रवि लामिछानेको राजनीतिक छलाङ, खै त तयारी ?
टेलिभिजन कर्मलाई तिलाञ्जलि दिंदै राजनीतिमा होमिएका छन् पत्रकार रवि लामिछाने । असार ७ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने र चुनाव चिन्ह घण्टी लिने उद्घोष गरेपछि नेपालको राजनीति केही तरंगित बनेको छ । पार्टी र चुनाव चिन्हको विषयलाई लिएर तत्कालै विभिन्न क्षेत्रबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसअघि आफ्नो पत्रकारिता पेसालाई यस्तै गरी लत्याएर नेपालमा कायापलट गर्छु भन्ने जोस जाँगर लिएर विवेकशील साझा पार्टी गठन गरेका थिए रविन्द्र मिश्रले । तर उनको चाहना पुरा भएन । बरु त्यो पार्टी नै विघटनको संघारमा रहेको छ । नेपालको राजनीति, दलहरुको अवस्था, राजनीतिको भविष्य र पूर्वतयारी नगरी यसरी हचुवाका भरमा खाइलाग्दा युवाहरुले पार्टी गठन गर्ने अनि राजनीतिबाट विश्राम लिनुपर्ने अवस्था आउनु नेपालको राजनीतिमा सुखद अवस्था हुँदै होइन ।
हालैको स्थानीय निर्वाचनको मत परिणाम र स्वतन्त्र उमेदवारहरुको अत्यधिक लोकप्रिय मतका साथ विजयी भएको उदाहरणबाट नेपालमा नेपाली जनताले दलहरुको विकल्प खोजेका छन् भन्ने सन्देश दिएको देखिन्छ । त्यो पनि सामाजिक अभियन्ता हर्क साम्पाङ्ग, गायन क्षेत्रबाट आएका बालेन्द्र शाह र इमान्दारिताको राजनीति गरेका गोपाल हमाल केही खाइलाग्दा प्रतिनिधि पात्र हुन् । यी स्वतन्त्र विजयी व्यक्तिहरुले पदको कत्ति गरिमा राख्ने हुन्, तिनले आफ्नो प्रतिबद्धताअनुसार काम गर्ने हुन् वा होइनन् ? तिनलाई दलका नेताहरुले कत्तिको सहयोग गर्ने हुन् त्यो चाहिं हेर्न बाँकी नै छ । यदि कत्तिपनि डगमग नभई यी स्वतन्त्र युवाहरुले काम अघि बढाउन सके भने अन्य युवाहरुको लागि राजनीति एउटा आकर्षणको केन्द्र बन्न सक्नेछ, अन्यथा यी युवा पनि उस्तै रहेछन् भन्ने भान पर्न सक्ने सम्भावना छ । यस्तो अवस्थामा चर्चित टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछाने पनि निकै हौसिएर राजनीतिमा हाम फालेका छन् । उनको पार्टी घोषणा कार्यक्रममा देखिएको रौनकले युवाहरुलाई आकर्षित गरेको देखिएतापनि युवाहरुको जोसलाई संयमतापूर्वक व्यवस्थापन गर्न नसकिने अवस्था आउने हो कि भन्ने आशंका पनि उत्तिकै छ ।
यसका साथै पार्टीको नाम र प्रस्तावित चुनाव चिन्ह चयन गर्दा अन्य पार्टीहरुको चुनाव चिन्हसँग जुध्छ कि जुध्दैन, स्वतन्त्र पार्टी भनेर पार्टीको नामकरण गर्दै गर्दा कस्तो सन्देश जाल ? स्वतन्त्रको अर्थ नै कुनैपनि पार्टीसँग सम्बद्ध नभई अलग्गै रहनु भन्ने अर्थ लाग्छ तर रविको पार्टी स्वतन्त्र पार्टी भन्दा यसले विभिन्न प्रश्नहरु जन्माउन सक्ने कुरालाई समेत आँकलन नगरी घोषणा गरिएको देखिन्छ । के अब चुनावमा उठ्ने स्वतन्त्र उमेदवारहरु सबै रविको पार्टीको सदस्यता लिएर मात्र उठ्ने हो र ? स्वतन्त्र भन्ने बित्तिकै त कुनैपनि दलको प्रभावमा नपर्ने, दलको नीति नियममा नरहने र बिल्कुलै स्वतन्त्र तरिकाले कसैसँग आबद्ध नभई काम गर्ने भन्ने अर्थ लाग्छ । तर अब पार्टीको नाम स्वतन्त्र राख्दैमा त्यहाँ कोही स्वतन्त्र नहुने त पक्का भइसक्यो नि । किनकि त्यो पार्टीमा आबद्ध हुनासाथ त पार्टीका नियम कानुन लाग्ने होलान् नि ? अनि कसरी स्वतन्त्र भइयो त ? होइन भने यस्तो द्विविधा उत्पन्न हुने गरी पार्टीको नामकरण गर्दा पूर्वतयारी राम्रो नभएको हो कि भन्ने प्रष्ट देखियो । फेरि सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेर्दा समेत उनको पार्टी र चुनाव चिन्ह निर्वाचन आयोगले स्वीकार गरिहाल्ला भन्ने ग्यारेन्टी पनि छैन । यसमा पनि पूर्वतयारी नभएको कुराको पुष्टि गर्न सकिन्छ ।
वास्तवमा रवि लामिछाने राजनीतिमा आउनु थियो भने कुनै अमुक पार्टीबाट नभई स्वतन्त्र उमेदवार भएर बालेनको पदचाप पछ्याउँदै आएका भए अलि बढी जनसमर्थन हुन्थ्यो कि ? दल दर्ता गर्ने र दलमा आबद्ध हुने कुरा त पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा पनि गर्न सकिन्थ्यो । यसरी सुरुमै विवाद आउने गरी युवाहरु राजनीतिमा आउँदा अन्य युवाहरुको राजनीतिप्रतिको मोहमा पनि धक्का लाग्न सक्ने देखिन्छ र पुनः बुढा पुराना दलहरु नै हावी हुन सक्ने सम्भावना रहन्छ ।
यसैपनि दलका नेताहरुलाई यो स्वतन्त्र उमेदवारी मन परेकै छैन । किनकि काठमाडौंमा त्यो अवस्था स्थानीय चुनावमा देखिइसकेको छ र बालेनलाई असफल बनाउने रणनीतिहरु पनि दलहरुले बुन्न थालिसकेका छन् । दलका नेताहरुमा त आफू हावी हुनैपर्ने र अरुको अस्तित्व स्वीकार नगर्ने संस्कार नै बसिसकेको छ । यिनै कारणले पनि नेपाली जनताले दलहरु र सधैं तिनै दलबाट आउने तिरस्कृत अनुहारहरुको विकल्प खोजेका हुन् । तर यसको विकल्प नपाएपछि तिनै दलहरुको पछि लाग्ने र झोला बोक्न बाध्य भएका हुन् । अन्यथा नेपाली जनताले पनि भारतका केजरीवाल जस्तै युवाको चाहना गरेको कुरा बुझ्न कठिन छैन । वास्तवमा काम गर्ने, राज्य र जनताप्रति समर्पित हुने महामानव वा महान् राजनीतिज्ञको खोजीमा नेपाली जनता रहेका छन् तर हालसम्म भेटाउन सकेका छैनन् ।
नेपालको संसदीय व्यवस्था नै असफल हुनेतर्फ लम्किरहेको अवस्थामा नेपाली जनताको जनचाहना अझै केही वर्ष यस्तै परिस्थिति रहे पुनः विकल्पमा पनि जान सक्ने देखिन्छ । अहिले पनि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी र जनप्रतिनिधिहरु हुनुपर्ने माग टड्कारो रुपमा उठेको छ । रवि लामिछानेको पार्टीको मुख्य विशेषता पनि यही विषय समेटेर आएको छ । यस्तो अवस्थामा नेपाली जनताले विकल्प खोजेकै प्रष्ट छ र अबको आशा भनेको बुढापुराना दल तथा दलका तिरस्कृत नेताका अनुहारबाहेक अरु नै जोस जाँगरले भरिएका युवाहरु आऊन् भन्ने नै रहेको छ । र, यो अवस्थामा युवाहरुले निकै विवेक पुर्याउनुपर्ने देखिन्छ ।
अबका युवाहरु राजनीतिमा आउने चाहना हो भने सर्वप्रथम आफ्नो शैक्षिक योग्यता पुरा गर्नुपर्यो । हाल नेपालका अधिकांश दलका नेताहरु अझै ल्याप्चे, अण्डर एसएलसी र बौद्धिक खुराक नभएका पाइन्छन् । स्नातक वा स्नातकोत्तर तह नेताहरुको शैक्षिक योग्यतामा समेट्न सकिएको भए यस्तो अवस्था आउने थिएन । त्यसकारण अहिलेका युवाहरुले कम्तीमा स्नातक तह उत्तिर्ण गरी कुनै विशेष क्षेत्रमा दखल गरेको हुनुपर्छ । शैक्षिक योग्यतापछि अर्को महत्वपूर्ण तयारी आफूलाई नेतृत्वकर्ताको रुपमा लैजान सक्ने न्यूनतम गुण भएको हुनुपर्छ । सामाजिक काममा उदाहरणीय काम गरेको, कुनैपनि राजनीतिक दलमा आबद्ध भइ भ्रष्टाचार र यौनकाण्डमा नमुछिएको, भाषणकला राम्रो भएको, देशको समग्र वस्तुस्थिति बुझेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति बुझेको, कुनै दर्शनमा आधारित सोंच भएको, सिर्जनात्मक काम गर्न सक्ने क्षमता भएको, साथीभाइ, छरछिमेक र परिवारमा राम्रो सम्बन्ध कायम भएको, स्वच्छ छवि भएको हुनुपर्नेछ ।
माथिका विशेषता पुरा गरी उपयुक्त समयमा आफू जस्तै साथीहरु संलग्न भएको समूह गठन गरी उक्त समूहबाट सर्वसम्मत रुपमा नेतृत्वका लागि छनौट भएको युवा व्यक्तित्व राजनीतिमा आउनुपर्ने देखिन्छ । यदि यस्तो भयो भने असली राजनेता वा देशले खोजेको युवानेता बन्न सकिने छ । यी तयारी गरेर राजनीतिमा आउन तमाम युवाहरुलाई आह्वान गर्न सकिन्छ । यो मामलामा रवि लामिछाने केही चुकेजस्तो देखिन्छ । त्यसो त उनी पत्रकारिता क्षेत्रमा ख्याति कमाएका र जनताका काम प्रत्यक्ष रुपमा सरोकार राखी समाधानको पहल गर्ने व्यक्ति पनि हुन् । अनि, राम्रो शैक्षिक योग्यता, देश विदेशको राजनीति र वस्तुस्थितिको ज्ञान भएका युवा पनि हुन् । तर, उनले जे जसरी पार्टी गठन गरी राजनीतिमा आउने काम गरे, त्यसमा केही प्राविधिक त्रुटी अवश्य भएको देखिन्छ । युवाहरु आफूलाई परिपक्व बनाएर, पूर्व तयारीका साथ हतार नगरी राजनीतिमा आउनु राम्रो होला ।