
म्याद सकिएका औषधिमा नक्कली प्रिन्ट, तीनजना पक्राउ

बुटवल उपमहानगरमा म्याद सकिएका औषधि तथा पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट लगाएर बजारमा विक्री वितरणका लागि लैजाने धन्दामा सक्रिय तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७, दीपनगरमा सञ्चालित बर्तोली प्रिन्टर्सको गोदाममा म्याद सकिएका औषधि र पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट (लेबल) टाँसेर विक्री वितरण गर्ने गरेको पाइएपछि प्रहरीले त्यसका सञ्चालक तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा बैतडी जिल्लाको नागार्जुन गाउँपालिका–२ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नम्बर– ३ का २३ वर्षीय महेश भण्डारी र सोही पालिका–११ का २६ वर्षीय हरिश भण्डारी छन् । प्रहरीले गोप्य सूचनाका आधारमा उक्त स्थानमा खानतलासी गरिएको र म्याद सकिएका औषधिमा नक्कली स्टिकर लगाएको पाइएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार उक्त गोदामबाट पोषणयुक्त २ सय कार्टुन सामग्री र अन्दाजी २५ लाख मूल्य बराबरको एक थान प्रिन्टिङ मेसिनसमेत बरामद गरिएको छ ।
उनीहरु विरुद्ध सार्वजानिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको कसुर सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान भइरहेको डीएसपी केसीले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ