
सर्वसाधारणलाई अप्पर सोलुको आइपिओ आउँदै

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीहरूलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रअनुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा माग बमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । हाल आइपिओमा आवेदन दिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले निष्काशन बन्द छिटो नै हुने देखिन्छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ