लोसपाका नेता गुप्ता एमाले प्रवेश गर्दै
लोकतान्त्रिक समाजवादी नेपालले पार्टीको नेता अजय गुप्ता एमालेमा प्रवेश गर्ने भएका छन् । रौतहट गौरका पूर्व मेयर समेत रहेका लोसपाका नेता गुप्ता साउन २३ गते एमालेमा प्रवेश गर्ने भएका हुन् । नेता गुप्ताले रातोपाटीसँग कुरा गर्दै भने, ‘एमालेका अध्यक्ष केपी ओलीजीसँग फाइनल कुरा भइसकेको छ, साउन २३ गते एमाले प्रवेश गर्ने निश्चित भइसकेको छ ।’
उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट दोस्रो संविधानसभा चुनाव लडेका थिए । त्यसमा माधवकुमार नेपालसँग ३०० मतले पराजित भएका उनी गच्छदारले काँग्रेससँग एकीकरण गरेपछि महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपामा प्रवेश गरेका थिए । राजपामा उनी महासचिव थिए ।
राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा नेपाल बनेको थियो । जसपा नेपालमा उनी केन्द्रीय सदस्य थिए । जसपा विभाजन हुँदा उनी लोसपातिर लागेका थिए । तर अहिले लोसपाले गति नलिएका कारण आफूले पार्टी छाडेको उनले बताए ।
उनले भने, ‘अब त मधेशमा मधेशी दललाई कसैले मत नै हाल्न मान्दैनन्, त्यसमा पनि लोसपा अहिलेसम्म संगठित हुन सकेको छैन, पार्टी नै बन्न सकेको छैन भने त्यस्तो ठाउँमा बसेर केही गर्न सकिँदैन त्यही भएर पार्टी छाडेर एमालेमा जान लागेको हुँ ।’
अहिले मधेशमा लोसपा र जसपाभन्दा एमालेलाई पत्याएको दावी गर्दै नेता गुप्ताले यो चुनावपछि लोसपा जस्ता पार्टीहरु समाप्त हुने टिप्पणी गरे । नेकपा एमालेले रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको टिकट गुप्तालाई दिने सहमति समेत गरेको छ ।