बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको शून्य समय : सांसदहरुले यी विषयमा गराए सरकारको ध्यानाकर्षण

बिहीबार, ०९ असार २०७९, १५ : ०५
बिहीबार, ०९ असार २०७९

नेकपा (एकीकृत समाजवादी) की  सांसद समीना हुसेनले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हुसेनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्था भएको बताइन् । उनले यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पदार्थको मूल्य छिटोभन्दा छिटो घटाउन सरकारको ध्यानाकर्षण गराइन् । 

नेकपा (एकीकृत समाजवादी) कि सांसद लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गर्ने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताइन् । उनले नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । 

यसैगरी नेकपा (एमाले) का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए । उनले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए । 

नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहसनहस बनाएको आरोप लगाए । उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराए । 

नेकपा (एमाले) कि सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । 

नेकपा (माओवादी केन्द्र) कि सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताइन् । उनले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकारसँग माग गरिन् । 

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले थारु क्लष्टरलाई समेटेर निजामती सेवा ऐन पारित गर्न माग गरे ।  नेपाली काँग्रेसका सांसद सत्यनारायण शर्मा खनालले विदेशी मुलुकबाट नेपालमा मंकिपक्स भाइरस आउने खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप