादी प्रेस संगठनको सचिवालय बैठकपछि महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रमा काँग्रेसले एकलौटी सरकारी नियुक्ति सच्याउन पार्टीमार्फत माग गरिएको हो । 

निर्णय नसच्चिए प्रतिकार गर्ने समाजवादी प्रेस संगठनको चेतावनी छ । सरकार गठन पूर्व नै सरकारले गर्ने हरेक निर्णयहरु पाँच दलीय गठबन्धनको सहमतिमा मात्रै गरिने प्रतिवद्धता व्यक्त गरेर सरकार गठन भएपनि सहमति कार्यान्वयन नभएको संगठनको ठहर छ । 

पछिल्लो समय विभिन्न सरकारी सञ्चारमाध्यम तथा सञ्चार संस्थाहरुमा भएका नियुक्ति एवं बाँडफाँडमा अधिकांश ठाउँमा सत्ता साझेदार दलमध्ये नेपाली काँग्रेसका कार्यकर्ताहरु मात्र नियुक्ति गरेर काँग्रेसीकरण गरिएको पनि समाजवादी संगठनको भनाइ छ ।  ‘यस्ता नियुक्ति र अवसरहरूको वितरणका सन्दर्भमा समाजवादी प्रेस संगठन नेपाललाई निरन्तर उपेक्षा गरिँदै आएको छ’, समाजवादी प्रेस संगठनको गुनासो गर्दै  शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति सहितका संस्थामा रिक्त भएका विभिन्न पदमा नियुक्ति पनि भएको जनाएको छ । 

यसरी एकलौटी ढंगबाट अवसर वितरण र नियुक्तिहरु गरिएकोप्रति खेद व्यक्त गर्दै सरकारले सत्ता गठबन्धनको एउटा महत्वपूर्ण दल र त्यससँग सम्बद्ध संगठनसँग निरन्तर गर्दै आएको अपमानजनक व्यवहार निन्दनीय रहेको जनाएको छ । ‘यसर्थ, हामी हाम्रो वैचारिक आबद्धता रहेको दललाई गठबन्धनका सन्दर्भमा पुनर्विचार गर्न वा हालसम्मका सरकारी नियुक्ति र अवसरको बाँडफाँडमा भएका विभेदपूर्ण क्रियाकलाप सच्याउनका निम्ति पहल गर्न अनुरोध गर्दछौँ । अन्यथा, हाम्रो संगठन सञ्चार क्षेत्रमा भएका एकलौटी निर्णयको प्रतिकारका साथ अगाडि बढ्ने चेतावनी समेत दिन चाहन्छ’, सो संगठनको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप